- राहतभन्दा स्थायी पुनस्र्थापना र सुरक्षित भविष्यका खोजीमा
नौकुण्डका ६२, गोसाईँकुण्डका पाँच सय ४५, कालिकाका एक सय ३१, उत्तरगयाका सात सय ३४ र आमाछोदिङ्मोका एक सय ९९ मानिस बाढीमा परी हराइरहेका- भोटेकोशी बाढीमा ७५ जिल्लाका बासिन्दा प्रभावित
धुन्चे । महाप्रलयकारी भोटेकोशीको बाढीले घर, खेतबारी, व्यवसाय, बाटो, पुल र आफन्त गुमाएका रसुवाका बाढीपीडित अहिले राहतभन्दा स्थायी पुनस्र्थापना र सुरक्षित भविष्यको खोजीमा छन् । भदौ १० गतेको विनाशकारी बाढीपछि टिमुरे, स्याफ्रुबेँसी, पहिरेबेँसी, कैदलटार, वेत्रावतीलगायत बस्तीका सयौँ घरपरिवार विस्थापित भएका छन् । कोही काठमाडौँका गुम्बा र जिल्लामा खोलिएका अस्थायी आश्रयस्थलमा, कोही विद्यालयमा बनाइएका होल्डिङ सेन्टरमा र कोही आफन्तको शरणमा बसेका छन् । बाढीपीडितले सरकारसँग स्थायी पुनस्र्थापना र सुरक्षित दैनिक जीविकोपार्जनको माग गरेका छन् ।

छैन थातथलो फर्किन सक्ने अवस्था
विध्वंसकारी बाढीले थातथलो नै तहसनहस बनाएपछि रसुवाका प्रभावितहरू सरकारसँग तत्काल सुरक्षित स्थानमा पुनस्र्थापना, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् र सुरक्षासहितको व्यवस्थित बस्ती निर्माण गरिदिन माग गरिरहेका छन् । प्रभावितहरू भन्छन्, ‘सरकार जाडो महिना आउन लागिसक्यो, कहिलेसम्म अस्थायी आश्रयस्थलमा बस्ने ।’ नेपाल–चीन सीमा जोडिएको रसुवा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । बाढीपछि टिमुरेमा स्थानीय बासिन्दाको नियमित बसोबाससमेत नरहेको स्थानीय बताउँछन् । टिमुरेका शिक्षक तथा स्थानीयवासी फुर्पुदोर्जे तामाङका अनुसार बाढीबाट विस्थापित टिमुरेवासीले सकेसम्म काठमाडौँ उपत्यकाभित्र पुनस्र्थापना गरिदिन सरकारसँग आग्रह गरेका छन् । काठमाडौँमा पुनस्र्थापना सम्भव नभए टिमुरे गाउँमाथिको खैदी क्षेत्रमा स्वास्थ्य, शिक्षा, सुरक्षा र अन्य आधारभूत सुविधासहितको व्यवस्थित बस्ती निर्माण गरिदिन प्रभावितले माग गरेका छन् । ‘हामी आफ्नो थातथलो छाड्न चाहँदैनौँ । तर, अहिलेको अवस्था सामान्य छैन । सुरक्षित ठाउँमा व्यवस्थित बस्ती बनाएर राखिदिए हामी बिस्तारै आफ्नो जीवन फेरि सुरु गर्न सक्छौँ,’ तामाङले भन्नुभयो । टिमुरेकै अर्का बाढीपीडित काले तामाङका लागि होल्डिङ सेन्टरमा बसेर जीवन चलाउनु दीर्घकालीन समाधान नहुने बताउनुहुन्छ । ‘होल्डिङ सेन्टरमा बसेर जीवन निर्वाह हुँदैन । जे हुनु भइसक्यो, दैवले हरिसक्यो । अब सरकारले बाँचेकालाई सडकसहितका अत्यावश्यक पूर्वाधार बनाएर टिमुरे गाउँमाथिको खैदीमा राखिदिनुपर्छ,’ उहाँले भन्नुभयो । खैदीमा सुरक्षित रूपमा बस्न पाए क्रमशः बगाइएको टिमुरेको थातथलोको उपयोग गर्न सकिने र पुर्खादेखि गर्दै आएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन सहज हुने उहाँको भनाइ छ । स्थानीयका अनुसार टिमुरेमा आठौँ पुस्तादेखि पुर्खाले गर्दै आएका देवकार्य, सिमे–भूमे पूजा तथा गौतम बुद्धको प्रतीकका रूपमा मानिने गुम्बामा गरिने पूजाआजासँग उहाँहरूको गहिरो सम्बन्ध छ । त्यसैले पुनस्र्थापना भनेको केवल घर बनाउनु मात्र होइन, थातथलो, संस्कृति र पहिचानसँगको सम्बन्ध जोगाउनु पनि हो ।
सीमावर्ती टिमुरे क्षेत्र सुनसान
नागरिक आफ्नो थातथलो छाड्न चाहँदैन । तर, भदौ १० गतेको बाढीले टिमुरेको अवस्था यस्तो बनाइदिएको छ कि अहिले स्थानीय बासिन्दाको स्थायी बसोबास नै छैन । नेपाल–चीन सीमा जोडिएको महत्त्वपूर्ण व्यापारिक तथा सुरक्षा क्षेत्र भएकाले टिमुरेमा सुरक्षा उपस्थिति पनि अत्यन्त महत्त्वपूर्ण छ । बाढीपश्चात् सशस्त्र प्रहरीको युनिटले मात्र सुरक्षा दिइरहेको सीमा क्षेत्रमा अहिले नेपाल प्रहरीसमेतले सुरक्षा दिइरहेको स्थानीयले बताएका छन् । तर, नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय टिमुरेको भवन भने बाढीले पूर्ण रूपमा बगाएको छ । नेपाल प्रहरीको र सशस्त्र प्रहरी अहिले संयुक्त रूपमा स्थानीय क्षेत्रको साथै सीमाक्षेत्रको संयुक्त रूपमा पहरा दिइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ । टिमुरेको पुनस्र्थापना केवल बाढीपीडित परिवारको आवासको विषय नभई सीमा क्षेत्रको सुरक्षा, व्यापार र राज्यको उपस्थितिसँग जोडिएको विषय बनेको छ ।
बगे काम गर्ने उमेरका मानिस
बाढीमा घर र भौतिक संरचना मात्र होइन, रसुवाको ठुलो युवा जनशक्तिसमेत गुमेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार केरुङ नाकामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गर्ने एक हजार ६ सय ७१ जना बाढीमा हराइरहेका छन् । हराइरहेकामध्ये अधिकांशको उमेर १६ देखि ४२ वर्षको आसपास रहेको स्थानीयले बताएका छन् । रसुवागढीको मितेरी पुलबाट केरुङसम्म नेपाली सवारीसाधन लैजाने–ल्याउने अनुमति रसुवाका चालकलाई मात्र हुने भएकाले बाढीमा परेका धेरै व्यक्ति चालक थिए । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडक क्षेत्र आसपासबाट बाढीमा परेको स्थानीयको भनाइ छ । जिल्लाका पाँचवटै पालिकाका बासिन्दा बाढीको चपेटामा परेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार नौकुण्डका ६२, गोसाईँकुण्डका पाँच सय ४५, कालिकाका एक सय ३१, उत्तरगयाका सात सय ३४ र आमाछोदिङ्मोका एक सय ९९ जना स्थानीय बाढीमा परी हराइरहेका छन् । टिमुरनिवासी तथा विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका फुर्पु तामाङका अनुसार टिमुरेका मात्रै एक सय ४७ जनाभन्दा बढी हराइरहेका छन् । बाढीबाट जोगिएर उद्धार गरिएका टिमुरेका एक सय ७९ जना काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिएर बसेका छन् । त्यसैगरी, रसुवाको पुरानो सदरमुकामका रूपमा चिनिने स्याफ्रुबेँसीको पुरानो तथा नयाँ बजार क्षेत्रमा पनि बाढीबाट ठुलो क्षति पुगेको छ । बजारमा भएको क्षतिको यकिन विवरण भने तयार भइरहेको गोसाईँकुण्ड–५ का वडासचिव जंगे तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार स्याफ्रुबेँसीबाट विस्थापित भएका मानिस काठमाडौँको स्वयम्भूस्थित एलो गुम्बामा आश्रय लिएर बसेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार त्यहाँ एक सय ७८ जनाले आश्रय लिइरहेका छन् । स्याफ्रुबेँसीका बासिन्दाले पनि काठमाडौँ उपत्यका वा स्याफ्रुबेँसीकै सुरक्षित स्थानमा व्यवस्थित तरिकाले पुनस्र्थापना गरिदिन माग गरेका छन् । स्थानीय कर्नेल तामाङका अनुसार अहिले होल्डिङ सेन्टरमा बसेका स्याफ्रुवासीको दीर्घकालीन पुनस्र्थापना आवश्यक भइसकेको छ ।
