धुन्चे । नेपाल–चीन सीमा भई बग्ने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको बाढीबाट रसुवा जिल्लामा तीन हजार पाँच सय ६२ जना सम्पर्कविहीन/बेपत्ता भएका छन् । जिल्लामा भौतिक तथा मानवीय क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।

सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य र राहत वितरण कार्य जारी रहेको बताउनुभएको छ । उहाँले दिएको जानकारीअनुसार बाढीबाट गोसाईँकुण्ड–२ को रसुवागढी, घट्टेखोला, टिमुरे र तातोपानी, वडा नं ३ को लिडिलिड, मेदाङफुलुङ र रोङ्गा तथा वडा नं ५ को स्याफ्रुबेँसी र सानो भार्खु प्रभावित क्षेत्र छन् । त्यसैगरी, आमाछोदिङ्मो–१ को हाकुबेँशी, कालिका–१ को गुम्चेत तथा उत्तरगया–१ को मैलुङ, सल्लेटार र सिम्लेफाँट तथा वडा नं ५ को उपल्लो पहिरे, तल्लो पहिरे, खाल्टे, नौबिसे, कैदलटार र वेत्रावती क्षेत्र बाढीबाट प्रभावित भएका छन् ।
प्रशासनले मंगलबारसम्म सार्वजनिक गरेको विवरणअनुसार एक हजार तीन सय ८४ जनाको उद्धार भएको छ । महाप्रलयकारी बाढीपछि विभिन्न कार्यालय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, शिक्षक तथा नागरिकसहित तीन हजार पाँच सय ६२ जना सम्पर्कविहीन÷बेपत्ता भएका छन् । सम्पर्कविहीन/बेपत्ता हुनेमा नेपाली सेना श्रीनाथ गण (धादिङस्थित ६ नं बाहिनीअन्तर्गत) का २७ जना, नेपाल प्रहरीका २८ जना, सशस्त्र प्रहरीका १३ जना र सरकारी कर्मचारी ७२ जना रहेका छन् । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना, रसुवा जिल्लाका नागरिक एक हजार दुई सय ३५ जना, अन्य जिल्लाका नागरिक एक हजार दुई सय ५५ जना तथा विदेशी पर्यटक दुई सय ७० जना सम्पर्कविहीन/बेपत्ता रहेको प्रशासनको विवरणमा उल्लेख छ । सम्पर्कविहीन र बेपत्ताको सङ्ख्या जोड्दा सम्पर्कविहीनको सङ्ख्या तीन हजार पाँच सय ६२ पुगेको छ ।
बाढीपछि उत्पन्न समस्या समाधान गर्दै हेलिकोप्टरमार्फत भदौ १० देखि मंगलबारसम्म गोसाईँकुण्डका तीर्थयात्रुसहित १५ सय ५२ जनाको उद्धार भइसकेको छ । सहायक प्रजिअ अधिकारीले दिएको जानकारीअनुसार बाढीबाट हराइरहेकामध्ये एक सय ७४ वटा शव सङ्कलन गरिएकोमा १० जनाको सनाखत भएको छ भने एक सय ६४ जनाको शव सनाखत हुन बाँकी छ । सङ्कलित शवमध्ये २६ वटाको मुचुल्का मात्र गरिएको, एक सय ३८ वटाको मुचुल्का र डिएनए परीक्षण गरिएको छ । सङ्कलित शवमध्ये चारवटा काठमाडौँ र एक सय ६६ वटा नुवाकोट पठाइएको छ ।
बाढीबाट प्रभावित तथा विस्थापितलाई जिल्लाको विभिन्न सुरक्षित स्थानमा सञ्चालन गरिएको आश्रयस्थलमा ६ सय २६ जना रहेका छन् । कोमिन श्यामेवाङफेल मावि स्याफ्रुबेँसीमा ५६ जना, लिडिलिड काङ छुलिङ गुम्बा, वृद्धिममा ३१ जना, गणेश आधारभूत विद्यालय उत्तरगया–१ मा ३६ जना, शिवालय आधारभूत विद्यालय उत्तरगया–५ मा ४७ जना, नीलकण्ठ मावि उत्तरगया–५ बोगटीटारमा ३० जना र भीमसेन प्राथमिक विद्यालय उत्तरगया–५ मा ४७ जना आश्रित रहेका छन् । त्यस्तै, काठमाडौँको यल्लो गुम्बा, स्वयम्भूमा एक सय ७३ जना, मुस्ताङ गुम्बा, काठमाडौँमा एक सय ५१ जना र नेपाल बौद्ध धर्म सेवा सङ्घको भवन, स्वयम्भू काठमाडौँमा ५५ जना रहेका छन् । आश्रयस्थलमा रहेका ६ सय ३४ जनामध्ये दुई सय ७८ महिला, दुई सय ३६ पुरुष, ३८ ज्येष्ठ नागरिक र एक सय ३९ बालबालिका छन् ।
प्रशासनले बाढी प्रभावितलाई वितरण गरिएको राहतसम्बन्धी विस्तृत विवरण कार्यालयको वेबसाइटमा राखिएको छ । बाढीपछि प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा सञ्चालनको कामसमेत भइरहेको प्रशासनले जनाएको छ । प्रेसनोटअनुसार हाल जिल्लाका ८५ प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवाको पहुँच पुगेको छ भने सम्पूर्ण क्षेत्रमा नेपाल टेलिकमको सेवा पनि सञ्चालन गरिएको छ । विद्युत् र टेलिकमले राम्रो काम गरेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभएको छ । कार्यालयले बाढीबाट भएको क्षति, उद्धार तथा प्रतिकार्यसम्बन्धी विवरण दैनिक सार्वजनिक गरिरहेको छ । सरकारको नीति निर्देशनलाई सिरोपर गर्दै सहमति सहकार्यबाटै बाढी प्रभावित बासिन्दालाई आवश्यकताको आधारमा राहत प्रदान पुनः स्थापना गरिँदै लगिने प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो ।






प्रतिक्रिया