+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री र सांसदको लर्को होइन, चाहियो सरकारी उपस्थिति

मन्त्री र सांसदको लर्को होइन, चाहियो सरकारी उपस्थिति
रामचन्द्र भट्ट
४७ मिनेट अगाडी

इतिहासमा कहिलेकाहीँ यस्ता पीडा आइपुग्छन् त्यसलाई सहनुको विकल्प मानिससँग अरू कुनै बाँकी हुँदैनन् । नबोलाएको र नचाहेका यस्ता अतिथिले मानव समाजलाई नै तहसनहस बनाएर कहिल्यै निको नहुने घाउ लगाएर जान्छन् ।

Utsuk Books & Stationery

विसं २०७२ को भुइँचालोले थलिएको नुवाकोट र रसुवाले तङ्ग्रिएर अघि बढ्ने प्रयास गरिरहेको वेलामा गत बुधबारको बाढीले आधुनिक नेपालकै सबैभन्दा भयावह क्षति र पीडा दिएको छ । हुन त विसं २०५० मा मकवानपुर, धादिङ र चितवनमा बाढीले भारी क्षति गरेको थियो । तर, अहिलेजस्तो मानवीय र भौतिक क्षति बाढीले आधुनिक नेपालको इतिहासलेखन सुरु भएयता रेकर्डमा छैन । लामटाङ हिमालको उत्तरतर्फको हिमाल चोइटिएर यो महाप्रलय आएको अहिलेसम्मको अध्ययनले देखाएको छ । यसले रसुवागढीबाट नेपाल पस्नुअघि नै चिनियाँ भन्सार, अध्यागमन कार्यालयलाई ड्रागनले जसरी एकैपटक लपेटेर सिनित्त बगायो । त्यसपछि भर्खरै सञ्चालनमा आएको बेलिब्रिज, नेपालतर्फको रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायत भएजतिका संरचना जे–जति भेटिन्छ ती सबै बढार्दै दक्षिणतर्फ लाग्यो । टिमुरे, स्याफ्रुबेँसी, हाकु, मैलुङ, सोलेबजार, वेत्रावतीमा आइपुग्दा यसले खर्बौँ रुपैयाँको भौतिक क्षति मात्र नभएर हजाराँै मानिसको ज्यान लियो । त्यसपछि अझै दक्षिण लाग्ने क्रममा तुप्चे, भैँसे, त्रिशूलीबजार, ढुङ्गे, देवीघाट हुँदै रातमाटेसम्म पुगेर यो बाढीले वितण्डा नै ग¥यो । जिल्ला प्रशासन कार्यालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनअनुसार दुई हजार तीन सय ४९ जना नुवाकोटबाट मात्र बेपत्ता छन् । नुवाकोटमा एक सय ५५ वटा शव निकालिएको छ । नदी वारिपारि गराएर उद्धार गरिएकासमेतको सङ्ख्या तीन हजार दुई सय रहेको छ ।

बाढीले गुल्जार बस्ती र व्यापार भएका सबै ठाउँ तहसनहस पारेको छ । रसुवागढीदेखि टिमुरे, स्याफ्रुबेँसी, सोले, वेत्रावती, अक्करे, भैँसे, त्रिशूली, ढुङ्गे, देवीघाटजस्ता बजार अब पूर्ववत् आउलान् कि नआउलान् ? एक दर्जन जलविद्युत् केन्द्र के हुन्छन् ? यो सबैको चिन्ता र चासोको विषय बनेको छ । एक छिनअघिसम्म करोडौँ सम्पत्ति र व्यवसायका मालिकले छिनभरमै सबथोक गुमाउनुजस्तो पीडा अरू के हुन्छ ? उनीहरूसँग केही छैन । बैंकमा राखेको भए त्यो बाँकी रह्यो । त्योभन्दा बाहेक न घर छ, न व्यवसाय, न त घर भएको जग्गा चिन्न सक्ने र कित्ताकट गर्न सकिने अवस्थामै छ । बाढीमा परेर बित्ने त बिते । बाँच्नेको जीवन कसरी चल्ने ? सरकार आफैँ आठ दिनसम्म उद्धारकै नाममा हेलिकोप्टर उडाएर र सुरुङ खोसलेर मात्र बसेको छ । पीडित होल्डिङ सेन्टरमा अनिश्चित भविष्य बोकेर भोलि के हुने भन्ने चिन्तामा छन् । सबै पीडितलाई थाहा छ –  सरकारले उहाँहरूको जे-जति करोडौँ क्षति भयो त्यो सबैको पूर्ति गर्न सक्दैन भनेर । किनकि भूकम्पको कहर र त्यसमा क्षति भएकाले पाएको क्षतिपूर्तितर्फ हेर्दा अहिले पनि त्योभन्दा बढी राहत पीडितलाई मिल्छ भनेर विश्वास गरिहाल्न सक्ने अवस्था छैन । राहतका नाममा बाँडिने केही लाख रुपैयाँले पीडितले व्यहोरेको क्षतिपूर्ति पुग्न सक्दैन ।

संसारभरि जहाँजहाँ नेपाली पुगेका छन्, सरकारप्रति हौसिएर सहयोग गरिरहेका छन् । तर, त्यो सहयोग रकम उद्धार र पीडितका लागि काममा अझै आउन सकेको छैन । लाग्छ कि सरकार त्यो सहयोगलाई अँगालोमा हालेर एक दुई वर्षपछि ठुलो रकम भएपछि बाँड्ने तरखरमा छ । नेपालमा यस्ता प्रकोप पर्दा न हिजोको सरकार, न आजकै सरकारले जनताप्रति गम्भीर उत्तरदायित्व बहन गरेको महसुस जनताले गर्न पाएका छन् । आठ दिनसम्म हेलिकोप्टर उडाएर त्रिशूलीपारिकालाई वारि ल्याउनु र वारिकालाई पारि पुर्याउनु मात्र वास्तविक उद्धार होइन । सरकारी मान्छेका लर्कोले पीडितलाई उल्टै आहत बनाइरहेको छ । त्यसमाथि मिडिया भन्दै पीडितलाई प्रताडित गर्ने प्रश्न सोध्ने र कन्टेन्ट क्रियट गर्नेको गिरोहले झनै पीडा दिइरहेको छ । सरकारले पीडितसमक्ष आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ । सरकारी उपस्थिति भनेको मन्त्रीका लर्को होइन । बस्ने, खाने, बच्चालाई पढ्न जाने, रोजगारीका अवसर दिनुपर्छ । नत्र भने जसरी १० वर्षसम्म बालाजुबाट रानीपौवा हुँदै त्रिशूली आउने काठमाडौँ-त्रिशूली सडकलाई पुनर्निर्माण नगरेर अलपत्र छाडेपछि जनता रिसाएर रास्वपालाई जिल्लाका दुवै सिट दिलाए । भोलि यी जनता रिसाए भने पाँच वर्षपछि किन कुर्नुप¥यो र आउँदो वर्ष हुने स्थानीय चुनावमै रास्वपा दिउँसो टर्च बालेर खोज्नुपर्ने अवस्था आउनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

रामचन्द्र भट्ट