+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोसीको भेल : हामी फेरि उठ्नैपर्छ

भोटेकोसीको भेल : हामी फेरि उठ्नैपर्छ
रामशरण प्याकुरेल
५१ मिनेट अगाडी

यही भदौ १० गते आएको भोटेकोशीको बाढीलाई म केवल एउटा प्राकृतिक विपत्ति भनेर सम्झन सक्दिनँ । मेरो लागि त्यो एउटा यस्तो महाप्रलय हो, जसले नदीको किनार मात्र होइन, मेरो स्मृति, मेरो समवेदना र मेरो विश्वासको जगसमेत हल्लाइदिएको छ । त्यो दिन आकाश हेर्दा पानी पर्लाजस्तो खासै देखिँदैनथ्यो । ‘बाढी आउँदैछ’ भन्ने चेतावनी कतिपयले सुने पनि गम्भीरतापूर्वक लिएनन् । शान्त देखिने भोटेकोशी र त्रिशूलीको पानी एकाएक विनाशको भेल बनेर आयो । मानिसले के भइरहेको छ भन्ने बुझ्न नपाउँदै घर, सडक, पुल, पसल, खेतबारी र जीवनका आधार बग्न थाले ।

Utsuk Books & Stationery

मैले देखेका दृश्य सम्झँदा आज पनि मुटु काँप्छ । मानिस आफन्त खोज्दै दौडिरहेका थिए । कोही लाश खोजिरहेका थिए, कोही सासको आशामा थिए । कोही आफ्नै घरको भग्नावशेषमा उभिएर जीवनभरको कमाइ हराएको हेर्दै थिए । कसैको आमाको काख रित्तिएको थियो, कसैको बाबुको सहारा खोसिएको थियो, कसैका छोराछोरी बेपत्ता भइसकेका थिए । बारम्बार गलत सूचना फैलिँदा मानिसले सही सूचनामाथि पनि विश्वास गर्न छाड्दा रहेछन् । ‘बाघ आयो, बाघ आयो’ भन्ने कथाजस्तै, साँचो विपत्ति आउँदा धेरैले त्यसको भयावहता समयमै बुझ्न सकेनन् । तर केही घण्टामै शान्त देखिने नदी विनाशको भेल बन्यो । घर, सडक, पुल, खेतबारी, बजार र मानिसका सपना बग्न थाले । म भौतिक रूपमा सुरक्षित रहें, तर मेरो मन अझै पनि त्यही भेलसँगै पुरिइरहेको छ, मैलो बाक्लो भेलसँगै बगीरहेको छ । आज देश शोकमा छ । हजारौँ परिवारको जीवन अस्तव्यस्त भएको छ । भौतिक सम्पत्तिको क्षति अबौँमा पुग्ने अवस्था छ । तर पैसामा मापन गर्न नसकिने क्षति अझ ठूलो छ । हामीले मानिस गुमाएका छौँ । युवा गुमाएका छौँ । प्राविधिक गुमाएका छौँ । सुरक्षाकर्मी गुमाएका छौँ । स्वास्थ्यकर्मी गुमाएका छौँ । शिक्षक गुमाएका छौँ । व्यापारी, गुमाएका छौँ । पर्यटन व्यवसायी गुमाएका छौँ । पत्रकार गुमाएका छौँ । सरकारी कर्मचारी गुमाएका छौँ । यी केवल नाम होइनन् । यी परिवारका सपना थिए । समुदायका भरोसा थिए । देशका सम्भावना थिए । एउटा दक्ष प्राविधिक गुम्दा एउटा परिवारले सदस्य गुमाउँछ; तर समाजले पनि आफ्नो ज्ञान र सीपको एउटा हिस्सा गुमाउँछ । एउटा शिक्षक गुम्दा एउटा पुस्ताले आफ्नो मार्गदर्शक गुमाउँछ । एउटा युवा गुम्दा एउटा आमाबाबुको सपना मात्र होइन, देशको भविष्य गुम्छ । त्यसैले यो क्षतिको वास्तविक मूल्य हामीले अहिल्यै पूर्ण रूपमा बुझ्न सक्ने छैनौँ ।

भीषण बाढी आएको आठ दिन बित्दासमेत कतिपय जोखिमयुक्त स्थान र सुरूङसम्म खोजी टोली सहज रूपमा पुग्न नसकेको यथार्थले मन पोल्छ । आफ्ना प्रियजन पुरिएको आशंकामा प्रतिक्षारत आफन्तको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । उहाँहरूका लागि एक–एक सेकेन्ड युगजस्तो भएको होला । यस्तो अवस्थामा हामीले आफूलाई गम्भीर प्रश्न सोध्नैपर्छ – हाम्रो पूर्वतयारी कस्तो थियो ? आधुनिक खोज तथा उद्धार प्रविधिको प्रयोग किन पर्याप्त हुन सकेन ? विपद्को समयमा सूचना प्रणाली, समन्वय र निर्णय प्रक्रिया कति प्रभावकारी भए ? यी प्रश्न दोष खोज्नका लागि मात्र होइनन्, भविष्य सुरक्षित बनाउनका लागि हुन् । त्यस्तो अवस्थामा हामीसँग भएका उच्च प्रविधि, दक्ष प्राविधिक र आधुनिक उद्धार उपकरण तत्काल परिचालन हुनुपर्ने हो । जहाँसम्म पुग्न सकिन्छ, त्यहाँ पुग्नुपर्ने हो । जहाँ उद्धार सम्भव छ, त्यहाँ उद्धार गर्नुपर्ने हो । जहाँ लास छ, त्यहाँसम्म पुगेर सम्मानपूर्वक निकाल्नुपर्ने हो । काखे बच्चा च्यापेर बिजोग अवस्थामा रहेका हरेक आमाको हात समात्नुपर्ने हो । तर सरकार लाचार र अक्षमता देखाउंदै भनिरहेको छ, ‘अब हामी सक्दैनौ, तिमीहरू नै गर’ ।

मेरो आफ्नै जीवनसँग जोडिएको कतिपय स्मृति बाढीले पीडामा बदलिदिएको छ । पहिलो, मैले साथी बटुलेर बाल्यकालमा पौडी खेलेको घुमाउनेको पूल, गोठालो जाने गरेको शुभघाट चौर, नुहाउने सुन्धारा र हाम्रो जीवनको बाँच्ने आधार एवं हाम्रो शिक्षा दिक्षादेखि दैनिक जिविकोपार्जनका लागि महत्त्वपूर्ण रहेको पिताजीले हात नङ्ग्रा खियाएको उखुबारी, खुर्सानी बारी र धान फलाउने फाँट र आलीमा भटमास फलाउने शुभघाट खेत अब कहिल्यै नब्युँतने गरी बगरमा परिणत भयो । अब मैले मेरो नाति पुस्तालाई आफ्नो बाल्य र र किशोरवय बितेको आफ्नो थातथलोको परिचय दिन नसक्ने अवस्थामा पुगे । अर्कोतर्फ, मैले शिक्षा प्राप्त गरेको, खेलेको, हुर्किएको मेरो प्यारो त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय मेरो लागि केवल एउटा विद्यालयमात्र थिएन । त्यो मेरो जीवनको एउटा महत्त्वपूर्ण अध्याय थियो । मेरो बाल्यकाल र स्कुले जीवनको सम्झना त्यहाँ छन् । मेरा सपनाका पहिलो अक्षर त्यहाँ छन् । मेरो जीवनका धेरै प्रिय क्षण त्यहाँ छन् । शारदामान, चक्रमान, प्रेमलाल सर, शिव गुरूहरू, नारायणदेवी, जानुका मिसहरू र मेरा प्रिय क्लासमेटको माया प्रेमको न्यास्रो मेट्ने ठाउँ थियो त्यो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले त्यो विद्यालय ढालेको थियो । हामी दुःखी भयौँ । तर फेरि उठायौँ । फेरि बनायौँ । फेरि त्यहाँ जीवन फर्कियो । तर यसपटकको बाढीले त्यो प्रिय शिक्षाको मन्दिरमा भौतिक संरचनाको मात्र क्षति गरेन, जमिनकै चिनो मेटाइदियो । त्यो दृश्य सम्झँदा मेरो मन भक्कानिई रहन्छ ।

