गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीका कारण रसुवा हुँदै नुवाकोटमा अकल्पनीय जनधनको क्षति भएको छ । यस प्राकृतिक विपत्तिबाट रसुवा, नुवाकोट, धादिङसहित गोरखा, चितवन, तनहुँ त्रिशूली नदीतटीय क्षेत्रका हामी सबै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित छौँ ।

प्रकृतिको विपत्तिलाई कसैले रोक्न सक्दैनौँ । जे नहुनु थियो भइसकेको छ । अब भने हामी सबैले आ–आफ्नो ठाउँबाट पुनर्निर्माण र पुनस्र्थापनाका लागि पहल गर्नुपर्ने समय आएको छ । साथै, राज्यका सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न निरन्तर ध्यानाकर्षण गराइरहनु पनि हाम्रो दायित्व हो । महाप्रलयकारी बाढी आएको एक महिना पुग्न लागेको छ । सरकार, निजी क्षेत्र, स्वदेशी–विदेशी सङ्घसंस्था, दाताको ध्यान खोज, उद्धार र राहतलाई भन्दा प्रभावितको जनजीवन पुरानै लयमा फर्काउने र सामान्य बनाउने कार्यमा गएको छ । बाढीपछि त्रिशूली नदी वारपार गर्न गल्छीको पुल मात्र मुख्य विकल्पका रूपमा बाँकी रहेकाले उक्त पुलमा अत्यधिक चाप परेको छ र सर्वसाधारणले ठुलो सास्ती भोगिरहेका छन् । यसै सन्दर्भमा देवीघाट जलविद्युत् केन्द्र (सिँचाइ क्षेत्र)सँगै रहेको सवारीसाधन आवतजावत गर्ने पुलसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको हुँदा सोही स्थानमा पुनः पुल निर्माण गर्नु अत्यावश्यक देखिएको छ । त्यसैले सम्बन्धित निकायले तत्काल उक्त स्थानको सर्वेक्षण तथा प्राविधिक अध्ययन गरी यथशीघ्र पुल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन स्थानीयवासीले माग गरिरहेका छन् । उक्त क्षेत्रमा बेलिब्रिज राख्नका लागि सामूहिक रूपमा जनदबाब सिर्जना गर्न आवश्यक छ । उक्त स्थानमा पुल निर्माण हुन सकेमा राजधानी काठमाडौं, जिल्ला सदरमुकाम विदुर तथा आसपासका क्षेत्रबिचको आवतजावत सहज हुनुका साथै प्रत्यक्ष रूपमा विदुर नगरपालिका वडा नं. ३, ६ र १२ र सम्पूर्ण तारकेश्वर गाउँपालिकाका नागरिकसहित धादिङको उत्तर–पूर्वी क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । त्यसैले यो विषयलाई व्यक्तिगत वा कुनै एक ठाउँको मात्र समस्या नठानी समग्र क्षेत्रको आवागमन, विकास र नागरिकको सहजतासँग जोडिएको अत्यावश्यक पूर्वाधारको विषयका रूपमा लिएर सम्बन्धित निकायसमक्ष आवाज उठाउन सम्पूर्ण सरोकारवाला तथा नागरिकमा हार्दिक अनुरोध गर्दछु । आउनुहोस्, विपत्तिपछि पुनर्निर्माणका लागि सबै मिलेर आवाज उठाऔँ । देवीघाट जलविद्युत् गृह (सिँचाइ क्षेत्र)मा पुल निर्माण अत्यावश्यक छ । पुलको सर्वेक्षण, अध्ययन र प्रक्रिया तत्काल अगाडि बढाउन विदुर नगरपालिका वडा नं. ३ कार्यालयको ध्यानाकर्षण होस् ।
(उज्ज्वल अर्यालसहित विदुर-३ चैनपुर, नुवाकोटवासी)






प्रतिक्रिया