धुन्चे । गत आर्थिक वर्ष २०८२/०८३ मा कुल वैदेशिक व्यापारको दुई दशमलव १८ प्रतिशत आयात गर्ने रसुवागढी नाकाको भविष्य गत भदौ १० गतेको विनाशकारी भोटेकोशी हिमबाढीपछि अनिश्चित बनेको छ । विसं २०८२ असार २४ मा नेपाली–चीन सीमानाका हुँदै बग्ने भोटेकोशी (ल्हेन्दे) मा आएको बाढीका कारण यो नाका ६ महिना बन्द भएको थियो । विसं २०८२ पुस १७ मा चीनले बेलिब्रिज सञ्चालनमा ल्याएसँगै पुनः व्यापार पुनस्र्थापित भएको थियो । पछिल्लो ६ महिना अवधिमा रसुवागढीबाट रू.४५ अर्ब ७३ करोडबराबर वस्तु आयात भयो । निर्यात रू.८९ करोड ४६ लाख बराबर भयो ।

नेपाल–चीन अन्तरदेशीय व्यापारका लागि अहिले तीन नाका सञ्चालनमा छन् । जसमध्ये रसुवागढी सबैभन्दा सहज र नजिकको नाका हो । गत आवमा तातोपानी नाकाबाट रू.४७ अर्ब ४८ करोडको वस्तु आयात भयो । निर्यात शून्य थियो । पछिल्लो समय यी दुवै नाकाको विकल्प बन्दै गएको मुस्ताङको कोरला नाकाबाट गत आवमा रू.१४ अर्ब ४० करोडबराबरको वस्तु आयात भयो । यस नाका हुँदै रू.२० करोड ५५ लाखबराबर वस्तु निर्यात भयो । कोरला नाकामा व्यापार बढ्नुमा गत वर्ष असारमा आएको बाढीले रसुवागढी नाका बन्द हुनु मुख्य कारण थियो । आव.२०८१/०८२ मा रसुवागढी नाकाबाट रू.८५ अर्ब २३ करोडबराबर आयात र रू.दुई अर्ब चार करोडबराबर निर्यात भएको थियो । जुन कुल वस्तु आयातको चार दशमलव.७२ प्रतिशत र कुल वस्तु निर्यातको शुन्य दशमलव ७४ प्रतिशत थियो । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार रसुवागढी नेपाल र चीन व्यापारको सबैभन्दा भरपर्दो व्यापारिक विन्दु हो । विसं २०७२ को भूकम्पअगाडि चीनले तातोपानी नाकालाई मुख्य भन्सार बनाएको थियो । त्यसपछि भने लामो समय यो नाका बन्द भयो । त्यसयता यो नाका पूर्ण बन्द छैन । तर, चिनियाँ पक्षले आन्तरिक कारण देखाउँदै यो नाका पूर्ण क्षमतामा सञ्चालन गर्न इच्छा देखाएको छैन । सोहीकारण नेपाल–चीन अन्तरदेशीय व्यापारको आधार रसुवागढी बनेको थियो ।
विसं २०८२ असार २४ को बिहान ३ बजे अकस्मात् आएको बाढीले १८ जना बेपत्ता भएका थिए । मितेरी पुलसहित ठुलो भौतिक संरचनामा क्षति भयो । ‘‘प्रतिनिधिसभा विकास समिति सभापति तथा तत्कालीन नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्नुहुन्छ, गत वर्ष नै बाढीले यस भन्सार विन्दुसहित आसपासको बस्तीलाई कडा चेतावती दिएको थियो, सायद हामीले त्यसलाई गम्भीर लिन सकेनौँ ।’’ उहाँले भनेजस्तै विसं २०८३ भदौ १० एक त्रासदीपूर्ण कालो दिनका रूपमा स्थापित भयो जसले हजारौँ जनसङ्ख्यालाई प्रत्यक्ष पीडित मात्र बनाएन, राज्यको अर्बौँ र निजी क्षेत्रको खर्बौँ लगानी एकै झट्कामा बगरमा परिणत गरिदियो । रसुवागढी नाका काठमाडौँदेखि गल्छी हुँदै रसुवागढीसम्म एक सय ३२ किलोमिटर दूरीमा छ । यसमध्ये रसुवातर्फको ४० किलोमिटर सडक पूर्णतया बगेको पूर्वाधार विकास मन्त्रालयको प्रारम्भिक अनुमान छ । यस सडकमा विभिन्न खण्डको अवस्थाबारे सडक विभागले अध्ययन गरिरहेको छ । मितेरीपुलदेखि गल्छीसम्म साढे दुई दर्जन सडक पुल बगेका छन् जसले गर्दा रसुवागढी नाका, भन्सार र अध्यागमनको कामलाई अनिश्चिततातर्फ धकेलेको छ । भन्सार विभाग निर्देशक बर्तौला सरकारले लिने निर्णयले यस नाकाका आगामी भविष्य निर्धारण गर्ने बताउँछन् । ‘‘यो अन्तरदेशीय मुख्य व्यापारिक नाका हो,’’ उहाँ भन्नुहुन्छ, ‘‘सरकारले सबै पक्ष अध्ययन गरी निर्णय लेला, सोहीअनुसार विभागले काम गर्छ ।’’ विभागका अनुसार यस भन्सारमा कार्यरत १५ कर्मचारी अझै सम्पर्कविहीन छन् ।
ऐतिहासिक नाका-भन्सारको ७० वर्षे इतिहास
भन्सार विभागका अनुसार रसुवागढी प्राचीनकालदेखि नै नेपाल र तिब्बतबिच व्यापार तथा सांस्कृतिक आदान–प्रदानको प्रमुख मार्गका रूपमा परिचित थियो । तत्कालीन समयमा रसुवा जिल्लाका स्थानीय र तिब्बतको केरूङ क्षेत्रका जनताको जीवनयापन सञ्चालनका लागि वस्तु विनिमयको माध्यमबाट व्यापार गरी राजस्वसमेत परिचालन गर्ने लक्ष्यसहित ऐतिहासिक तथा पुरातात्त्विक स्थल रसुवागढीमा विसं २०१३ मा रसुवा भन्सार कार्यालय स्थापना भएको थियो । चीन सरकारले रसुवागढीलाई विसं २०७५ मा मात्र अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएको हो । त्यसपछि यस नाकाको अन्तर्राष्ट्रिय महत्त्वसमेत बढ्यो । यो नाकाहुँदै नेपालले विद्युतीय सामग्री, तयारी पोसाक, जुत्ताचप्पल, निर्माण सामग्री, कृषि उत्पादन, दूरसञ्चार उपकरण, सवारीसाधन र औद्योगिक मेसिनरीजस्ता वस्तु मुख्य रूपमा आयात हुन्छ भने नेपालबाट गलैँचा, हस्तकला सामग्री, ऊनी कपडा, जडीबुटी, चाउचाउ, तामाका भाँडाकुँडा तथा कृषि उपज चीनतर्फ जाने गरेको थियो । यो नाका पछिल्लो समय भारतीय तीर्थयात्रुबिच कैलाश मानसरोवर यात्राको सहज मार्गसमेत बनेको थियो । यसपालि सोही यात्रामा रहेका सयौँ पर्यटक बाढीका कारण सम्पर्कविहीन हुन पुगेका छन् । यो नाका नेपालीको अर्थतन्त्र र रोजगारीको मुख्य केन्द्रसमेत हो । होटेल, यातायात, कन्टेनर लोड–अनलोड, भन्सार एजेन्ट र अन्य साना व्यवसायमार्फत रसुवागढी नाकाले एकैपटक हजारौँ नागरिकलाई रोजगारी सिर्जना गरेको थियो ।
बग्यो रू.दुई अर्ब खर्चको सुक्खा बन्दरगाह
रसुवागढी भन्सारमा गत वर्षको बाढीले अर्बौँ रुपैयाँको संरचनामा क्षति गरेको थियो । विसंं २०८२ सालको बाढीले नवर्निर्मित भन्सार कार्यालय भवनमा रू.८१ लाख ५९ हजारबराबरको क्षति गरेको थियो । सुक्खा बन्दरगाहमा मात्र रू.९१ करोड २० लाख बराबर क्षति गरेको थियो । भन्सार कार्यालय, भन्सार यार्डमा रहेका मालवस्तु, सवारीसाधन, कन्टेनर तथा यन्त्र उपकरणमा रू.७० करोड ५१ लाखबराबरको क्षति भएको अनुमान थियो । यसपटक यी कुनै पनि संरचना बचेनन् । विकास समिति सभापति गजुरेलका अनुसार टिमुरे सुक्खा बन्दरगाह कुल रू.तीन अर्बको परियोजना हो । जसमा रू.दुई अर्ब खर्च भइसकेको थियो । अधिकांश संरचना बनिसकेका थिए । अब फिनिसिङको काम थाल्ने अवस्थामा आयोजना थियो । गत वर्षको बाढीले ठुलो क्षति गरेपछि भने यस आयोजनामा थप लगानी भएको थिएन । यद्यपि, अब नामोनिसाना नरहेका यी संरचनामा राज्यले अर्बौँ रूपैयाँ गुमाएको छ ।






प्रतिक्रिया