‘नदीकिनारमा घर बनाउँदैनौै’
उत्तरगया गाउँपालिकाको पहिरेबेँसी र कैदलटार क्षेत्रका बाढीपीडित भन्छन्, ‘अब नदी तथा खोलाको तटीय क्षेत्रमा घर बनाएर बस्ने अवस्था छैन ।’ कैदलटारकी ईश्वरी थापाका अनुसार बाढीपछि स्थानीय काठमाडौँका विभिन्न स्थानमा आफन्तको शरण लिएर बसिरहेका छन् । उहाँ आफैँ पनि काठमाडौँको तार्केश्वर क्षेत्रमा आफन्तकोमा बसिरहनुभएको छ । काठमाडौँका विभिन्न स्थानमा छरिएर बसिरहेका विस्थापित परिवार भन्छन्, ‘अब खोलाको किनारमा बस्न सकिँदैन । सरकारले पहिरो र बाढीको जोखिम नभएको सुरक्षित ठाउँ पहिचान गरेर सडक, स्वास्थ्य, शिक्षा र विद्युत्सहितको बस्ती निर्माण गरिदिनुपर्छ ।’ बेत्रावतीनिवासी एवम् स्काउट शिक्षक गणेश श्रेष्ठले रसुवाको बोगटीटार वा चौकीटारमध्ये उपयुक्त स्थानमा बाढीपीडितलाई पुनस्र्थापनाका लागि सरकारसँग माग गर्नुभएको छ ।
बालबालिकाको भविष्य अनिश्चित
बाढीपीडितका लागि तत्काल राहत आवश्यक भए पनि उहाँहरूको चिन्ता बालबालिकाको भविष्यप्रति छ । वेत्रावती–कैदलटारकी विस्थापित सुजिता ढकाल मिश्रले भन्नुभयो, ‘बालबालिकाको पढाइ, रोजगारी र दैनिक जीविकोपार्जन कसरी चलाउने ? होल्डिङ सेन्टरमा बसेका परिवारको आम्दानीको बाटो बन्द भइसकेको छ, अब राहतको भात खाएर मात्र निर्वाह हुँदैन ।’ उहाँले भन्नुभयो, ‘विस्थापितलाई स्थापित गरी रोजगारीसमेत सिर्जना गर्नुपर्छ, कतिन्जेल होल्डिङ सेन्टरमा बस्ने, कमाइ छैन, बालबच्चालाई पढाउन समस्या भइसक्यो । बोर्डिङमा पढाउन पैसा छैन, नजिकैको सरकारी विद्यालयले पनि सजिलै भर्ना लिँदैन, सरकारले उपयुक्त स्थानमा पूर्वाधारसहित पुनस्र्थापना गरिदिनुपर्ने वा काठमाडौं उपत्यका अथवा अन्य स्थानमा घरजग्गा किन्न आवश्यक रकम उपलब्ध गराएर पीडितलाई आफूअनुकूल बसोबासको व्यवस्था गरिदिनुप¥यो ।’’
दीर्घकालीन समाधानको खोजी
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपछि उद्धार गरिएका आठ सय ५६ जनालाई रसुवादेखि काठमाडौँसम्म विभिन्न नावटा होल्डिङ सेन्टरमा राखिएको छ । गोसाईँकुण्ड–५ को कोमेन श्यामेवाङफेल विद्यालयमा बालबालिका, महिला र पुरुष गरी ५७, गोसाईँकुण्ड–३ लिङ्लङस्थित कालिङछोलिङ गुम्बामा ३४, उत्तरगया–१ सिरुचेतको गणेश आधारभूत विद्यालयमा ४४, उत्तरगया–५ लहरेको शिवालय आधारभूत विद्यालयमा ३७ र माझगाउँस्थित भीमसेन प्राथमिक विद्यालयमा ३७ जना आश्रित छन् । काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई सय ४२, एलो गुम्बामा एक सय ७८ तथा नेपाल बौद्ध धर्म सेवा सङ्घको भवनमा एक सय ६६ जना रहेका छन् । उत्तरगया–५ बोगटीटार विद्यालयपरिसरमा पनि २१ जना आश्रय लिइरहेका छन् । उत्तरगया–५ कैदलटारबाट विस्थापित भएर काठमाडौँको तार्केश्वरस्थित शान्तिटोलमा बसिरहेका एक सय ६८ जनाको विवरण भने जिल्ला प्रशासनको होल्डिङ सेन्टरसम्बन्धी विवरणमा समावेश नभएको स्थानीय समाजसेवी वासु लामिछानेले बताउनुभयो । उहाँहरूलाई विभिन्न दाता तथा संस्थाको सहयोगमा खाद्यान्नलगायत सामग्री उपलब्ध भइरहेको छ । बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गरी विवरण तयार पार्न जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा २५ सदस्यीय विवरण सङ्कलन समिति गठन गरिएको छ । समितिलाई एक महिनाभित्र कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
राहत होइन, डोजर
बाढीले भोटेकोशी र त्रिशूलीको पुल बगाएपछि रसुवाको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्नसमेत कठिन भएको छ । खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था छ । बिरामीलाई पनि हेलिकोप्टरमार्फत उपचारका लागि पठाउनुपर्ने अवस्था रहेको जिल्ला प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उपलब्ध साधनस्रोतले भ्याएसम्म बाढीपीडितलाई आवश्यक सेवा उपलब्ध गराउने काम भइरहेको छ । बाढीबाट अवरुद्ध आवागमन सहज बनाउन स्याफ्रुबेँसीको भोटेकोशीमा तुइन तथा रसुवा–नुवाकोटको सिमाना उत्तरगया धामनजिक फलाखु खोलामा काठको फड्के निर्माण गरिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । तर, स्थानीयका लागि यी अस्थायी संरचना पर्याप्त छैनन् । ‘हेलिकोप्टरबाट राहत उडाउनुभन्दा अब सडक खोल्न डोजर गुडाउनुपर्छ । सडक र पुल बने मात्र जनतालाई ठुलो राहत हुन्छ । एक–दुई बोरा चामलले दीर्घकालीन समस्या समाधान हुँदैन,’ स्थानीय दावा तामाङको भनाइ छ । धुन्चे क्षेत्रमा खाद्यान्नको अभावसमेत देखिन थालेको होटेल व्यवसायीले बताएका छन् । दाल, चामल, नुन, तेलसँगै ग्यासको समेत समस्या बढ्दै गएको उहाँहरूको भनाइ छ । ग्यासको अभाव मत्थर गर्न गोसाईँकुण्ड गाउँपालिकाले ग्यासको ढुवानी गरिदिने घोषणा गरेको छ ।
राहत पाउनेको सूची अपारदर्शी
जिल्ला विपत् व्यवस्थापन समितिले राहत सामग्री वितरणलाई छिटो, छरितो र पारदर्शी बनाउने प्रयास गरिरहेको छ । चामल, नुनलगायत खाद्यान्न, लत्ताकपडा, बालबालिकाका न्यानो कपडा र महिलाका लागि सेनेटरी प्याडलगायत सामग्री गाउँगाउँमा वितरण गरिरहेको प्रशासनले जनाएको छ । तर, केही पीडितले राहत वितरणको सूची निर्माणमै प्रश्न उठाएका छन् । यार्साका रामकाजी तामाङले राहत छिटो वितरण भए पनि केही ज्येष्ठ नागरिकका लागि राहत अपुग भएको बताउनुभयो । यार्सा थाङ्दोका दावा तामाङले स्थानीय तहबाट राहत पाउने व्यक्तिको सूची पारदर्शी रूपमा नबन्दा आपूmले राहतस्वरूप चामल पाउन निकै मिहिनेत गर्नुपरेको बताउनुभयो । स्थानीय तहको समन्वयमा वितरण भइरहेको राहत चामल कुहिएको भनेर केही स्थानबाट बदनामी गराउने दुस्प्रयासको जिल्ला विपत् व्यवस्थापन समितिले स्पष्ट पारेको छ । दाताले सहयोगमा आएका चामल वितरण भएको, दाताले वर्षायाममा ढुवानी गरेर ल्याउँदा भिज्न पनि सक्छ । त्यसैले केही बोरामा निस्केको समस्यालाई अन्त गर्न जिल्लास्तरमा जानकारी नदिई अगाडि गरेका सहयोग गुण बिर्सिएर बद्नाम गर्ने, गराउने कार्य गर्नु न्यायोचित होला त भन्ने आवाज उठ्न थालेको छ । विस्थापितभन्दा गाउँमै स्थापित भएर बसेकालाई मात्र राहत बढी पुगेको भन्ने आवाजसमेत उठिरहेको छ । साना–साना हाते सोलार भण्डारणमा पुग्न नपाई हेलिप्याडबाटै तितरबितर पारिएको विस्थापितको छेउमा थुपारिनुपर्ने सामग्री धुन्चेमा थुपारी वितरणमा बढी नातावादमा गएको समाजसेवी साङ्तेम्वा तामाङले बताउनुभयो ।
भाँचियो आर्थिक मेरुदण्ड
जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ १० गतेको बाढीले निजी घर करिब एक हजार पाँच सय, सरकारी तथा सार्वजनिक भवन २८, जलविद्युत् आयोजना आठ, बेलिब्रिज आठ, झोलुङ्गे पुल १०, पक्की पुल ६, निजी पेट्रोल पम्प एक तथा करिब ४१ किलोमिटर राजमार्गमा क्षति पु¥याएको छ । निजी भवन भाडामा लिएर सञ्चालन गरिएका १४ वटा बैंकसमेत प्रभावित भएको प्रशासनको विवरणमा छ । यसको प्रत्यक्ष असर व्यापार, पर्यटन, यातायात, रोजगारी र दैनिक उपभोगमा परेको छ । रसुवाको मुख्य व्यापारिक केन्द्र त्रिशूली तथा बट्टार क्षेत्रसँगको सडक सम्पर्क टुटेपछि धुन्चेमा खाद्यान्न आपूर्तिमा समस्या देखिएको छ । होटेल व्यवसायीले सामान ढुवानी कठिन भएकाले व्यवसाय सञ्चालनमै समस्या आउन थालेको धुन्चेका होटेल व्यवसायी रामबहादुर तामाङ बताउनुभएको छ ।
३६ सय सम्पर्कविहीन
जिल्लाले उपलब्ध गराएको विवरणअनुसार मनाङ र मुस्ताङबाहेक देशका ७५ जिल्लाका मानिस भोटेकोशी बाढीबाट प्रभावित छन् । प्रशासनका अनुसार बाढीमा रसुवाका एक हजार छ सय ८५, अन्य जिल्लाका एक हजार सात सय ९१ र विदेशी नागरिक दुई सय ७० जना प्रभावित÷बेपत्ता छन् । बाढीमा परेर मृत्यु भएका तथा बाढीबाट ज्यान गुमाएका दुई सय १३ वटा शव खोज तथा उद्धारका क्रममा फेला परेको र व्यवस्थापनका लागि नुवाकोटतर्फ लगिएको रसुवा प्रहरीले जनाएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार बाढी प्रभावित क्षेत्रबाट समग्रमा एक हजार तीन सय ७२ जनाको हवाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ९० जना विदेशी रहेको सहायक प्रमुख जिल्ला अधिकारी दु्रवले बताउनुभयो । रसुवा अस्पतालका अनुसार बाढीको असरबाट घाइते तथा बिरामी भएर अस्पताल ल्याइएका ७४ जनामध्ये ४९ जनाको स्थानीयस्तरमै उपचार गरिएको, २४ जनालाई थप उपचारका लागि अन्यत्र पठाइएको र एकजनाको मृत्यु भएको छ ।
उद्धारमा सुरक्षाकर्मी
बाढीपछि उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभएको छ । सशस्त्र प्रहरीले गोताखोर, रोप रेस्क्यु, विशेष कार्यदल, स्वास्थ्य टोली, ड्रोन, पर्वतीय उद्धार तथा खोजीका लागि तालिमप्राप्त कुकुरलगायत प्रविधि र जनशक्ति परिचालन गरेको थियो । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा बाढीपछि फसेका ६ मध्ये पाँच कर्मचारीको लामो खोज तथा उद्धार प्रयासपछि शव निकालिएको छ । एकजनाको शव अझै फेला नपरेको चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध–निर्देशक बाबुराजा महर्जनले जानकारी दिनुभएको छ । २१६ मेगावाटको अपर त्रिशूली–१ आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेकोे छ । आयोजनामा अझै चार सय ३९ जना सम्पर्कविहीन रहेको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । बाढी जाँदा नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका नागरिकसमेत गरी एक हजार चार सय ३३ जना आयोजनास्थलमा कार्यरत रहेको सोमबार कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको हो । त्यसमध्ये आठ सय ७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आएका छन् । उद्धार र खोजीको क्रममा ३९ जना मृत भेटिएका छन् । आयोजनामा प्रवद्र्धक कम्पनीसँगै परामर्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्ट, इन्जिनियरिङ, खरिद तथा निर्माण कार्यको ठेकेदार कोरियन कम्पनी डुसान र उसले नियुक्त