विदुर । भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीको विध्वंसकारी बाढीबाट प्रभावित नुवाकोट–रसुवा क्षेत्रको राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार स्थलगत अवलोकन गर्नुभयो । प्रभावित नागरिकका लागि राज्यको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभएको छ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी फर्किएपछि सोमबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले घरबार र आफन्तविहीन बनेका नागरिक जीविकोपार्जनको खोजीमा रहेको बताउनुभएको हो । पीडितका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनको आधार खोसिएका नागरिकको पीडा गहिरो छ ।’ उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो । उहाँले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकप्रति विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ‘मृतकको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीकासाथ गरिनुपर्दछ,’ उहाँले भन्नुभयो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपछि उत्पन्न कठिन घडीको सामना गर्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, राहत तथा उद्धारमा संलग्न सङ्घसंस्था, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभयो । ‘यो विभाजनको समय होइन । एक-अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन,’ पौडेलले भन्नुभयो, ‘यतिवेला राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्दै पुनर्निर्माण, पुनस्र्थापना र आर्थिक पुनरुत्थानका लागि अगाडि बढ्ने समय हो ।’






प्रतिक्रिया