विदुर । रसुवाको भोटेकोशी–त्रिशूली नदीको हिमबाढी प्रभावित विदुर–१, त्रिशूली बजारबासीलाई लुम्बिनीका भिक्षु मैत्री महास्थविरको पहलमा तीन ट्रक खाद्यान्न, भान्छाको लागि आवश्यक भाडाकुँडा, ग्यास, चुल्होसहितका सामग्री र नगद रू.पाँच हजार गत हप्ता वितरण भएको छ । त्रिशूली बजारमा जन्मनुभएका भिक्षु मैत्रीले उक्त सामग्री वडाध्यक्ष लेनिन रञ्जितको सिफारिसमा वितरण गर्नुभएको हो ।

त्रिशूलीका बाढी पिडित बासिन्दालाई वितरण गरिएको सामग्रीमा खाद्यान्न प्याकेज (चामल, दाल, तेल, नुन, चिनी, चियापत्ति, मसला र ३० लिटरको बाल्टिन) चार सय ५० जनालाई वितरण गरिएको थियो । त्यसैगरी, खानेपानी भाँडा तथा पानी शुद्धिकरण औषधि ३० सेट, सरसफाई सामग्री (साबुन, ब्रस, दाँत माझ्ने सामग्री, तौलिया) दुई सय सेट, महिला स्वच्छता सामग्री (सेनिटरी प्याड आदि) एक हजार सेट, ओढ्ने–ओछ्याउने (म्याट्रेस, कम्बल, झुल) २० सेट, लत्ता कपडा उमेर र लिङ्गअनुसार पाँच सय सेट वितरण गरिएको थियो । त्यसैगरी, बत्ती तथा विद्युतीय सामग्री (एलईडी बल्व, तार, मल्टिप्लग, सोलार बत्ती, मोबाइल चार्जर) ५० सेट, घर सफा गर्ने सामग्री (बाल्टिन, ब्रस, कुचो, किटाणुनासक औषधि, पञ्जा, मास्क, बुट) सय सेट, बालबालिकाका लागि सामग्री दुई सय ५० सेट र प्राथमिक उपचार किट ५० सेट चिकित्सकको सल्लाहअनुसार वितरण गरिएको वडाले जानकारी दिएको छ ।
भिक्षुले बाढीले पुरिएको बजार क्षेत्र सरसफाईका लागि राकेश त्रिपाठीको नेतृत्वमा १२ जना स्वयम्सेवक छुट्टै बस्ने र खाने सामग्रीसहित परिचालन भएका छन् । सरसफाई टोलीले स्थानीयबासीको सल्लाहमा दुई हप्ता काम गर्ने बताइएको छ । टोलीमा बृजमोहन चौधरी, शिवकुमार कोहोर, अरविन्द पाण्डे, राहुल मिश्रा, रविन्द्र पाल, विवेक भट्टराई, केशर खत्री, कृष्णबहादुर खात्री, सुमन क्षेत्री, चक्रघर चौधरी र युगेश चौधरी रहेका छन् । सरसफाईका लागि ढुवानी ट्रक एक थान, जिप एक थान, पानी तान्ने पम्प दुई थान, प्रेशर वासर एक थान, जेनेरेटर तथा बत्ति तार एक सेट, बेल्चा, कोदालो, खन्ती, साबेल ४० थान, ठेलगाडा ६ थान, बाल्टिन, कुचो, ब्रस, मोप ८० थान, सुरक्षात्मक सामग्री (बुट, पन्जा, मास्क, चस्मा, हेलमेट) ४० सेट, किटाणुनासक पाउडर, सर्फ पाँच बोरा, त्रिपाल–पाल १५ थान, भान्साको भाडाकुँडा तथा ग्याँस चुल्हो दुई सेट लिएर परिचालन भएको छ ।
भिक्षुले सो दिन दुई सय बिजुली चुल्हो, २५ सेट सोलार लाईटसहित मोबाइल चार्जर, बच्चाको खेलौना, दुई सय थान प्रेशर कुकर र चार सय ५० जनालाई रू.पाँच हजार नगद प्रदान गर्नुभएको थियो । बजारमा खोज, उद्धार र सफाईमा संलग्न सामाजिक अभियान्ता महेन्द्रलाल श्रेष्ठलाई भिक्षुले पाँच सय लिटर डिजेल, नगद रू.दुई लाख, पाँच हजार मिटर खानेपानीको पाईप प्रदान गर्नुभएको थियो । स्थानीय मागअनुसार यसै हप्ता उहाँले त्रिशूलीका बाढीपिडितलाई बिजुली चुल्हो एक सय ५० थान, इलेक्ट्रिक पानी तताउने किल्टी एक सय थान, सोलार बत्ति चार्जर २५ थान, रकेट पम्प र दुईसय मिटर पाईप वितरण गर्ने योजना रहेको वडाले जानकारी दिएको छ ।






प्रतिक्रिया