गरकोे सिभिलतर्फको सबकन्ट्रयाक्टर पावर चाइना तथा इलेक्ट्रोमेकानिकलतर्फको एन्ड्रिज हाइड्रोलगायत कम्पनीमा कार्यरत थिए । आयोजनाको मुख्य सुरुङ निर्माणका लागि बनाइएको पहुँच सुरुङ (अडिट–३) को माथिल्लो तटीय क्षेत्रमा जमेको, लेदो तथा भग्नावशेष एक्स्काभेटरको प्रयोग गरी हटाउने कार्य भइरहेको छ । खोजी तथा उद्धार कार्यका लागि आवश्यक एक्स्काभेटर, मिनीएक्स्काभेटरलगायतका उपकरण हेलिकोप्टरमार्फत ढुवानी गरी आयोजनास्थलमा परिचालन गरिएको छ । तालिमप्राप्त कुकुरसहित खोजी टोली परिचालन गरी सम्भावित स्थानमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको छ । मैलुङस्थित आयोजनाको साइटकार्यालय तथा कर्मचारी आवासक्षेत्र (क्याम्प)मा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउने र जमेको पानी निकास गर्ने कार्य भइरहेको छ । प्राविधिक टोलीमार्फत आयोजनाको भूमिगत विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थल तथा अन्य सम्बन्धित संरचनाको अवस्था निरीक्षण र मूल्याङ्कन गर्ने कार्य भइरहेको छ । आयोजनास्थलबाट निकालिएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोट जिल्ला, विदुरस्थित नेपाली सेनाको तालिम केन्द्र ल्याइएको हुँदा मृतकका परिवार एवम् आफन्तजनलाई शवको सनाखतका लागि आवश्यक सम्पर्क, समन्वय र सहजीकरण कार्य भइरहेको छ । स्थानीयस्तरमा भने सुरुङभित्र काम गर्ने मजदुरको सङ्ख्या, उहाँहरू रहेको स्थान र उद्धार गर्नुपर्ने सम्भावित मार्गबारे आयोजनासँग पर्याप्त प्राविधिक सूचना हुँदाहुँदै त्यसको प्रभावकारी उपयोग हुन नसकेको गुनासो आएको छ ।
फेरि बाढी आउने हल्ला
बाढीको पीडा कम हुन नपाउँदै रसुवाको लाङ्टाङ–लिरुङ पछाडि उत्तरी क्षेत्रमा रहेको हिमताल फेरि फुट्न सक्ने सम्भावनाको चर्चाले स्थानीयमा त्रास थपेको छ । नदकिनारमा नबस्न, हिँडडुल नगर्न, हिँड्नै पर्ने अवस्था आए सावधानीपूर्व हिँड्न, नदी क्षेत्रमा दाहसंस्कार गर्दा छिटो तरिकाले गर्नसमेत विपत् व्यवस्थापन समितिले सूचना जारी गरिरहेको छ । जोखिमयुक्त स्थानको स्थलगत निरीक्षण, ताल तथा प्राकृतिक बाँधको नियमित निगरानी र समयमै पूर्वसूचना दिने प्रणाली विकास गर्न सरकारसँग स्थानीय बासिन्दाले माग गरेका छन् । यो डर केवल हल्लाका आधारमा नभई बाढीपछि पहिचान भएका नयाँ जलाशय र प्राकृतिक अवरोध उत्पन्न भएको जोखिमसँग सम्बन्धित छ । त्यसैले सम्भावित जोखिमको प्राविधिक अध्ययन, निरन्तर अनुगमन र पूर्वसूचना प्रणालीलाई पुनस्र्थापनाको योजना अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ । सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण सूचनाले तटीय क्षेत्रका बासिन्दा त्रासमै दिनरात बिताउन बाध्य छन् । रसुवाका बाढीपीडित अब राहतको प्रतीक्षामा मात्र छैनन्, उनीहरू आफ्नो जीवन पुनर्निर्माण हुने दिनको प्रतीक्षामा रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । सडक, पुल बगाउँदा त्रिशूली र भोटेकोशीको वारिपारि आउजाउ गर्न र जटिल बिरामी पर्दा हुन सक्ने जोखिम न्यूनीकरणका लागि एयर एम्बुलेन्सको रूपमा दुईवटा हेलिकोप्टर नेपाल सरकारले धुन्चेमा राख्न उहाँले आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया