- चीनसँगको व्यापारिक सम्बन्धको महत्त्वपूर्ण आधार रसुवागढी नाका विनाशका चपेटामा
- सीमा क्षेत्रका बस्ती, व्यापारिक केन्द्र र सरकारी संरचना तहसनहस
धुन्चे । यही भदौ १० गते ल्हेन्देखोला हुँदै भोटेकोशीमा मिसिएको विनाशकारी बाढीले रसुवाको उत्तरी सीमा क्षेत्रदेखि दक्षिणी भेगको वेत्रावतीसम्म ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । चीनको स्वशासित क्षेत्र तिब्बततर्फको हिमताल फुटेर आएको भनिएको तीव्र बहाबको बाढीले रसुवागढी, घट्टेखोला, टिमुरे, स्याफ्रुबेँसी, पहिरेबेँसी, खाल्टे, कैदलटार हुँदै वेत्रावतीसम्म भोटेकोशी र त्रिशूली नदीआसपासका मानव बस्ती, सडक, पुल, सरकारी कार्यालय, सुरक्षा निकाय, व्यापारिक संरचना तथा निजी सम्पत्तिमा ठुलो क्षति पुर्याएको छ ।

बाढीले केवल एउटा गाउँ वा एउटा नदीकिनारलाई मात्र प्रभावित पारेको छैन । नेपाल–चीनबिचको व्यापारिक सम्बन्धको महत्त्वपूर्ण प्रवेशद्वार रसुवागढी नाकादेखि दक्षिणतर्फको ठुलो भूभागमा रहेका बस्ती र पूर्वाधारलाई नै तहसनहस बनाएको छ । स्थानीयका अनुसार ल्हेन्देखोलाको वारिपारिदेखि टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी र त्यसपछि भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिको दायरा विगतमा देखिएका प्राकृतिक विपत्तिभन्दा निकै ठुलो छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख अशोक थापाका अनुसार बाढीका कारण रसुवागढी, घट्टेखोला, टिमुरे, स्याफ्रुबेँसी, पहिरेबेँसी, खाल्टे, कैदलटार र वेत्रावतीलगायत क्षेत्रमा सडक तथा बस्तीसमेत व्यापक रूपमा बगेका छन् । नेपालतर्फ मात्रै होइन, ल्हेन्देखोलाको आसपास चीनतर्फ रहेका पूर्वाधारमा समेत ठुलो क्षति पुगेको बताइएको छ ।
व्यापारको मुख्य ढोका नै सङ्कटमा
रसुवागढी नाका नेपाल र चीनबिचको व्यापारिक सम्बन्धको महत्त्वपूर्ण आधार हो । केरुङ हुँदै चीनबाट नेपाल भित्रिने ठुलो परिमाणका सामान यही नाकाबाट राजधानी काठमाडौँलगायत देशका विभिन्न भागमा पुग्छन् । त्यस्तै, नेपालका व्यवसायी, आयातकर्ता, चालक, मजदुर र सीमावर्ती क्षेत्रका हजारौँ नागरिकको आर्थिक गतिविधि पनि यही नाकासँग प्रत्यक्ष जोडिएको छ । टिमुरे र रसुवागढी क्षेत्रमा दिनहुँ ठुलो सङ्ख्यामा कन्टेनर तथा मालवाहक सवारीसाधनको आवतजावत हुने गरेको थियो । चीनको केरुङ बजारबाट सामान बोकेर नेपालतर्फ आउने र नेपालबाट विभिन्न वस्तु तथा सामग्री लिएर चीनतर्फ जाने व्यावसायिक गतिविधिले सीमावर्ती क्षेत्रमा होटेल, यातायात, ढुवानी, भन्सार, गोदाम, मजदुर, पसल तथा अन्य व्यवसायलाई चलायमान बनाएको थियो । तर, भदौ १० को बाढीले व्यापारिक जीवनको केन्द्रलाई क्षणभरमै उजाड बनाइदिएको छ । टिमुरे विद्यालयका प्रधानाध्यापक तथा स्थानीयवासी फुर्पुदोर्जे तामाङका अनुसार बाढी आउनुअघि टिमुरे क्षेत्रमा केरुङ जान र केरुङबाट नेपालतर्फ सामान बोकेर आएका ठुलो सङ्ख्याका कन्टेनर तथा सवारीसाधन देखिन्थे । तर, बाढीले टिमुरे क्षेत्रका बलिया बस्तीसमेत बगाएपछि ती कन्टेनर, सवारीसाधन र तिनमा रहेका चालकसमेत बाढीमा परेको आशङ्का छ । बाढीपछि चीनबाट आयात गरिएका ठुलो सङ्ख्याका विद्युतीय कारसमेत बगाएको भन्सार कार्यालय रसुवाले जनाएको छ । यसले विपत्तिको असर स्थानीय बस्तीमा मात्र नभई करोडौँ रुपैयाँबराबरको व्यापारिक सम्पत्तिमा समेत परेको देखाउँछ ।
नेपाल–चीन सम्बन्धमा सीमाको महत्त्व
रसुवागढी नाका नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्धको एउटा महत्त्वपूर्ण प्रतीक पनि हो । हिमालयको कठिन भूगोललाई छिचोल्दै दुई देशबिच मानिस, सामान, पर्यटन र आर्थिक गतिविधिको आवागमन गराउने यस नाकाले पछिल्ला वर्षमा थप महत्त्व पाउँदै आएको थियो । नेपालका लागि चीन प्रमुख व्यापारिक साझेदारमध्ये एक हो । चीनसँगको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न उत्तरी नाकाको पूर्वाधार विकास, सडक सञ्जाल विस्तार र सीमावर्ती क्षेत्रको क्षमता अभिवृद्धि आवश्यक छ । तर, प्राकृतिक विपत्तिले बारम्बार यही क्षेत्रमा पूर्वाधार कमजोर बनाइदिँदा नेपाल–चीन व्यापारको निरन्तरतामै प्रश्न उठ्ने गरेको छ । यस्तो अवस्थामा नाकाको पुनर्निर्माण केवल स्थानीय सडक, घर वा भन्सार कार्यालय बनाउने विषय मात्र होइन । यो दुई देशबिचको व्यापारिक तथा आर्थिक सम्बन्धलाई निरन्तरता दिने राष्ट्रिय प्राथमिकताको विषय हो ।
रसुवागढी किन महत्त्वपूर्ण
रसुवागढी नाका केवल एउटा भन्सार कार्यालय वा सीमा पार गर्ने स्थान होइन । यो नेपाल र चीनबिचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण स्थल हो । काठमाडौँलाई केरुङसँग जोड्ने छोटो अन्तर्राष्ट्रिय व्यापारिक मार्गका रूपमा यसको महत्त्व बढ्दै गएको छ । चीनसँगको व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, उत्तरी क्षेत्रमा पूर्वाधार विकास र नेपाललाई चीनसँग जोड्ने वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्गका दृष्टिले पनि रसुवागढीको रणनीतिक महत्त्व ठुलो छ । रसुवागढी नाकाबाट हुने व्यापारले रसुवा मात्र होइन, काठमाडौँ उपत्यका, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लाका व्यवसायी तथा उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्छ । चीनबाट आउने विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, कपडा, फलफूललगायत विभिन्न वस्तुको आयातमा यो नाका महत्त्वपूर्ण बन्दै आएको छ । नाकाको गतिविधिले स्थानीयस्तरमा पनि रोजगारी सिर्जना गरेको थियो । होटेल तथा रेस्टुरेन्ट, यातायात, कन्टेनर ढुवानी, लोड–अनलोड, गोदाम, भन्सारसम्बन्धी सेवा, खुद्रा तथा थोक व्यापारलगायत सयौँ व्यवसाय यसै नाकाको गतिविधिमा निर्भर थिए । त्यसैले अहिले आएको बाढीले सडक र कार्यालय मात्र बगाएको छैन, सीमा व्यापारमा आधारित एउटा ठुलो स्थानीय अर्थतन्त्रलाई नै गम्भीर धक्का दिएको छ ।
सात सय ५० घर बगेसँगै सयौँ सम्पर्कविहीन
गोसाईँकुण्ड–२ का पूर्वअध्यक्ष दावादोर्जे तामाङका अनुसार चीनको तिब्बततर्फ हिमताल फुटेर आएको भनिएको बाढीले टिमुरे तथा घट्टेखोलाका दुई गाउँका करिब सात सय ५० घर बगाएको अनुमान गरिएको छ । विदेशमा रहेका तथा काठमाडौँमा बसोबास गरिरहेका व्यक्तिलाई अलग राख्दा स्थानीयस्तरमा एक सय ४६ जना र बसाइँसराइ गरेर आएका ४६ जना गरी जम्मा एक सय ९२ जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो । बाढीबाट उद्धार गरिएका टिमुरेका ६८ जना बासिन्दालाई काठमाडौँको स्वयम्भूनजिकै रहेको एल्लो गुम्बामा राखिएको जानकारीसमेत उहाँले दिनुभयो । यद्यपि, बाढीको वास्तविक क्षतिको पूर्ण विवरण अझै सङ्कलन भइनसकेकाले सम्पर्कविहीन व्यक्तिको सङ्ख्या बढ्न वा घट्न सक्ने अवस्था छ । पहाडी तथा नदीकिनारका बस्तीमा सञ्चार तथा यातायात सम्पर्कसमेत प्रभावित भएकाले आफन्तसँग सम्पर्क हुन नसकेका मानिसको यकिन अवस्था पत्ता लगाउन कठिन भइरहेको छ ।
सुरक्षाकर्मीका संरचना पनि बाढीमा
विपत्तिको समयमा नागरिकको उद्धारमा खटिनुपर्ने सुरक्षा निकायसमेत बाढीको प्रत्यक्ष चपेटामा परेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी तथा मैलुङलगायत क्षेत्रमा ड्युटीमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् । उहाँका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका २० जना गरी ठुलो सङ्ख्यामा सुरक्षाकर्मी सम्पर्कविहीन वा विस्थापित भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पपछि पुनर्निर्माण गरिएका टिमुरे इलाका प्रहरी कार्यालय, स्याफ्रुबेँसी, बेत्रावती, मैलुङ तथा रसुवागढीलगायतका प्रहरी चौकीसमेत बाढीले बगाएको छ । स्वास्थ्य संस्था, गोसाईँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय भवन तथा अन्य सरकारी एवम् गैरसरकारी कार्यालयसमेत बाढीको चपेटामा परेका छन् । रसुवागढीको टिमुरेमा सशस्त्र प्रहरीको भवन उच्च स्थानमा रहेकाले जोगिएको छ ।
जलविद्युत् आयोजनामा ठुलो असर
रसुवागढी क्षेत्रमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा समेत बाढीले गम्भीर असर पारेको छ । आयोजनाका इन्जिनियर टीका पौडेलले केन्द्रका प्रमुख सन्तोष अधिकारीसहित कार्यरत ५१ जना तथा ठेकेदार कम्पनीका समेत जम्मा ९३ जनासमेत हराइरहेको जानकारी दिनुभएको छ । त्यस्तै, टिमुरे आधारभूत विद्यालयकी शिक्षिका तथा साबिक भोर्ले–४, खाल्चेतनिवासी कविता न्यौपानेसहित सातजना शिक्षकसमेत सम्पर्कविहीन हुनुभएको पौडेलले जानकारी दिनुभयो । शिक्षक, कर्मचारी, मजदुर, चालक, व्यापारी तथा स्थानीय नागरिक सबै एउटै प्राकृतिक विपत्तिको चपेटामा परेका छन् । यसले बाढीको प्रभावको वास्तविक गहिराइ देखाउँछ ।
