बट्टार । यहाँको एक वृद्ध दम्पतीको शरीरमा लगाइएको सुन लुटिएको छ । विदुर–४ बट्टार, पुरानो पाटीनिवासी बाबुराम अधिकारीको घाँटीमा लगाइएको सिक्री र पत्नी कृष्णाकुमारीको कानमा लगाइएको मुन्द्री दुई केटाहरूले आइतबार बिहान खोसेर भागेका थिए । आफूहरू बिहानको खाना खाएर आराम गरिरहेको अवस्थामा अरू कोही नभएका वेला लुटिएको समाजसेवी अधिकारीले बताउनुभयो ।

वृद्धा कृष्णाकुमारीको कानमा लगाइएको मुन्द्री मासुसमेत छिनालेर लगिएको जनाइएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको र सिसिटिभीबाट अभियुक्तको पहिचान भइसकेको पीडित बाबुरामले बताउनुभयो । अभियुक्तद्वय मङ्गोल अनुहारको भएको प्रत्यक्षदर्शीले जनाएका छन् । पुख्यौली घर नुवाकोट, तारकेश्वर, कल्लेरीडाँडाका पीडित अधिकारीले नेपाल सरकारको परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल, तत्कालीन सोभियत सङ्घ, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकामा विसं २०२४ देखि २०३५ सम्म सेवा गर्नुभएको थियो । नायब सुब्बाबाट अवकाशप्राप्त अधिकारीले नुवाकोट जिल्लामा अनाथ बालबालिकालाई छात्रवृत्ति र वृद्धवृद्धालाई वस्त्र आदि सहयोग गर्दै आउनुभएको छ । घाइते कृष्णाकुमारीको चिकित्सक बोलाएर उपचार गराइएको छ ।






प्रतिक्रिया