भदौ १० गते सुमन श्रेष्ठ नुवाकोट दरबारस्थित घरबाट सधैँझैँ विदुर–१, त्रिशूलीबजारस्थित आफ्नो फेन्सी स्टोर खोल्न पौने ९ बजे नै पुगेका थिए । सटर खोलेर घरबाटै लिएर आएको खाना खाने तरखर गर्दै थिए । एक्कासि सुरक्षाकर्मी पसल बन्द गरी सुरक्षित ठाउँमा जान आग्रह गर्दै माइकिङ गर्दै आइपुगे । हतारहतार खाँदै गरेको खाना छोडेर मोटरसाइकल हुइँकाएर त्रिशूली पुल तरेर पारि ढुङ्गे बजार पुग्दा–नपुग्दै भयङ्कर बाढी आयो ।

छिनभरमै त्रिशूलीबजार कल्पनाभन्दा बाहिरको बाढीले सबै बगायो । विसं २०५३ मा बुबा बित्नुभयो । सानोमा बुबा गुमेको केही वर्ष मामाघरमा बसेर एसएलसीसम्मको पढाइ पूरा नहुँदै आमाले पनि छोडेर जानुभयो । सुमनको टुहुरो जिन्दगी काठमाडौँका कपडा पसलमा काम गर्दै जेनतेन जीवन चल्दै बितेको थियो । विसं २०७२ को महाभूकम्पले नुवाकोटको पुरानो घर पनि ढल्यो । सुमन सहर बस्न नसकी पुरानै थातथलोमा बस्न थाले । केही समयपछि त्रिशूली पुलनजिकै फेन्सी पसल खोली जीवन चल्दै थियो । व्यवसाय राम्रो थियो । दैनिक रु.२५ देखि रु.३० हजारको व्यापार थियो । पसलमा रु.५० लाखको तयारी कपडाको स्टक थियो । विसं २०८३ भदौ १० गतेको लाङ्टाङ भोटेकोश हिमाली सुनामीले सबै बगायो । सुमनको नुवाकोटबाट त्रिशूली झर्ने र बेलुका ७ बजे पसल बन्द गरेर नुवाकोट उक्लने दैनिकी थियो । तीन वर्षको छोरा र श्रीमतीसहितको जिन्दगी राम्रोसँग बित्दै थियो । सुमनलाई अब आफ्नो फेन्सी पसल पुनः सञ्चालन गर्न रु.५० लाखको पुँजी जुटाउने चिन्ताले सताएको छ । सुमन नुवाकोट दरबारपरिसरबाटै त्रिशूली आउजाउ गर्ने हुनाले नुवाकोट डाँडाको घरमा कुनै क्षति भएन । परिवार सबै नुवाकोटमै रहने हुनाले परिवारमा कुनै क्षति पुगेन । बल्लतल्ल पाँच सेकेन्डले आफ्नो जीवन बचेकोमा सुमन र उहाँको परिवार भगवान्को अनुग्रहले आफ्नो जीवन जोगिएको ठान्दछन् ।
नुवाकोटको प्रमुख बजारमध्येको वेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट व्यापारिक केन्द्रको रूपमा स्थापित छ । बट्टारसँग प्रतिस्पर्धा गर्दै यी पुराना बजार पुनः स्थापित हुन खोज्दै थिए । अब यो महाविपत्तिले वेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटबजार कहिल्यै उठ्न नसक्ने गरी अस्ताउने स्थितिमा पुग्यो । आगामी दिनमा यी बजार पुनः स्थापित हुन निकै कठिन हुनेछ । सबै व्यापारिक कारोबार विदुरदेखि बट्टार हुँदैपिपलटारसम्म विस्तार हुनेछ । भदौ १० को जस्तै लाङ्टाङ हिमालको सुनामी भविष्यमा आयो भने सुरक्षित स्थान भनेको विदुरदेखि बट्टार र पिपलटारको अग्लो भूगोल नै हो । ५० वर्षको परिश्रमको सम्पत्ति ५० मिनेटमा आएको बाढीले सखाप बनाउने यो विपत्तिबाट आफू र आफ्नो सन्ततिलाई समेत बचाउन नयाँ ढङ्गले बसोबास र बन्दव्यापार गर्नुपर्ने देखिन्छ । नदीकिनार हुँदै बाटो निर्माण गर्ने राज्यको नीतिको कारण हिजोका सबै डाँडाकाँडाका मानव बस्ती खोलाकिनारमा थुप्रो लागेको हो । सडकले निर्माण गर्ने सहरीकरण सबै नदीकिनारमा केन्द्रित गर्नाले ५० वर्ष लगाएर निर्माण गरेको सहरी संरचना र सहरीकरण ५० मिनेटमै सखाप भयो । हिजोको पुरानो नेपाल डाँडामा बस्ने, बँेसीमा खेती गर्ने र नदीकिनारका भूगोल नदीलाई छोड्ने प्रणालीमा आधारित थियो । हामीले हिजोको ढाँचाभन्दा उल्टो ढाँचामा नयाँ नेपाल निर्माण गर्नाले यत्रो क्षति व्यहोर्नुपर्यो । यो महाविपत्तिले नयाँ चेतना दिएको छ । अब गाउँमा बस्ने र बेँसीमा खेती गर्ने पुरानै ढाँचाको नेपाल निर्माण गर्न जरुरी भइसकेको छ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको हिमसुनामीअगाडि अघिल्लो वर्ष मेलम्चीमा आएको बाढी धेरैले सम्झनु आवश्यक छ । अघिल्लो वर्षको रोशी खोलाको वितन्डा र त्योभन्दा अगाडि मुस्ताङको कागबेनीमा आएको महाविपत्समेत सम्झन आवश्यक हुन्छ । नेपालको पूरै भूगोलमा जलवायु परिवर्तनको गम्भीर असर परिसकेको छ । अब अर्को वर्ष कसको पालो हो भनेर कुर्नुपर्ने बाध्यात्मक स्थिति छ । त्रिशूलीको महाविपत्तिपछि तादी र लिखुको पालो कहिले हो भनेर कुरेर बस्ने दिन आइसकेको छ । अत्यधिक वर्षाको कारण आउने बाढी मात्र नभई तापक्रम वृद्धिको कारण जलवायु परिवर्तनले हिमपहिरो विस्फोट हुने र हिमाली सुनामी आउने क्रम अब बढिरहने स्थिति छ । अबको सडक पूर्वाधार नदीकिनारकेन्द्रित नभई पहाडैपहाडकेन्द्रित हुन आवश्यक छ । पहाड रित्याउने विकासे चिन्तन फेर्न आवश्यक छ । उब्जाउयोग्य भूमिमा सहरीकरण गर्ने चिन्तनभन्दा पहाडी समथर भूगोलमा सहरीकरण गर्ने पुरानै चिन्तनअनुसार सडक पूर्वाधार निर्माण गर्न ढिला भइसकेको छ । त्रिशूली र तादी किनारका मानव बस्ती हिजोको पुरानै डाँडामा पुनः स्थापित गर्ने हिसाबले पुनर्निर्माण र पुनस्र्थापना गर्ने पुरानो चिन्तनमा केन्द्रित हुने हो भने यस्ता महाविपत्तिबाट सधैँ जोगिनेछ । अब यस्तो महाविपत्त कहिल्यै नहोस् । (लेखक राजनीतिक विश्लेषक एवम् चिन्तक हुनुहुन्छ ।)






प्रतिक्रिया