शव सङ्कलन र पहिचानको काम जारी
बाढीपछि बेपत्ता मानिसको खोजी तथा शव सङ्कलन कार्यलाई प्राथमिकतामा राखिएको छ । जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार मंगलबार साँझसम्म वेत्रावतीबाट १२, टिमुरेबाट ९७ र स्याफ्रुबेँसीबाट १० गरी जम्मा ११९ वटा शव फेला परेका थिए । तीमध्ये ६ वटा शवको मात्र पहिचान खुलेको जानकारी प्रहरीले दिएको छ । शवको सङ्ख्या र पहिचानको प्रक्रिया अझै जारी रहेकाले मृतकको अन्तिम सङ्ख्या यकिन हुन बाँकी छ । शव सङ्कलनमा ढिलाइ हुँदा वातावरणमा दुर्गन्धले असर पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा पहिचानका लागि आफन्तलाई उहाँहरूको हुलिया विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ ।
बगायो पुरानो बजारदेखि नयाँ बस्ती
गोसाईँकुण्ड–६ को कार्यालयका अनुसार साबिक स्याफ्रु–१ को पुरानो बजार क्षेत्रमा मात्रै २९ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । कोमिनतर्फ पर्ने साबिक–९ सडकतर्फको बजार क्षेत्रको तथ्याङ्क भने सङ्कलन भइरहेको जनाइएको छ । बाढीबाट गोसाईँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ पनि सम्पर्कविहीन हुनुभएको उहाँका पिता कर्नेल तामाङले जानकारी दिनुभयो । गोसाईँकुण्ड–५ का वडाध्यक्ष दावा मिङ्मार तामाङ र गाउँपालिकाका लेखा अधिकृत कैसाङ तामाङ (धुन्चे रिसवाङ्दीको छोरा) पनि हराइरहेको स्थानीयले बताएका छन् । बाढीले केवल नदीको किनारमा रहेका केही घरलाई मात्र नभई वर्षौँदेखि व्यापारिक तथा आवासीय केन्द्रका रूपमा विकास भएका पुरानो बजारसमेत पूर्ण रूपमा ध्वस्त भएको छ ।
चालक र कन्टेनरको अवस्था अन्योलमा
रसुवागढी–केरुङ व्यापारिक मार्गमा निर्भर यातायात व्यवसाय पनि बाढीबाट ठुलो सङ्कटमा परेको छ । टाटासुमो यातायात प्रालिका सञ्चालक साधुराम खड्काका अनुसार यात्रु बोकेर गएका दर्जनौँ चालकसमेत बेपत्ता भएको जानकारी प्राप्त भएको छ । टिमुरे क्षेत्रमा सामान लिनका लागि केरुङ जाने तथा केरुङबाट सामान बोकेर नेपाल आउने सयौँ कन्टेनर र मालवाहक सवारीसाधन नियमित रूपमा सञ्चालनमा थिए । बाढी आएको समयमा सडक तथा बजार क्षेत्रमा रहेका सवारीसाधनको अवस्था अझै पूर्ण रूपमा यकिन हुन सकेको छैन । क्षतिको विवरण लिने काम अगाडि बढिरहेको छ । यसले आगामी दिनमा व्यापारिक मालसामानको क्षति, सवारीसाधनको क्षति र चालक तथा मजदुरको अवस्थाबारे थप विवरण आउनेछ ।
भन्सार संरचना ध्वस्त
बाढीले रसुवागढीको टिमुरेमा निर्माणाधीन एकीकृत दुईवटा भवन र भन्सार कार्यालय सञ्चालन भइरहेको भवन तथा भन्सार यार्डसमेत बगाएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । भन्सार कार्यालयका करिब १५ कर्मचारी सम्पर्कविहीन रहेको जानकारीसमेत उहाँले दिनुभयो । बाढीले सो क्षेत्रमा रहेको प्लान्ट क्वारेन्टाइनका तीन कर्मचारीसमेत बेपत्ता भएको कार्यालय प्रमुख नवीन शर्माले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । यसरी हेर्दा बाढीले निजी घर तथा बस्ती मात्र होइन, नेपाल–चीन व्यापार सञ्चालन गर्ने राज्यका प्रमुख संयन्त्रलाई समेत प्रत्यक्ष क्षति पु¥याएको छ ।
