+
Search

ताजा अपडेट +

पपुलर +

म फेरि उठ्छु

म फेरि उठ्छु
किरण अधिकारी
१ घण्टा अगाडी

बाबुआमाले ६ दशकसम्म र मैले चार दशकभन्दा बढी समय दुःख गरेर जोडेको सम्पत्ति गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली नदीको विनाशकारी हिमबाढीले निमेषभरमै स्वाहा बनाइदियो । विदुर-१, ढुङ्गेमा भएको सम्पत्ति आँखाले हेर्दाहेर्दै सबै बगरमा परिणत भएपछि सम्हालिन गाह्रो भए पनि परिवारलाई सम्हाल्ने प्रयास गरिरहेको छु । बिहान पाकेको खानासमेत खान भ्याइएन । लगाएको लुगा र हातमा समातेको मोबाइलबाहेक अरू सरसामान केही झिक्न पाइएन ।

Utsuk Books & Stationery

मेलै जीवनमा १० वर्ष जनयुद्ध, सङ्कटकाल, जनआन्दोलन, २०७२ को महाभूकम्प त्यसपछिको कोरोना महामारी, भारतीय नाकाबन्दी, गत भदौ २३-२४ को जेन–जी आन्दोलन र यसपटकको महाप्रलयकारी बाढीको वितण्डा सबै सामना गरेँ । त्योबाहेक म पाँच-छ वर्षदेखि दीर्घरोगी रहेकाले पीडाको आरोह–अवरोह भोगिरहेको छु । मोटरसाइकल दुर्घटना, हर्निया, एपेन्डिक्सलगायतका रोगलाई परास्त गर्दै जीवनमा हार मान्नुहुन्न भनेर पटकपटक लड्दै-उठ्दै, धुलो टकटक्याउँदै बाँच्ने प्रयास गरिरहेको छु । गम्भीर रोगले तीन वर्षसम्म स्वदेश अनि विदेशमा उपचार गर्दै पुनर्जीवन लिँदै अब त उठ्छु भन्ने साहस लिएर उठ्न कोसिस गर्दै थिएँ । तर, भगवान् नराम्रोसँग झुक्यायौ, किन मलाई भेलको नजिक पुगेको मान्छेलाई फर्कायौ ? किन मजाक गर्यो ? बल्ल उठ्न खोजेको मान्छेलाई नराम्रोसँग खाडलभित्र हालिदियौ । जिउँदो छु, तर भित्रभित्र मरिरहेको छु । म बाँच्नुको अर्थ देखिरहेको छैन र पनि हे दैव जोगायौ किन ? मेरो मर्ने दिन किन साँचेर राख्यौ ? गुनासो दैवसँग । जिउँदो छु तर म भित्रभित्रै मरेतुल्य छु ।

गत भदौ ५ गते मेरो सक्रियतामा सम्पन्न नृत्य कार्यक्रमको समीक्षा गर्न कोलोनीस्थित स्पार्कल इन्टरनेसनल स्कुल जान त्रिशूली पुगेको मान्छे दुःखका दिन नसकिएर होला त्रिशूलीको नयाँ पुलबाट फर्केर हिँडेर म पिपलटार गुडविल एकेडेमीका सर रामराजा कुमालसँगै एकछिन कुरा हुँदै थियो । काठमाडौँबाट शिव देवकोटा दाइले फोन गर्दै त्रिशूलीमा एकदम ठुलो बाढी आएको जानकारी गराएपछि मैले तत्काल नुवाकोट जिल्लाको प्रहरी प्रमुख विपिन रेग्मीलाई फोन गरेँ । उहाँबाट जानकारी पाएपछि तत्काल विदुर-१ को वडाध्यक्ष लेलिन रञ्जितलाई सम्पर्क गरी घटना वरिपरिकालाई अध्यक्षले सबैलाई खबर गर्दै हुनुहुँदोरहेछ । त्यसपछि त्रिशूलीबजारस्थित सुदीप श्रेष्ठलाई फोन गरी घटना बताएर रामराजा सरलाई सामाजिक सञ्जालमा पोस्ट गर्न लगाएर त्यहाँबाट शरण पाण्डे सरलाई लिएर घरतिर लाग्दै ममीलाई फोन गरेर खोलामा बाढी आइरहेको भन्दै भाग्न जानकारी गराउँदै बट्टारबजार, विदुर बजारसम्म कराउँदै गएँ । त्यही बिचमा विदुर हुँदै ढुङ्गे नआउनु भन्ने ममीबाट जानकारी पाएँ, तैपनि गएँ । माथिबाट तल पसलतर्फ हेरेँ, आँखा रसाए, मुटु धड्कियो, सँगै जिउ थरथर काम्यो, तर मन बाँधेँ । भित्रभित्रै रोएँ, तैपनि बाआमाको अगाडि देखाइनँ । हामीलाई मात्र होइन, सबैलाई परेको छ, हामी बाँच्यौँ सम्पत्ति भोलि कमाउँला भनेर सम्झाएँ । मन भने ठिक ठाउँमा थिएन ।

