विदुर । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको महाप्रलयकारी हिमबाढीबाट नुवाकोट जिल्लाका १२ वटा निर्माण सामग्री व्यवसायमा पूर्ण रूपमा क्षति पुगेको छ । सो बाढीमा परी तीनजना व्यवसायी बेपत्ता भएका छन् ।

नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घका उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बाढीबाट १२ व्यवसायमा क्षति र तीनजना व्यवसायी हराइरहेको जानकारी दिनुभयो । बाढीले विदुर-१, ढुङ्गेमा रहेको सङ्घका अध्यक्ष नवीनकृष्ण राजभण्डारीको घर, मनकामना इन्टरप्राइजेज रहेको पसलको सोरुम र गोदामघर पूर्ण क्षति भएको छ । त्यसैगरी, विदुर-१, ढुङ्गेमा रहेको सविन राजभण्डारीको माता मनकामना सप्लायर्सको पसल, गोदामघर, विदुर-१, ढुङ्गेमा रहेको प्रेमनाथ लामिछानेको लामिछाने हार्डवेयरको पसल, विदुर-१, ढुङ्गेमा रहेको सञ्जीव थपलियाको इन्द्रायणी ग्याबिन बक्स प्रा.लि.को सोरुम, अफिस र कारखाना, विदुर-१, धोबीखोला, त्रिशूली पुलसँगै रहेको राजु मानन्धरको घर, राज हार्डवेयरको व्यवसाय र गोदाम घर, विदुर-१, त्रिशूलीबजारमा रहेको प्रितम शाक्यको बुबा बेपत्ता, घर, त्रिशूली हार्डवेयर पसल घरको गोदाम, विदुर-४ सिँचाइमा रहेको राजाराम अधिकारीको गरिमा पाइप उद्योगको कारखाना र गोदामघर, विदुर-५, देवीघाटमा रहेको विरोध खतिवडाको न्यु खतिवडा हार्डवेयरको पसलघर र गोदामघर, विदुर-५, देवीघाटमा रहेको राममणि घिमिरेको घिमिरे हार्डवेयरको पसलघर र गोदामघर, विदुर-१०, भैँसेबजारमा रहेको उपेन्द्र बुढाथोकीको घर, बागमती ग्याबिन बक्स सप्लायर्सको कारखाना र गोदामघर, विदुर-१०, वेत्रावतीमा रहेको भरत भट्टकी श्रीमती बेपत्ता, उहाँको उत्तरगया हार्डवेयरको पसलघर र गोदामघर पूर्ण रूपमा क्षति भएको छ । विदुर-१०, वेत्रावतीमा रहेको खिलराज भट्टको न्यू बुद्ध हार्डवेयर सप्लायर्सको पसलघर र गोदामघर पूर्ण रूपमा क्षति भएको छ भने बाढीमा परेर सञ्चालक भट्ट हालसम्म बेपत्ता छन् ।






प्रतिक्रिया