गत वर्षको चेतावनी
रसुवाले यसपटक मात्र यस्तो विपत्ति भोगेको होइन । गत वर्ष असार २४ गते आएको विनाशकारी बाढीले समेत भोटेकोशी तथा आसपासका क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो । त्यसपछि पुनः सोही वर्षको साउन १४ गते आएको बाढीले उत्तरी रसुवाका पूर्वाधारमा थप क्षति पुर्याएको थियो । गत वर्षको बाढीबाट क्षति पुगेका भौतिक संरचना पूर्ण रूपमा पुनर्निर्माण तथा सुरक्षित रूपमा व्यवस्थापन हुन नपाउँदै फेरि ठुलो विपत्ति आउनुले सीमावर्ती क्षेत्रको पूर्वाधार निर्माणमा दीर्घकालीन सोच आवश्यक रहेको देखाएको छ । हरेक वर्ष बाढी आएपछि सडक खुलाउने, अस्थायी संरचना बनाउने र तत्कालीन क्षति मर्मत गर्ने परम्पराले मात्र समस्या समाधान नहुने स्थानीयको भनाइ छ । ल्हेन्देखोला, भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका बस्ती र व्यापारिक केन्द्रको जोखिमको वैज्ञानिक अध्ययन गरी जोखिमयुक्त बस्तीको व्यवस्थापन, नदी नियन्त्रण, सुरक्षित सडक, पुल तथा व्यापारिक पूर्वाधार निर्माण गर्नुपर्ने आवाज सरोकारवाला निकायले उठाएका छन् ।
विनाशै–विनाश
बाढीको प्रभाव जिल्लाको उत्तरतर्फको रसुवागढी र टिमुरेमा मात्र सीमित रहेन । तीव्र बहाबले दक्षिणतर्फ स्याफ्रुबेँसी, पहिरेबेँसी, खाल्टे, कैदलटार हुँदै वेत्रावतीसम्मको तटीय क्षेत्रलाई समेत प्रभावित बनाएको छ । दक्षिणी रसुवाका प्रभावित बासिन्दामध्ये वेत्रावती तथा कैदलटार क्षेत्रका विस्थापित काठमाडौँको तार्केश्वर नगरपालिका क्षेत्रमा रहेको शान्तिटोलमा आश्रय लिइरहेको समाजसेवी वासु लामिछानेले जानकारी दिनुभयो । टिमुरे र स्याफ्रुबेँसीका विस्थापितमध्ये केहीलाई काठमाडौंको स्वयम्भूनजिकै एलो गुम्बामा राखिएको छ । विपत्तिपछि विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट खाद्यान्नलगायत राहत सामग्री उपलब्ध हुन थालेको छ । साहरा नामक गैरसरकारी संस्था तथा नेपाल टुगेदर संस्थालगायतले राहत सहयोग गरिरहेको संस्थाका प्रवक्ता थापाले जानकारी दिनुभएको छ ।
पुनर्विचारपछि पुनर्निर्माण
भदौ १० को बाढीले एउटा महत्त्वपूर्ण प्रश्न खडा गरेको छ – अब रसुवागढी र टिमुरे क्षेत्रको पुनर्निर्माण पुरानै ढाँचामा गर्ने कि भविष्यको जोखिमलाई ध्यानमा राखेर नयाँ ढङ्गले गर्ने ? अहिले क्षतिग्रस्त सडक, पुल, भन्सार, प्रहरी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, होटेल, घर तथा व्यापारिक संरचना पुनः निर्माण गर्नुपर्ने अवस्था छ । तर, बाढीको सम्भावित जोखिमलाई बेवास्ता गरेर पुरानै ठाउँमा उस्तै संरचना बनाइयो भने अर्को विपत्तिले फेरि त्यही संरचना बगाउने जोखिम रहन्छ । त्यसैले अब पुनर्निर्माणसँगै भूगर्भीय अध्ययन, नदीको बहाब क्षेत्र निर्धारण, बस्तीको जोखिम मूल्याङ्कन र सुरक्षित स्थानमा महत्त्वपूर्ण पूर्वाधार निर्माणलाई प्राथमिकता दिन आवश्यक छ ।
