+
Search

ताजा अपडेट +

पपुलर +

करोडौँको सम्पत्ति बाढीमा बगे पनि बेलकोटका उपप्रमुख र विदुर–७ का वडाध्यक्ष जनसेवामा क्रियाशील

करोडौँको सम्पत्ति बाढीमा बगे पनि बेलकोटका उपप्रमुख र विदुर–७ का वडाध्यक्ष जनसेवामा क्रियाशील
त्रिशूली प्रवाह
५० मिनेट अगाडी

बेलकोटगढी । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको महाप्रलयकारी बाढीले रसुवाको टिमुरेदेखि तनहुँको देवघाटसम्म अकल्पनीय जनधनको क्षति पु¥यायो । सो बाढीले बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल र विदुर–७ का अध्यक्ष रवीन्द्र नेपालको करोडौँको सम्पत्ति बगे पनि उहाँहरू जनसेवामा सक्रियताका साथ लागिरहनुभएको छ । उहाँहरू आफ्नो पीडा र क्षतिलाई बिर्सेर नागरिकको पीडा र क्षतिलाई प्राथमिकतामा राखेर खोज तथा उद्धारको कार्यसँगै राहत वितरणमा सक्रिय हुनुहुन्छ ।

Utsuk Books & Stationery

बाढीको उर्लँदो भेलले बस्ती, सडक, पुल, खेतबारी र नागरिकका सपनासमेत बगायो । यो विपत्तिमा करिब १५ सयजनाले ज्यान गुमाएको र करिब पाँच हजार नागरिक अझै सम्पर्कविहीन रहेको पीडादायी अवस्थामा उहाँहरू जनसेवामा सक्रिय हुनुहुन्छ । आफ्नो परिवारका सदस्य, घर, सम्पत्ति र जीवनभरको कमाइ गुमाएका नागरिक यतिवेला राज्य, समाज र सहयोगी हातको प्रतीक्षामा छन् । विपत्तिमा परेका नागरिकका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगै राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सङ्घसंस्था राहत, उद्धार र सहयोगमा जुटिरहेका छन् । तर, यो महाविपत्तिको बिचमा कतिपय जनप्रतिनिधि आफैँले करोडौँको व्यक्तिगत सम्पत्ति गुमाउँदा पनि त्यसको पीडालाई थाती राखेर नागरिक सेवामा अटल र अटुट रूपमा खटिरहनुभएको छ । यस्तै प्रतिनिधिमध्येका बेलकोटगढीका उपप्रमुख दाहाल र विदुर–७ का अध्यक्ष एवम् कार्यपालिकाका प्रवक्ता नेपाल विपत्तिमा परेकाको साथमा रहेर सहयोगमा अहोरात्र खटिरहनुभएको छ ।

गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत बेलकोटगढी–८ को जिलिङ तल्लो भेगस्थितका शीतटार नयाँ पुल बस्दै आउनुभएका उपप्रमुख दाहालको करिब रु. सात–आठ करोडबराबरको भौतिक सम्पत्ति क्षति भएको छ । घरआसपासमा रहेको नौ रोपनी खेत, त्यहाँ रहेका सडकनजिक ट्रस्टअन्तर्गतका १२ वटा व्यावसायिक सटर, दुईवटा गोदामसहित बस्दै आएको घरसमेत बाढीको चपेटामा परेको उहाँले जानकारी दिनुभयो । बसोबास रहेको घरको आधाभाग डुबानमा परेको छ । जीवनभरको परिश्रमबाट जोडेको करोडौँको सम्पत्ति एकैपटकको भेलले क्षतिग्रस्त बनाउँदा जोसुकै मानिस पनि विचलित हुन सक्छ । तर, उपमेयर दाहाल यतिवेला आफ्नो व्यक्तिगत पीडाभन्दा माथि उठेर नागरिकको पीडामा साथ दिन खटिरहनुभएको छ । विदुर–७ का अध्यक्ष नेपालको करोडौँ रुपैयाँको व्यावसायिक कुखुरा फर्म र हजारौँ कुखुरा पूरै बगाएको छ भने वि.सं. २०७२ को भूकम्पपछि करोड रुपैयाँभन्दा बढी लगानीमा बनेको घरसमेत बस्न नमिल्ने गरी क्षति पुगेको बताइएको छ । घर र व्यावसायिक कुखुरा फर्ममा करोडौँ रुपैयाँको क्षति भए पनि उहाँका लागि त्यो सम्पत्ति व्यक्तिगत सम्पत्ति मात्र हो । तर, उहाँ जनताबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । त्यसैले उहाँ नागरिकको दुःखलाई आफ्नै दुःख र नागरिकको सम्पत्तिलाई आफ्नै सम्पत्तिसरह ठानेर राहत, उद्धार तथा विपत्मा परेका नागरिकको पुनर्वासको व्यवस्थामा निरन्तर लागिरहनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह