+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षाका लागि रू.दुई अर्ब लाग्ने

शिक्षाका लागि रू.दुई अर्ब लाग्ने
त्रिशूली प्रवाह
४२ मिनेट अगाडी

विदुर । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदी हुँदै आएको विध्वंसकारी हिमबाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरूत्थानका लागि सरकारले रू.दुई अर्ब ३४ करोड ३२ लाख १७ हजार पाँच सय लाग्ने अनुमान गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् । तिनमा ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

Utsuk Books & Stationery

विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन् । बाढीपश्चात् त्यस क्षेत्रमा नौ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल रू.१० करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । दीर्घकालीन पुनरुत्थानका लागि रू.दुई अर्ब २३ करोड ८२ लाख १७ हजार पाँच सय लाग्ने छ। सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । नेपालका निजी स्कुलका विभिन्न पाँचवटा संस्थाले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन रू.एक अर्ब सहयोगको प्रतिबद्धता जनाएका छन् । बाढीबाट प्रभावित भई विभिन्न ठाउँमा बसेका विद्यार्थीलाई तत्काल पठनपाठन सञ्चालन गर्न पायक पर्ने विद्यालयमै व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहले सहजीकरण गरिरहेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले बाढीबाट प्रभावित शैक्षिक संरचनाको पुनरुत्थानका लागि अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिट्टै ठोस् योजना बनाएर अघि बढ्छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह