+
Search

ताजा अपडेट +

पपुलर +

बाढीबाट तीन हजार मानिस बेपत्ता

पुनर्निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन माग

बाढीबाट तीन हजार मानिस बेपत्ता
त्रिशूली प्रवाह
२८ मिनेट अगाडी

धुन्चे । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीको महाप्रलयकारी हिमबाढीबाट रसुवामा मानवीय तथा भौतिक क्षतिको बुधबारसम्मको विवरण जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ । जिल्लामा बाढीबाट जनधनको अकल्पनीय क्षति भएको विवरण आएको छ । क्षतिग्रस्त सडक, पुल, धार्मिक तथा सार्वजनिक संरचनाको विस्तृत मूल्याङ्कन गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाउन प्रभावितले माग गरेका छन् ।

Utsuk Books & Stationery

बाढीमा परी घाइते भएका ७४ जनामध्ये ४९ जनाको रसुवा अस्पतालमा उपचार गरिएको छ भने स्थानीयस्तरमा उपचार सम्भव नभएका २४ जनालाई काठमाडौँका विभिन्न अस्पतालमा थप उपचारका लागि पठाइएको छ । बाढीका कारण उपचारमा आएका एकजनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा व्यवस्थापनका क्रममा हालसम्म एक हजार चार सय ६१ जनाको उद्धार गरिएको प्रशासनले जनाएको छ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या तीन हजार आठ सय चार पुगेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्तामध्ये रसुवा जिल्लाका एक हजार ६ सय ७४, बाहिर जिल्लाका एक हजार आठ सय ४० र विदेशी नागरिक दुई सय ९० जना रहेका छन् । बाढीमा बेपत्ता भएकामध्ये निजामती कर्मचारी ७२, सुरक्षाकर्मी ६७ तथा बैंक तथा वित्तीय संस्थामा कार्यरत २२ जना कर्मचारी छन् । यस्तै, बाढीबाट जोगिएका दुई सय सातजनामध्ये एक सय एकजना महिला रहेको विवरण जिल्ला प्रशासन कार्यालयका विपत् सम्पर्क व्यक्ति अशोक चौधरीले जानकारी दिनुभयो ।

बाढीबाट १० झोलुङ्गे पुल, आठ कल्भर्ट, एउटा पेट्रोल पम्प, एउटा मोटरेबल पुल, चार विद्यालय भवन तथा करिब ४१ किलोमिटर सडकमा क्षति पुगेको प्रशासनले जनाएको छ । सरकारी तथा सार्वजनिक निकायका ३१ वटा संरचनामा समेत क्षति पुगेको छ । गोसाईँकुण्ड गाउँपालिकाअन्तर्गत रसुवागढी, घट्टेखोला, लिङिलङ, मेदाङफुलुङ, रोङ्गा, स्याफ्रुबेँसी तथा सानुभार्खु पुछारलगायत क्षेत्र बाढीबाट प्रभावित छन् । त्यसैगरी, आमाछोदिङ्मोको हाकुबेँसी, कालिकाको गोम्चेत तथा उत्तरगयाअन्तर्गत मैलुङ, सल्लेटार, सिम्लेपुछार, पहिरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावती क्षेत्रसमेत बाढीबाट प्रभावित छन् । बेत्रावतीस्थित रामचन्द्र मन्दिर तथा रसुवागढीस्थित रसुवामाई क्षेत्रसमेत बाढीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । ती धार्मिक तथा सांस्कृतिक सम्पदामा पुगेको क्षतिलाई समेत क्षतिको विवरणमा समावेश गर्न स्थानीयले माग गरेका छन् ।

सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका थप क्षेत्रसमेत आंशिक रूपमा प्रभावित भएका छन् । उहाँका अनुसार गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र नौकुण्डका विभिन्न वडामा बाढीको आंशिक प्रभाव परेको छ । जिल्ला प्रशासनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन तथा अभिलेखीकरणको काम जारी राखेको जनाएको छ । स्थानीयवासीले भन्नुभयो, ‘क्षतिग्रस्त सडक, पुल, धार्मिक तथा सार्वजनिक संरचनाको समेत विस्तृत मूल्याङ्कन गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाउन माग गरेका छन् ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह