धुन्चे । रसुवा जिल्ला, गोसाईँकुण्ड–२ स्थित नेपाल–चीन सिमाना रसुवागढीमा नेपाली सुरक्षा फौजको संयुक्त टोली भोटेकोशीमा आएको बाढीको ११औँ दिनमा राष्ट्रिय झन्डा फहराउन सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले अन्तर्राष्ट्रिय सीमानाकामा शनिबार नेपालको झन्डा राखेको हो ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको ठुलो भूभाग बगाएपछि सीमा क्षेत्रमा नेपालको पहिचान देखिने कुनै सङ्केतसमेत थिएन । यसैलाई मध्यनजर गर्दै नेपाली सुरक्षा टोलीले सीमामा झन्डा राखेको हो । बाढीले रसुवागढी सीमानाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ । बाढीका कारण सीमा क्षेत्रमा ठुलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचनासमेत प्रभावित भएका छन् । भोटेकोशीको बाढीका कारण पुग्न कठिन बनेको उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोली तीन किलोमिटर जोखिमपूर्ण भिरमा बाटो बनाउँदै पुगेको थियो । नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सोही स्थानमा पुगेपछि दुवै निकायले संयुक्त रूपमा नेपालतर्फ राष्ट्रिय झन्डा स्थापना गरेर बाढीपछि उपस्थिति जनाएका हुन् । बाढीले सीमा क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पु¥याएपछि सीमाको सुरक्षा तथा आवागमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ । यस्तो अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झन्डा पुनः स्थापित गरेको हो । चीनतर्पm भने बाढीले बगाएका सडक सञ्चालन गर्ने र क्षतिग्रस्त संरचना हटाउन दर्जनभन्दा बढी हेभी उपकरण प्रयोग गरिरहेको देखिएको त्यहाँ पुगेका सुरक्षाकर्मीले बताएका छन् ।
त्यसैगरी, सेनाले स्याफ्रुबेँसीस्थित नेपाल विद्युत् प्राधिकरणको बङ्करभित्र स्टोर गरिराखेको सुरुङ निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ र अन्य सामग्रीलाई सुरक्षित अन्यत्र सारेको छ । मेटल डिटेक्सन र भिजुअल सर्चको आधारमा सेनाले ती विस्फोटक पदार्थ पत्ता लगाएको थियो ।






प्रतिक्रिया