+
Search

ताजा अपडेट +

पपुलर +

बाढीबाट बैङ्कका २६ कर्मचारी बेपत्ता, रू.५६ करोड क्षति

कागजात गुमेपछि बैङ्किङ कारोबारमा सकस

बाढीबाट बैङ्कका २६ कर्मचारी बेपत्ता, रू.५६ करोड क्षति
विष्णु तारूके
१६ घण्टा अगाडी
  •  बैङ्कले कागजात नभए पनि हस्ताक्षर, बायोमेट्रिक प्रमाणीकरण जस्ता विधि अपनाएर भुक्तानी दिन सक्छ ।
  •  पैसा राखिएका बैङ्कका अन्य शाखाबाट निश्चित प्रमाणीकरणको प्रक्रिया अपनाएर रकम निकाल्न सकिन्छ ।

काठमाडौँ । भोटेकोसी (त्रिशूली) मा भदौ १० गते आएको विध्वंसकारी बाढीले नदी तटीय क्षेत्रमा रहेका वाणिज्य बैङ्कका २६ कर्मचारी बेपत्ता भइरहेको नेपाल बैङ्कर्स सङ्घले जनाएको छ । बेपत्ता भएकामध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कका सात, माछापुच्छ्रे बैङ्कका पाँच, प्रभु बैङ्क र एनएमबी बैङ्कका चार÷चार, सानिमा र लक्ष्मी सनराइज बैङ्कका दुई÷दुई तथा ग्लोबल आईएमई र हिमालयन बैङ् कका एक/एक कर्मचारी छन् ।

Utsuk Books & Stationery

बैङ्कर्स सङ्घको प्रारम्भिक आँकडानुसार महाविपत्तिको प्रभावित क्षेत्रमा १२ वाणिज्य बैङ्कका १७ शाखा सञ्चालनमा थिए । कृषि विकास बैङ्क ढुङ्गे, सिटिजन बैङ्क देवीघाट, ग्लोबल आइएमई बैङ्क टिमुरे, हिमालयन बैङ्क बेत्रावती र सानिमा तथा एनएमबी बैङ्कका शाखा टिमुरेमा सञ्चालनमा थिए । ती सबै शाखा पूर्ण रूपमा ध्वस्त भएका छन् । प्रभुको टिमुरे र स्याफ्रुबेँसी शाखामा पनि पूर्ण रूपमा क्षति भएको छ । नेपाल इन्भेस्टमेन्टको टिमुरे शाखामा आंशिक क्षति भए पनि मैलुङ एक्सटेन्सन काउन्टर पूरै र स्याफ्रुबेँसीको शाखा पूरै क्षति पुगेको छ । एनआइसी एसियाका पनि त्रिशूली, स्याफ्रुबेँसी र बेत्रावतीका शाखामा पूर्ण रूपमा क्षति पुगेको बैङ्कर्स सङ्घले बताएको छ । लक्ष्मी सनराइज, माछापुच्छ्रे र नबिल बैङ्कका टिमुरेस्थित शाखा पनि पूर्ण क्षति भएका छन् । क्षति भएका १७ मध्ये आठ शाखा टिमुरेमै थिए । शाखा तथा एक्टेन्सन काउन्टरमा गरी कुल एक सय १५ कर्मचारी कार्यरत रहेकामा २६ बेपत्ता तथा चार जना घाइते रहेको बैङ्कर्स सङ्घले जनाएको छ ।
बैङ्कर्स सङ्घले विपत्तिबाट रू.५५ करोड ६८ लाख ७० हजार पाँच सय १७ क्षति भएको प्रारम्भिक आँकडा प्रस्तुत गरेको छ । यसबाहेक रू.१७ करोड २४ लाख ५७ हजार ‘भल्ट’ मा राखिएको नगद पनि छ । प्रभावित क्षेत्रमा नौ एटिएम बुथ रहेको र त्यसमा प्रकोप आउनुअघि रू.एक करोड १६ लाख ६३ हजार नगद थियो । यसमध्ये कृषि विकास बैङ्कको एटिएम क्षतिग्रस्त अवस्थामा उपलब्ध छ भने अरू एटिएम बुथ भेटिएको छैन । बैङ्कका यी शाखामा कुल ७८ हजार दुई सय चार निक्षेप खाता र दुई हजार एक सय २५ कर्जा खाता सक्रिय थिए । सोअनुसार रू.चार अर्ब ४३ करोड १८ लाखभन्दा बढी निक्षेप र रू.दुई अर्ब ४२ करोड ८० लाखभन्दा बढी ऋण प्रवाह गरिएको सङ्घले जनाएको छ । बाढीले घरबारविहीन नागरिकले आफ्ना व्यक्तिगत कागजातसमेत गुमाएपछि बैङ्किङ कारोबार गर्न सकस परेको छ । नागरिकका व्यक्तिगत प्रमाणपत्र नाश भएपछि यस्तो सङ्कट देखिएको हो । कयौँ बैङ्कका शाखा नै बगाइदिएका कारण यो समस्या झन् ठुलो बनेको छ ।

बाढीका कारण व्यक्तिगत कागजात (चेक, मोबाइल समेत) गुमाएका व्यक्तिले बैङ्कमा मौज्दात रहेको रकम निकाल्न समस्या भोगिरहेको गुनासा आएका छन् । यसले गर्दा घरबास गुमाएका मानिस सामान किनेर खान पनि नसक्ने अवस्थामा छन् । कतिपयका परिवारका सदस्य मृत वा बेपत्ता छन् । उहाँहरूका परिवारमा खाताको रकम हस्तान्तरण हुन कठिन हुँदा मानवीव सङ्कट झनै बढेको पीडितको गुनासो छ । बाढीबाट जोगिएका व्यक्तिका हकमा पनि परिवारको पैसा निकालेर जीवन धान्ने सम्भावना कमजोर बनेको उहाँहरूको गुनासो छ । यस्तै समस्या भोग्ने एक जना हुन् नुवाकोट बेत्रावतीका लक्ष्मण डङ्गोल । उहाँको परिवारका सदस्य र नातागोतासहित ७० जनाभन्दा धेरै मृत वा बेपत्ता छन् । घरबास सबै गुमेको छ । तर भागेर बाँच्न सफल भएका केही व्यक्तिलाइ समेत नयाँ ठाउँमा बसोबासको व्यवस्था गरिदिन उहाँलाई कठिन परेको छ । यसको एउटै कारण हो – बेत्रावतीको एनआइसी एसिया बैङ्कमा खाता खोलेर पैसा राखेको डङ्गोल परिवारले अहिले पैसा निकाल्नै सकेको छैन । परिवारका सबै जनाको नागरिकतासहितका सबै कागज प्रमाण भेलले बगाएर नष्ट गरिदिएपछि आफैँले पहिले बचत गरेको पैसासमेत निकालेर चलाउन नपाउने अवस्था देखिएको छ ।

सङ्कटका समयमा पनि बचत उपयोग गरेर जीवन धान्न कठिन परेको बाढी प्रभावितको गुनासो छ । यस्ता गुनासा गर्ने परिवारको सङ्ख्या ठुलो छ । नेपाल राष्ट्र बैङ्कका सूचना अधिकारी सुधा श्रेष्ठले यस्ता समस्या समाधानमा बैंक तत्पर रहेको बताउनुभयो । “अहिले डिजिटल जमाना छ । यस्तामा बैङ्कले कागजात नभए पनि हस्ताक्षर प्रमाणीकरण, बायोमेट्रिक प्रमाणीकरण जस्ता विधि अपनाएर भुक्तानी दिन सक्छन्”, उहाँले भन्नुभयो, “यदि त्यसरी पनि प्रमाणीकरण हुन सकेन भने चाहिँ के गर्ने भन्ने विषयमा बैङ्कले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । छिट्टै स्पष्ट खाका आउला ।” यस्तो अवस्थामा चाहिँ प्रहरी प्रतिवेदन वा स्थानीय सरकार (वडा) को नाता प्रमाणीकरण वा यस्तै विधिबाट समाधान निकाल्न सकिन्छ कि भनेर बैङ्कले छलफल गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो । नेराबैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले पनि आफूले पैसा राखेका बैङ्कका अन्य शाखाबाट निश्चित प्रमाणीकरणको प्रक्रिया अपनाएर रकम निकाल्न सकिने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी खाली एउटै कुरामा सचेत छौँ – एक जनाको सम्पत्ति अर्कै व्यक्तिले निकालेर खान नसकोस् । यति कुरा प्रमाणित हुन सक्यो भने हामी जुनसुकै तरिकाले पनि सहजीकरण गरेर खातावाला वा हकदारलाई बैङ्कमा राखेको पैसा निकाल्ने सुविधा दिन तयार छौँ ।”

 

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु तारूके