भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिम जलप्रलयको भयङ्कर भेल बिस्तारै शान्त भएर नदी पुरानो किनारतर्फ फर्कियो, तर बाढीको पानी घट्दै जाँदा कति मान्छे मरे, कति बेपत्ता भए, सँगै सडक, खेत, घर र बस्तीमा भएको क्षतिको लेखाजोखा सुरु भएको छ । कति घर भत्किए, खेत पुरिए, पुल र सडक क्षतिग्रस्त भए भन्ने आधिकारिक तथ्याङ्क सङ्कलन हुँदै छ । यस विपत्ले मानिसको मनभित्र पारेको गहिरो र अदृश्य चोटको लेखाजोखा कसरी गर्ने ? बाढीले भौतिक सम्पत्ति मात्र बगाएको छैन । यसले मानिसका सपना, सम्बन्ध, सुरक्षा र भविष्यप्रतिको भरोसामा समेत ठुलो धक्का पु¥याएको छ । राहत तथा पुनस्र्थापनाका क्रममा विभिन्न होल्डिङ सेन्टर र अस्थायी शिविरमा पुगेर प्रभावितसँग प्रत्यक्ष कुराकानी गर्दा देखिने दृश्यले विपत्को अर्को पाटो उजागर गरेको छ । होल्डिङ सेन्टरको एउटा कुनामा टोलाएर बसेका एक पुरुषको अनुहारले विपत्को भयावहता झल्काउँछ । बाढीमा आफ्नी जीवनसङ्गिनी, वृद्ध आमाबाबु र साना बालबालिकासमेत गुमाएर आपूm मात्र जीवित रहनुपरेको उहाँको अवस्था अत्यन्त पीडादायी छ । सर्वस्व गुमाएपछि उहाँको मनमा एउटै प्रश्न बारम्बार आउँछ, ‘सबै गए, म मात्र किन बाँचे होला, अब कसका लागि बाँचु’ ? यस्तो अभिव्यक्तिलाई सामान्य दुःख वा निराशाका रूपमा मात्र लिनुहुँदैन । प्रियजन गुमाएपछि आपूm मात्र बाँच्नुपरेको अवस्थाबाट उत्पन्न हुने गहिरो मानसिक सङ्कटको यस्तो अवस्थामा व्यक्तिमा जीवनप्रतिको आशा कमजोर हुनु, आपूmलाई दोष दिनु र कहिलेकाहीँ मृत्युबारे विचार आउनुजस्ता गम्भीर मनोसामाजिक जोखिम देखिन थालिसकेका छन् । त्यसैले यस्ता व्यक्तिको पीडालाई ‘समयसँगै आफैँ ठीक हुन्छ’ भनेर बेवास्ता गर्नु उचित हुँदैन । उहाँहरूलाई सुरक्षित वातावरण, धैर्यपूर्वक सुनिदिने व्यक्ति र आवश्यक परे विशेषज्ञ मानसिक स्वास्थ्य सेवासम्मको पहुँच आवश्यक हुन्छ । होल्डिङ सेन्टरमा रहेका अन्य प्रभावितमा पनि निरन्तर डर, छटपटी, अनिद्रा, एक्लै बस्न मन लाग्ने, कसैसँग कुरा गर्न इच्छा नहुने तथा सामान्य कुरामा पनि झर्को र रिस उठ्नेजस्ता प्रतिक्रिया देखिएका छन् । कतिपय प्रभावित राहत वा सहयोगका लागि आउने व्यक्तिसँग पनि सहज रूपमा बोल्न चाहँदैनन् । एउटै घटनाबारे पटकपटक सोधिँदा उहाँहरूलाई आफ्नो पीडा फेरि दोहो¥याउनुपरेजस्तो महसुस गरेको मैले पाएँ । ‘फेरि त्यही बाढीको कुरा सोध्न आएका हुन्’ भन्ने अनुभूति उहाँहरूमा देखिनु अस्वाभाविक होइन । यसलाई असहयोगी व्यवहार वा खराब स्वभावका रूपमा बुझ्नुहुँदैन । विपत्पछि मानिसमा देखिने डर, रिस, मौनता, एकान्त चाहना वा भावनात्मक उतारचढाव मानसिक आघातसँग सम्बन्धित प्रतिक्रिया हुन् भनेर बुझ्न सक्नुपर्छ । प्रभावित व्यक्ति र समुदायमा राहत वितरण वा अवलोकनका क्रममा जाँदाको समयमा प्रभावित व्यक्तिको गोपनीयता, आत्मसम्मान र भावनाको सम्मान गर्नु उत्तिकै आवश्यक छ । उहाँहरूको अनुमतिविना घटनाको विवरण पटकपटक खोतल्ने वा अनावश्यक प्रश्न गर्नेभन्दा सक्रिय रूपमा सुन्ने, आवश्यक सहयोग पहिचान गर्ने र सुरक्षित महसुस गराउने व्यवहार बढी उपयोगी हुन्छ ।

संवेदनशील अवस्थामा बालबालिका
विपत्को प्रभाव बालबालिकामा झनै गहिरो र डरलाग्दो देखिन्छ । बाढीको भयावह दृश्य देखेका वा आफन्त गुमाएका बालबालिका आफ्ना अभिभावक खोज्दै रोइरहने, पानीको सामान्य बहाब देख्दा पनि डराउने, ठुलो आवाज आउँदा झस्किने, एकोहोरो हुने टोलाउने वा अत्यधिक चिन्ता गर्नेजस्ता व्यवहार देखिन थालिसकेका छन् । यी प्रतिक्रियालाई तुरुन्तै कुनै निश्चित मानसिक रोगको निदानका रूपमा बुझ्नुहुँदैन । तर, यस्ता लक्षण निरन्तर रहिरहेमा वा बालबालिकाको दैनिक व्यवहार, निद्रा, पढाइ तथा सामाजिक सम्बन्धमा उल्लेख्य असर परेमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य मूल्याङ्कन आवश्यक हुन्छ । बालबालिकाका लागि होल्डिङ सेन्टर वा अस्थायी आवासभित्र सुरक्षित र बालमैत्री वातावरण सिर्जना गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । खेल्ने, चित्र बनाउने, कथा सुनाउने, सिर्जनात्मक गतिविधि गर्ने र सुरक्षित रूपमा आफ्ना भावना व्यक्त गर्न सक्ने वातावरणले उहाँहरूलाई सामान्य दिनचर्यातर्फ फर्कन र मानसिक रूपमा बलियो बनाउनुका साथै उहाँहरूका भावना व्यक्त गर्न सहयोग पु¥याउन सकिन्छ ।
राहतसँगै मनोसामाजिक परामर्श आवश्यक
विपत्को प्रारम्भिक चरणमा त्रिपाल, खाद्यान्न, कपडा, औषधि र सुरक्षित बसोबास अत्यावश्यक चिज त लगभग सबै स्थानमा पुग्यो । तर, मानिसलाई सामान्य जीवनमा फर्काउन भौतिक राहत मात्र पर्याप्त हुँदैन । भत्किएको घर, गुमेका सम्पत्ति त फेरि कमाउन, बनाउन सकिएला, तर भत्किएको मनलाई पुनः जोड्न समय, सुरक्षा, सम्बन्ध, भरोसा र उचित मनोसामाजिक सहयोग चाहिन्छ । यसका लागि होल्डिङ सेन्टर तथा प्रभावित समुदायमा निम्न पक्षलाई प्राथमिकता दिन आवश्यक छ ।
पहिलो : तालिमप्राप्त मनोसामाजिक कार्यकर्ता तथा मनोविद्लाई परिचालन गरी आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्छ । गम्भीर मानसिक स्वास्थ्य समस्या वा आत्महत्याको जोखिम देखिएका व्यक्तिलाई परामर्श सेवासँगै उपयुक्त विशेषज्ञ मनोचिकित्सकीय सेवामा तत्काल जोड्नुपर्छ ।
दोस्रो : बालबालिकाका लागि सुरक्षित बालमैत्री स्थान निर्माण गरी खेल, चित्रकला, मनोरञ्जन तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्नुपर्छ ।
तेस्रो : राहतकर्मी, स्वयम्सेवक, पत्रकार तथा अवलोकनकर्ताले प्रभावितसँग संवेदनशील व्यवहार गर्नुपर्छ । उहाँहरूको अनुमति, गोपनीयता र आत्मसम्मानको सम्मान गर्दै आवश्यकतामा केन्द्रित संवाद गर्नुपर्छ ।
चौथो : गम्भीर शोक, अत्यधिक डर, निरन्तर अनिद्रा, सामाजिक रूपमा पूर्णतः अलग हुने व्यवहार, अत्यधिक निराशा वा आत्महत्यासम्बन्धी विचार देखिएका व्यक्तिको पहिचान गरी निरन्तर अनुगमन र विशेषज्ञसँग समन्वय गर्नुपर्छ ।
पाँचौँ : मनोसामाजिक सहयोगलाई विपत्को तत्कालीन राहतमा मात्र सीमित नगरी पुनस्र्थापना र पुनर्निर्माणको लामो प्रक्रियासँग जोड्नुपर्छ । किनकि मानसिक आघातको असर पानी घटेसँगै समाप्त हुँदैन ।
मनको पुनर्निर्माणतर्फ ध्यान दिऔँ
बाढीको पानी घट्दै जाँदा हामीले क्षतिग्रस्त घर, विद्यालय, कलेज, सडक, पुल र खेत पुनर्निर्माण गर्न थालनी त सबै पक्षले आफ्नो तवरबाट गर्दै छन् । नयाँ घर बन्नेछन्, खेतमा फेरि बाली लाग्नेछ । विद्यार्थीका लागि विद्यालय बन्नेछ । बस्ती क्रमशः सामान्य अवस्थामा फर्कनेछन्, तर कतिपय मानिसको मनमा बसेको त्यो डर, गुमाएका आफन्तको सम्झना र भविष्यप्रतिको अनिश्चितता भने लामो समयसम्म रहन सक्छ । त्यसैले विपत्पछिको पुनस्र्थापनालाई केवल ‘कति घर बन्यो, कति पुल बन्यो’ भन्ने प्रश्नमा सीमित गर्नुहुँदैन । ‘कति मानिसले सुरक्षित महसुस गर्न थाले’, ‘कति बालबालिका फेरि निर्धक्क भएर खेल्न थाले, पढ्न मन गर्न थाले’ र ‘कति पीडितले आफ्नो जीवनप्रति पुनः आशा गर्न थाले’ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन् । विपत् केवल भौतिक विनाश होइन; यो मानवीय संवेदना र मानसिक स्वास्थ्यमा परेको ठुलो आघात पनि हो । त्यसैले राहतको हातसँगै सहानुभूतिको हात, पुनर्निर्माणसँगै मनोसामाजिक सहयोग र भौतिक पुनस्र्थापनासँगै आशाको पुनस्र्थापना आवश्यक छ । बाढीले बगाएका घर, बस्ती र सहर फेरि ठडिन सक्छन्, तर बाढीले भत्काएको मनलाई उठाउन हामीले समयमै साथ, सम्मान, सुरक्षा र मानवीय संवेदना दिनुपर्छ । अब विपत्पछिको पुनर्निर्माण केवल घर, पुल र सहर मात्र नभई मानिसको मन र आशा पुनर्जीवित गराउनुपर्छ । (विदुर-९, नुवाकोटका लेखक अधिकारी पेसाले मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ ।)






प्रतिक्रिया