+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावित पत्रकार र परिवारलाई रू.एक लाख सहयोग

बाढी प्रभावित पत्रकार र परिवारलाई रू.एक लाख सहयोग
त्रिशूली प्रवाह
१० मिनेट अगाडी

विदुर । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पत्रकार र उहाँहरूका परिवारलाई रू.एक-एक लाखको दरले आर्थिक सहयोग गरेको छ ।

Utsuk Books & Stationery

महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारूमगरले दिएको जानकारीअनुसार रसुवाका नीराजन पौडेल, नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा बाढीमा बेपत्ता नुवाकोटका पत्रकार राजकुमार नेपालीका परिवारलाई सहयोग गरेको हो । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पत्रकार तथा उनीहरूका परिवारसमेत प्रभावित भएका थिए । महासङ्घका अनुसार प्रभावित पत्रकार तथा परिवारको अवस्थाका आधारमा सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको हो । बाढीमा परी पत्रकार नीराजन पौडेलले बुबाआमा, काकाकाकी र बहिनीसहित परिवारका पाँच सदस्य गुमाउनुभएको छ । उहाँ रातोपाटी अनलाइनमा कार्यरत पत्रकार तथा नेपाल पत्रकार महासङ्घ रसुवा शाखाका सदस्य हुनुहुन्छ । उहाँको स्थायी घर नुवाकोटको विदुर-७, तुप्चे रहेको महासङ्घले जनाएको छ । महासङ्घ बागमती प्रदेशका अध्यक्ष सारूमगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल र धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकार तथा परिवारलाई भेटेर सहयोग गरिएको हो । बाढीका कारण पत्रकारका घरपरिवारमा क्षति पुग्नुका साथै उहाँहरू कार्यरत सञ्चारमाध्यमसमेत प्रभावित भएका छन् । सडक तथा यातायात अवरुद्ध हुँदा समाचार सङ्कलनमा कठिनाइ भएको, विद्युत् र इन्टरनेटसेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या भएको तथा सञ्चार उपकरणमा समेत क्षति पुगेको महासङ्घले जनाएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह