विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका एक सय दुईजना बालबालिका अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर)मा रहेका छन् ।

राष्ट्रिय बालअधिकार परिषद्ले स्थानीय तह, सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरणअनुसार बालिका ४९ जना र बालक ५३ जना गरेर कुल एक सय दुईजनालाई राखिएको हो । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बालबालिका बेपत्ता भएका छन् भन्ने विवरण आउन बाँकी रहेको बताउनुभयो । बाढीमा कुल एक हजार पाँच सयभन्दा बढी बालबालिकाको मृत्यु भएको हुन सक्ने अनुमान उहाँले गर्नुभएको छ । ‘बाढी प्रभावित जिल्लाका ३० होल्डिङ सेन्टरमा ६ सय ३२ बालिका र ६ सय एक बालक गरेर कुल एक हजार दुई सय ३३ जना होल्डिङ सेन्टरमा छन् । त्यसमध्ये २१ जना अपाङ्गता भएका छन्,’ उहाँले भन्नुभयो, ‘अरू बालबालिका बाबुआमासँगै बसेका भए पनि एक सय दुईजना भने बाबुआमा नभएकाले परिवारका अन्य सदस्यको साथमा होल्डिङ सेन्टरमा राखिएको छ ।’ होल्डिङ सेन्टरमा राखिएका बालबालिकाको पढाइ तत्काल सञ्चालन गर्न अभिभावकले दबाब दिँदै आएका छन् ।






प्रतिक्रिया