सडक बढाउन सरकारले नै भत्काएको घरको सामानसहित अहिले वडा कार्यालय बसेको घरमा पसलसहित घरको सबै सामान त्यहीँ थियो । हेर्दाहेर्दै सबै बाढीले लग्यो । घर बनाउन राखेका झ्याल–ढोकाको खापा, स्कुटर, मोटरसाइकल पनि हेर्दाहेर्दै बग्यो । एकातिर आफ्नो सम्पत्ति सकिएको चिन्ता, अर्कोतिर रोइरहेका बाआमालाई सम्झाउनुपर्ने अवस्था, सोचेँ – अहिले मैले अरू चिन्ता गरेँ भने, बाआमाको अगाडि रोएँ भने स्थिति झन् विकराल हुन सक्छ । त्यसैले मन कडा बनाउनुपर्छ । सबै सकिएको भए तापनि मानवता सकिएको थिएन । निरन्तर साथीसँग सम्पर्क गर्ने प्रयास गरेँ । ढुङ्गेमा एकजना बालक बग्दै आएकोलाई निकाल्नुपर्ने, दुईपटक चौकी पुगेँ त्यो पनि हिँडेर । शरीर गलिसकेको थियो, पानी पर्दै थियो, वेलावेलामा आफैँ ढलुँलाजस्तो हुन्थ्यो, अनि मुटु फुटेर आउँथ्यो, डाको छोडेर रुन मन लाग्यो, तर छोरो मान्छेले बाहिर देखाउन नहुने रहेछ । पत्रकारिता सुरु गरेँ र आफैँले पत्रिका प्रकाशन गर्न थालेपछि अहिलेसम्म रहेका डकुमेन्ट र जीवनमा पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान, लाखौँ रुपैयाँ खर्च गरेर पनि नपाउने डकुमेन्ट सबै बगे । सम्पत्ति सकिएको देख्दा एक मन क्यान्सरजस्तो भयानक रोगलाई जितेको मान्छे फेरि सक्रिय भएर यही खेलमा जान्छु जस्तो पनि लाग्यो । तर, छोरो मान्छे न रुन सक्छ, न बौलाउन, किनकि जिम्मेवारी हुने रहेछ । मैले गलत विचार लिँदा यस्तो वेला मेरो बाआमा, श्रीमती र बच्चा के अवस्थामा होलान् भन्ने पनि लाग्यो । मन बाँधेर बसेँ, साथी आउँछन् सान्त्वना दिन्छन्, त्यो पनि लाख भइरहेको थियो । वेलावेलामा भने बाढीको वितण्डा र आफू नाङ्गो भएको सम्झँदा भोकनिद्रा हराउँछ ।

सबै चिज लगेपछि ढुङ्गेमा बस्नुको अर्थ पनि देखिनँ । आमासँग सल्लाह गरेर काठमाडौँ जाने निर्णय गरेँ । त्यहाँ बस्दा बुबा प्रेसरको बिरामी झन् केही होला भन्ने डर भयो । त्यसपछि थोत्रो ज्यान, गलित शरीर लिएर काठमाडौँ हिँडेँ । अनि आदरणीय दाजु शरणउत्सुक सापकोटालाई भेटेर केही आर्थिक सहयोग लिएर बट्टार आएर माइक्रो चढेँ । मोबाइलमा ब्याट्री कम थियो । बट्टार आएपछि फोन बज्न थाल्यो । जति साथीभाइ, इष्टमित्र अनि व्यक्तित्वले फोन गर्नुभयो, सबैलाई आफू र परिवार सकुशल रहेको जानकारी दिएँ । गाडी भाडासमेत थिएन । त्यसपछि आदरणीय दाजु रामचन्द्र कोइरालालाई फोन गरेर भाडाको व्यवस्थापन गरेर माइक्रोमा हिँडियो । ममीले चाउचाउ र चिसो किन्नुभयो । खान मन पटक्कै थिएन, तर बुबाममीको चित्त बुझाउन खाएँ । दिमाग वरपर घर, सामान र डकुमेन्ट घुमिरहेको थियो । जब ढिकुरेबजार पार गरियो अनि मोबाइल ननस्टप बज्न थाल्यो । तर, मोबाइलमा ब्याट्री सकिइसकेको थियो । मसँगै माइक्रोमा आएका गोसाईँकुण्ड जान लागेका, तर चुकेका एकजना दयालु मान्छेले ब्याकअप दिए । चार्ज गर्दै फोन रिसिभ गर्दै आफू बोल्दाबोल्दै गला अवरुद्ध हुन्थ्यो, तर आफूलाई सम्हाल्दै बसेँ । निरन्तरको फोन र हिँडाइको कारण स्वर बसिसकेको थियो । बाटोमा आएर दुई बहिनीलाई फोन गर्दा बोल्न सकेको थिइनँ, तर सम्हालेँ । दुईजनालाई नै जानकारी गराएर मन थाम्दै अगाडि बढेँ ।

माछापोखरीबाट गोंगबु धनेश्वर (मामाघर) आउँदा ट्याक्सी ड्राइभरले गरेको सहयोग लाख भयो । उहाँको जहाँ गए पनि राम्रो होस् । काठमाडौँ आउँदै गर्दा र आएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा, सल्लाहकार उज्ज्वल ठकुरीलगायतलाई घटनाबारे जानकारी दिएँ । मामाघर आएपछि सबैसँग सम्पर्क भयो । सकुशल देखेपछि सबै खुसी भए । फोनमा निरन्तर सोधपुछ भयो, तैपनि मन भने भक्कानिरहन्थ्यो । सबै सकिँदा नि समाचार हेर्दा, अरूको कुरा सुन्दा, जे भएनि सबै परिवार, सम्पत्ति सकिएर एक्लै बाँचेको देख्दा मेरो त कमसेकम परिवार त छ भन्ने लाग्थ्यो । जे हुनु भइसक्यो, मेरो परिवार छ, म फेरि उठ्छु, सङ्घर्ष नै लेखेको रहेछ, सङ्घर्ष गर्छु भन्ने आशा जागेको छ । भएको जति सकियो अब पनि बाँकी छैन होला नि त, आफैँलाई लान बाँकी भन्ने लाग्या छ र पनि त्रास अझै कायम छ । अब चिन्ता एउटै मात्र छ – सम्पत्ति कसरी जोड्ने, परिवारलाई कसरी व्यवस्थापन गर्ने, अनि फेरि पुनस्र्थापना कसरी गर्ने । त्यसैका लागि हिम्मत जुटाउँदै छु । मसँग पत्रकार महासङ्घ छ, ट्रेड युनियन छ, प्रेस युनियन छ अनि लोकदोहोरी प्रतिष्ठान छ । निरन्तर रूपमा नआत्तिनु भन्ने साथीभाइ छन्, आफन्त छन् । यही दुःखको वेला पनि अनावश्यक फोन र दुःख दिने आफन्त पनि छन् । तर, पटकपटक जुनी फेरेको मान्छे म आत्तिएको छैन । तनाव लिन्न भन्दा पनि नहुने रहेछ । म अब फेरि उठ्न चाहन्छु, सक्छु पनि, भगवान्सँग एउटै पुकार छ – मलाई जति परीक्षा लिनुभयो, अब नलिनुस् किनकि म अब धेरै टुटेको छु, धेरै गल्न नदिनुहोस् । अरू अर्को लेखमा लेख्नेछु । अन्तमा पटकपटक साथ दिनुभएका मेरो आफन्त, साथीभाइ, सङ्घसंस्था यो सङ्कटको घडीमा सबैले एकपटक साथ दिनुहुन्छ भन्ने अपेक्षा गर्दै नमन गर्छु । (लेखक सुन्दरादेवी साप्ताहिकका प्रकाशक/सम्पादक एवं सांस्कृतिककर्मी हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

किरण अधिकारी