व्यापारका लागि नाका संरक्षण
रसुवागढी नाका बन्द हुँदा त्यसको असर रसुवामा मात्र पर्दैन । चीनबाट आयात हुने सामानको आपूर्ति, व्यापारीको कारोबार, ढुवानी व्यवसाय, रोजगारी, सरकारी राजस्व र उपभोक्तासम्मको आपूर्ति प्रणालीमा यसको प्रत्यक्ष प्रभाव पर्छ । यसैले रसुवागढीको पुनस्र्थापना स्थानीय आवश्यकता मात्र होइन, राष्ट्रिय आर्थिक आवश्यकता पनि हो । नेपाल–चीनबिचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने हो भने प्राकृतिक विपत्तिबाट नाका र त्यसतर्फ जाने सडकलाई सुरक्षित बनाउनु आवश्यक छ । सीमावर्ती क्षेत्रको पूर्वाधारलाई सामान्य ग्रामीण सडक वा स्थानीय संरचनाको मापदण्डबाट मात्र हेरेर पुग्दैन । यो अन्तर्राष्ट्रिय व्यापारिक मार्ग भएकाले त्यसैअनुसारको दीर्घकालीन र दिगो पूर्वाधार आवश्यक छ ।
प्रभावितको एउटै प्रश्न
बाढीपछि टिमुरे सुनसान छ । व्यापारिक गतिविधिले भरिने सडकमा कन्टेनरका लस्कर लाग्ने स्थान अहिले बगरमा परिणत भएको छ । तटीय बस्तीमा चहलपहल छैन । कतिपय परिवार आफ्ना आफन्तको खोजीमा छन् । जिल्लाबाट विस्थापित भएर कतिपय काठमाडौँ पुगेका छन् । सरकारी कार्यालयका संरचना छैनन् । सुरक्षा निकायका चौकी बगेका छन् । व्यापारिक सम्पत्ति र निजी घरबार पूरै क्षति भएको छ । तर, यो केवल विनाशको कथा होइन । यो पुनर्निर्माणको अवसर पनि हो । भोटेकोशीको बहाबसँगै बगेका घर र संरचना फेरि बनाउन सकिन्छ । सडक पुनः खोल्न सकिन्छ । भन्सार कार्यालय पुनर्निर्माण गर्न सकिन्छ । व्यापारिक गतिविधि पुनः सञ्चालन गर्न सकिन्छ । तर, बाढीमा ज्यान गुमाएका मानिस र विस्थापित परिवारले भोगेको पीडा भने फर्काउन सकिँदैन । त्यसैले अबको प्राथमिकता बेपत्ताको खोजी, शवको पहिचान, पीडित परिवारको राहत तथा पुनस्र्थापना र सुरक्षित पुनर्निर्माण हुनुपर्छ ।
रसुवागढी नाका नेपाल–चीन सम्बन्धको आर्थिक ढोका हो । यो ढोका प्राकृतिक विपत्तिका कारण बन्द हुन नदिन अब राज्यले तत्कालीन राहतसँगै दीर्घकालीन जोखिम न्यूनीकरणको योजना बनाउनुपर्ने समय आएको छ । गत वर्ष असार २४ र साउन १४ को बाढीले दिएको चेतावनीलाई बेवास्ता गर्दै अघि बढ्दा यस वर्षको ठुलो जनधनको क्षति व्यहोर्नुपर्यो । अब टिमुरेदेखि वेत्रावतीसम्मको पुनर्निर्माण केवल भत्किएका संरचना जोड्ने काम हुनुहुँदैन । भविष्यमा फेरि यस्तो विपत्ति आउँदा मानवीय क्षति न्यून होस्, व्यापारिक नाका सुरक्षित रहोस् र नेपाल–चीनबिचको आर्थिक सम्बन्ध अवरुद्ध नहोस् भन्ने आधारमा नयाँ रसुवाको निर्माण गर्नुपर्ने चुनौती राज्यसामु खडा भएको छ ।






प्रतिक्रिया