आफ्नै गाउँमा परिवारकै सदस्यका रूपमा रहेका दुईजना बुहारी गुमाएका अर्जुन दाइको पिडा, आफ्नै श्रीमती, बुहारी र आफ्ना सम्पूर्ण व्यवसाय बगाएको भतिज सुदर्शनका आँखाका आशु र श्रीमती गुमाएको भतिज हरी र आमा गुमाएका भुजेल भाईकी अनाथ छोराछोरी र दर्जनौँ मेरा नजिकका अन्य साथी, आफन्तको अवस्था आजसम्म पनि अज्ञात हुँदा नजिकबाट मैले आफ्नै लागि बचाएर राखेका दुई थोपा आशु पनि आज बगाएको छु । मनभित्र बारम्बार एउटै वाक्य घुमिरहन्छ, “मलाई माफ गर्नुहोस्, मैले मेरा आफन्त र प्रियजनलाई बचाउन सकिन ।” मलाई थाहा छ, मेरा शब्दले कसैको घाउमा तुरून्त मलम लाग्दैन । यहाँ पोखिएका भावना र समवेदनाले हराएका मानिस फर्किँदैनन् । तर कहिलेकाहीँ मानिस शब्दमार्फत नै आफ्नो पीडा बाँड्न बाध्य हुन्छ । तर खै ? यो विपत्तिको उद्धार र राहतमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका, तलदेखि माथिसम्मका सरकारबिचको समन्वय र सहकार्य उदेकलाग्दो देखिरहेको छु । स्थानीय तह आफैँ पनि यो विपत्तिको पीडित बनेको छ । जुन सहरले आफ्ना नागरिकलाई सेवा दिनुपर्ने थियो, त्यही सहरको आफ्नै संरचना बाढीले बगाएर बगर बनाइदिएको छ । पर्यटन, व्यापार, रोजगारी र स्थानीय अर्थतन्त्रका आधार तहसनहस भएका छन् । तर हामीले अहिले केवल दोष खोजेर बस्ने समय होइन । हो, कमजोरी भएका छन् । हो, प्रश्न उठेका छन् । हो, कतिपय निर्णयबारे गम्भीर समीक्षा आवश्यक छ । उद्धार र खोजी कार्यमा कहाँ चुक्यौँ भनेर इतिहासले हामीसँग प्रश्न गर्नेछ । आजको पहिलो काम भनेको, बाँचेकाको ज्यान बचाउनु हो । राहत फोटो खिचाउन होइन, पीडितको घरसम्म पुग्नुपर्छ । आज चाहिएको प्रचार होइन, उद्धार, बाटो, औषधि, खाना, बास र वास्तविक पीडितसम्म पुग्नुपर्ने राहत हो, पुनस्र्थापना हो ।

भोटेकोशीले हाम्रो धेरै कुरा बगाएको छ । तर यसले हाम्रो हिम्मत बगाउन पाउनु हुँदैन । हामीले अब फेरि सुरू गर्नुपर्छ । भत्किएका घर बनाउन, बगर बनेका खेतमा फेरि हरियाली ल्याउन, भत्किएका सडक र पूल बनाउनु छ । मानिसको मनमा फेरि बाँच्ने विश्वास जगाउनु छ । तर यसपटक पहिलेको जस्तो मात्र पुनर्निर्माण गरेर पुग्दैन । आज फेरि प्रकृतिले हामीलाई परीक्षा लिएको छ । सायद जीवन यही रहेछ । हामी बनाउँछौँ । कहिलेकाहीँ भत्किन्छ । फेरि बनाउँछौँ । अन्ततः मानिसले बाँच्न सिक्छ, उठ्न सिक्छ र फेरि निर्माण गर्न सिक्छ । हामीले अब सुरक्षित पुनर्निर्माण गर्नुपर्छ । नदीको प्राकृतिक बहाव बुझ्नुपर्छ । जोखिमयुक्त क्षेत्रमा बस्ती र संरचनाबारे पुनर्विचार गर्नुपर्छ । विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । स्थानीय समुदायलाई उद्धार र प्राथमिक उपचारको तालिम दिनुपर्छ । आधुनिक खोज तथा उद्धार उपकरण र दक्ष प्राविधिक टोली सधैँ तयारी अवस्थामा राख्नुपर्छ । ठूला विकास आयोजनाको विपद् जोखिमलाई कागजमा मात्र होइन, व्यवहारमा पनि गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्छ । किनकि विकास भनेको केवल सडक, पूल, सुरूङ र भवन होइन रहेछ । मानिस सुरक्षित भएर बाँच्न सक्ने अवस्था सिर्जना गर्नु नै वास्तविक विकास रहेछ । अर्कोतर्फ, विपत्तिलाई आफ्नो प्रचारको मञ्च बनाउने र सामाजिक सञ्जालमा आफ्नो ‘भिजीबिलिटी’ बढाउनाले पीडितको जीवन बचाउन आफ्नो उपस्थिति देखाउनु महत्त्वपूर्ण छ । सामाजिक सञ्जाल समाजको ऐना हुनुपर्ने हो र विपत्तिको बेला पीडितका आशुमाथि समेत प्रहार गर्ने अपमानजनक र असमवेदनशील टिप्पणी देख्दा मलाई गहिरो लज्जावोध हुन्छ । कसैको प्रियजन हराएको छ, कसैको घर बगेको छ, कसैको संसार उजाडिएको छ, यस्तो बेला हाम्रो शब्दले अर्को चोट थप्नु हुँदैन । यो केवल कुनै एक व्यक्तिको अभद्रता होइन । यसले हाम्रो सामूहिक नैतिक चेतनामाथि प्रश्न उठाइरहेको छ ।

आज राष्ट्र शोकमा छ । हामी पीडामा छौँ । हामीसँग धेरै प्रश्न पनि धेरै होलान् । कतिपय प्रश्नको उत्तर सायद आजै भेटिने छैन । तर हामी निराश भएर बस्नु हुन्न । किनकि हाम्रा अगाडि ती परिवार छन्, जसले आफ्नो संसार गुमाएर पनि बाँच्नुपर्छ । ती बालबालिका छन्, जसले आमाबुबा गुमाए पनि भोलि विद्यालय जानुपर्नेछ । ती आमा छन्, जसले आफ्नो काख गुमाए पनि अरू सन्तानका लागि बाँच्नुपर्नेछ । ती वृद्ध छन्, जसले आफ्नो सहारा गुमाए पनि बाँकी जीवन काट्नुपर्नेछ । उहाँहरू उठ्न खोज्दैछन् भने हामी पनि सबै उठ्नुपर्छ । अब सबै बिर्सिएर अगाडि बढ्नुको विकल्प छैन । तर ‘बिर्सनु’ भनेको गुमेकालाई बिर्सनु होइन । उहाँहरूको सम्झनालाई हृदयमा राखेर अघि बढ्नु हो । उहाँहरूको नाममा सुरक्षित समाज बनाउनु हो । उहाँहरूको मृत्युबाट पाठ सिक्नु हो । उहाँहरूले भोगेको पीडा फेरि अर्को पुस्ताले भोग्न नपरोस् भनेर प्रण गर्नु हो । भोटेकोशीको भेलले हाम्रा प्रियजन बगायो । हाम्रो घर बगायो, सम्पत्ति बगायो । हाम्रो विद्यालय बगायो । हाम्रो सडक बगायो तर – हाम्रो सपना बगाउन दिनु हुँदैन । हाम्रो हिम्मत बगाउन दिनु हुँदैन । हाम्रो भविष्य बगाउन दिनु हुँदैन । एक दिन यही बगरमा फेरि घर बन्नेछन् । विद्यालयका आँगनमा फेरि बालबालिका दौडिने छन् । बजारमा फेरि चहलपहल हुनेछ । पर्यटक फेरि आउनेछन् । व्यवसाय फेरि चल्नेछन् । नदी फेरि आफ्नै लयमा बग्ने छ र हामी यहीँ उभिएर आफ्ना हराएका प्रियजनलाई सम्झँदै भन्नेछौँ – “हामीले धेरै गुमायौँ । हामीले असह्य पीडा भोग्यौँ । हामी ढल्यौँ।तर हामीले हार मानेनौँ । भोटेकोशीले हाम्रो धेरै कुरा बगायो, तर हाम्रो भविष्य बगाउन सक्ने छैन ।” सबै दिवंगतमा भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना । २०८३ भदौ २२ (प्याकुरेल ‘त्रिशूली प्रवाह’ साप्ताहिकका स्तम्भकार एवंं एमालेका बौद्धिक व्यक्तित्व हुनुहुन्छ ।)

 

 

प्रतिक्रिया

लेखकको बारेमा

रामशरण प्याकुरेल