+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी बाढीपीडितलाई नुवाकोट रेडक्रसको सहयोग

निःशुल्क एम्बुलेन्स सेवा तथा देवीघाट ज्येष्ठ नागरिक आश्रयस्थल निर्माण

भोटेकोशी बाढीपीडितलाई नुवाकोट रेडक्रसको सहयोग
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीअघि विदुर नगरपालिका–५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकका लागि नुवाकोट रेडक्रसले अस्थायी आश्रयस्थल बनाइदिने भएको छ । सहयोगी संस्था इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आइएफआरसी) को सहयोगमा नुवाकोट रेडक्रसले ४० जना ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागेको आश्रयस्थलमा हाल प्रतिष्ठानको संरक्षणमा रहेका २५ जनाले आश्रय लिनेछन् ।

Utsuk Books & Stationery

नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखाको सक्रियतामा जिल्ला शाखा नुवाकोटको नेतृत्वदायी पहलमा विदुर–५ तल्लो पिपलटारको देउरालीमा निर्माण हुने सुरक्षित आश्रयस्थल महिला र पुरुषको छुट्टाछुट्टै शौचालय, स्नानगृह र विश्रामस्थलसहितको हुने नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । आश्रयस्थल निर्माणका गर्न १० वर्षका लागि साढे तीन रोपनी जग्गा भोगचलनका लागि सम्झौता भइसकेको प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले बताउनुुभयो । बाढीका कारण प्रतिष्ठानमा रहनुभएका पाँचजना ज्येष्ठ नागरिक बेपत्ता हुनुहुन्छ भने एकजनाको शव प्राप्त भएको छ । बाढीपश्चात् १६ जना ज्येष्ठ नागरिक विदुर–६ स्थित कृष्ण प्रणामी मन्दिरमा, सातजना काठमाडौँस्थित हेरचाह केन्द्रमा र अन्य चारजना आफन्तको घरमा आश्रय लिइरहनुभएको छ ।

बाढी आउनुभन्दा अगाडिसम्म प्रतिष्ठानले सञ्चालन गरेको आश्रममा हाल ३६ ज्येष्ठ नागरिक आश्रित रहनुभएको थियो भने आश्रममा ६ जना सेवक कर्मचारी कार्यरत थिए । हालसम्म २७ जना परलोक हुनुभएको र ३५ जनालाई उहाँहरूकै परिवारजनको जिम्मामा पुनस्र्थापनामा पठाइएको प्रतिष्ठानका संस्थापक सदस्य शिवप्रसाद गजुरेलले बताउनुभयो । विसं २०६७ मा स्थापित प्रतिष्ठानले २०७४ देखि देवीघाटमा निरन्तर असहाय ज्येष्ठ नागरिकको निःशुल्क पौष्टिक आहार, स्वच्छ ताजा दुध, दही, भोजन, आवास र औषधोपचारसहित आश्रम सञ्चालन गरिरहेको थियो । प्रतिष्ठान गैरराजनीतिक, गैरनाफामूलक, गैरसरकारी र विशेषगरी मानवीय सेवामा समर्पित लोककल्याणकारी संस्था रहेको थियो । ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना भएको १५ वर्ष र सञ्चालनमा आएको नौ वर्ष पूरा भइसकेको छ ।

सोही हिमबाढीका कारण प्रभावित नुवाकोटका नागरिकका लागि नुवाकोट रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । बाढीका कारण त्रिशूली नदी वारि र पारिको क्षेत्र सडक सञ्जालमा जोडिन नसकेका कारण यस क्षेत्रका नागरिकको स्वास्थ्योपचारमा समस्या देखिएपछि रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । बाढीपछि नुवाकोट र रसुवाको प्रमुख स्वास्थ्योपचार केन्द्रको रूपमा रहेको त्रिशूली अस्पतालबाट थप उपचारका लागि काठमाडौँ पठाउनुपर्ने बिरामीका लागि रेडक्रसले एउटा एम्बुलेन्सबाट सेवा दिइरहेको छ । त्रिशूली अस्पतालबाट नुवाकोट सदरमुकामसँग सडक सम्पर्क टुटेपछि अहिले गौरीबेँसी, सिरखाली, तारुकाघाट, गल्छी हुँदै बिरामीलाई काठमाडौँ लैजाने गरिएको छ ।

यसैगरी, सदरमुकाम क्षेत्रका रहेका बिरामीलाई बट्टारमा रहेको रेडक्रस आपत्कालीन क्लिनिक र तल्लो पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार सम्भव नभएको अवस्थामा निःशुल्क रूपमा काठमाडौँका अस्पतालमा लैजाने प्रबन्ध मिलाइएको नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । नुवाकोट सदरमुकाम विदुर क्षेत्रमा चितवन रेडक्रसको रत्ननगर उपशाखाको एम्बुलेन्सले सेवा दिइरहेको छ । त्रिशूली नदी वारि र पारिका विदुर नगरपालिकाको क्षेत्रमा बिरामीलाई निःशुल्क सेवा प्रवाह गरिएको र हालसम्म पाँचजना बिरामीलाई काठमाडौँ लगिएको छ । नुवाकोट रेडक्रसका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीका अनुसार यसरी सेवा प्रवाह गर्दा लाग्ने इन्धन र मर्मत खर्च नुवाकोट रेडक्रसले नै व्यहोर्ने व्यवस्था मिलाइएको छ भने दुवै एम्बुलेन्स चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह