सुगतपुर विहार तपाईंका लागि किन यति महत्त्वपूर्ण छ’ भनी सोधेमा मेरो उत्तर त्यो एउटा पुरानो विहार थियो भन्ने मात्र हुँदैन बरु सुगतपुर विहार मेरो बाल्यकाल हो, मेरो परिवारको इतिहास हो, मेरो बौद्ध शिक्षाको सुरुवात हो र मेरो प्रव्रज्या जीवनसँग जोडिएको स्मृति हो ।

म नुवाकोट जिल्ला, विदुर-१, त्रिशूली बजारमा जन्मेको हुँ । मेरो परिवार बौद्ध धर्मप्रति समर्पित परिवार थियो । त्यसैले बाल्यकालदेखि नै हाम्रो त्रिशूली घरमा भिक्षु तथा भिक्षुणी आउने, बस्ने र धर्मसम्बन्धी छलफल, कुराकानी हुने गथ्र्याे । त्रिशूलीबजार त्यस समय गोरखा, पोखरा, तानसेन, लुम्बिनी र कुशीनगरतर्फ जाने प्रमुख बाटाका रूपमा रहेको थियो । त्यसैले सो बाटो भएर यात्रा गर्ने धेरै भिक्षु–भिक्षुणी आउँदा–जाँदा हाम्रो घरमा बस्ने गर्नुहुन्थ्यो ।
एक दिन श्रद्धेय भिक्षु धम्मलोक महास्थविरले मेरा हजुरबुबा उपासक गजरत्न शाक्यलाई ‘सधैँ गृहस्थका घरमा बसेर मात्र हुँदैन, भिक्षु–भिक्षुणीका लागि एउटा विहार निर्माण गर्नुपर्छ’ भन्ने सुझाव दिनुभयो । यसबारे हजुरबुबाले नजिकका साथीसँग सल्लाह गर्नुभयो । त्यसैक्रममा हाम्रो घरको अगाडिका छिमेकी श्याम श्रेष्ठले त्रिशूली नदीनजिक रहेको आफ्नो जग्गा विहार निर्माणका लागि दान गर्न सकिने बताउनुभयो । उहाँसँगै उहाँका अन्य पाँच दाजुभाइले पनि जग्गा दान गर्नुभयो । जग्गा प्राप्त भएपछि सुगतपुर विहार निर्माण समिति गठन भयो । श्रद्धेय भिक्षु धम्मलोक महास्थविरले रु. सात बीजधनका रूपमा दान गर्नुभयो र अन्य भक्तजनले आ-आफ्नो सामथ्र्यअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । श्रद्धेय भिक्षु धम्मलोक महास्थविर, मेरा हजुरबुबा गजरत्न शाक्य, मेरा ठुलाबा धर्मरत्न शाक्य र काकाबाजे बेखारत्न शाक्य (विसं २०४६ पछि भएको पहिलो स्थानीय निर्वाचनमा ललितपुर नगरपालिकाको मेयर पदमा निर्वाचित) मिली आनन्दकुटी विहारबाट बर्मेली बुद्धमूर्ति ल्याएर त्रिशूलीमा स्थापना गर्नुभएको थियो । विसं २००७ सम्ममा सुगतपुर विहारको निर्माण सम्पन्न भयो र विधिवत उद्घाटन गरियो । त्यसपछि सुगतपुर विहार भिक्षु–भिक्षुणीको आगमन, निवास, अध्ययन र धर्म प्रचारको महत्त्वपूर्ण केन्द्र बन्न थाल्यो । वि.सं. २०१९ मा श्रद्धेय भिक्षु बुद्धघोष महास्थविर वर्षावासका लागि सुगतपुर विहारमा आउनुभयो । उहाँले स्थानीय उपासक-उपासिकालाई बौद्ध धर्मको शिक्षा दिन थाल्नुभयो । त्यही समयमा मेरा ठुलाबा धर्मरत्नले नेपालका सबै विहारमा बौद्ध शिक्षा सञ्चालन गर्ने उद्देश्यले पाठ्यक्रमसहितको प्रस्ताव भिक्षु बुद्धघोषसमक्ष राख्नुभयो । त्यसबाट उहाँ अत्यन्त प्रसन्न हुनुभयो र सोही प्रस्तावअनुसार ‘नेपाल बौद्ध परियत्ति शिक्षा’ यहीँबाट सुरु भयो । त्यसको एक वर्षपछि प्रथम सङ्घनायक परमपूज्य प्रज्ञानन्द महास्थविरको जन्मजयन्तीका अवसरमा नेपाल बौद्ध परियत्ति शिक्षा औपचारिक रूपमा दर्ता तथा घोषणा भयो र नेपालका विहारमा हरेक शनिबार बौद्ध शिक्षा सञ्चालन गर्ने परम्परा बस्यो ।
यस ऐतिहासिक कार्यको सुरुवात भएको स्थान पनि त्रिशूलीबजारको यही सुगतपुर विहार हो । त्यसैले सुगतपुर विहार केवल एउटा विहार मात्र होइन, नेपालमा बौद्ध शिक्षाको एउटा महत्त्वपूर्ण अध्यायको जन्मस्थल पनि हो । मेरो आफ्नै जीवन पनि सुगतपुर विहारसँग गहिरोसँग जोडिएको छ । बाल्यकालदेखि नै मैले त्यहीँ बौद्ध धर्मको अध्ययन गर्ने अवसर पाएको थिएँ । म त्यतिवेला भिक्षुका लागि बिहानको खाजा र दिउँसोको खाना बोकेर विहार जाने गर्थेँ । मैले विसं २०२४ मा श्रद्धेय परमपूज्य भिक्षु अमृतानन्द महानायक महास्थविरका निर्देशनमा श्रीलङ्कामा प्रव्रज्या ग्रहण गरी बौद्ध शिक्षा अध्ययन गर्ने अवसर पाएँ । विसं २०२७ मा म पुनः त्रिशूलीको सुगतपुर विहारमा फर्किएँ । त्यहाँ बसेर मैले प्रवेशिका (एसएलसी) परीक्षा दिएँ र करिब ६ महिना त्यहीँ बसेँ । त्यसपछि पनि समय–समयमा सुगतपुर विहारमा आउने-जाने क्रम चलिरह्यो । मेरो बाल्यकाल, शिक्षा, प्रव्रज्या जीवन र बौद्ध धर्मप्रतिको मेरो यात्राका धेरै महत्त्वपूर्ण सम्झना सोही विहारसँग जोडिएका छन् । करिब १३ वर्षअघि नेपाल बौद्ध परियत्ति शिक्षाको स्वर्णजयन्ती पनि हामीले त्यसैको जन्मस्थल सुगतपुर विहारमा आयोजना गरेका थियौँ जसमा नेपालका लागि श्रीलङ्काका राजदूतको पनि उपस्थिति थियो । त्यस अवसरले सुगतपुर विहारको ऐतिहासिक महत्त्वलाई पुनः स्मरण गराएको थियो ।
विसं २०७२ वैशाख १२ गतेको गोरखा केन्द्रविन्दु रहेको भूकम्पले सुगतपुर विहारलाई पूर्ण रूपमा क्षति पुर्यायो । धम्ममित्र र शुभचिन्तकका सहयोगमा मैले विहारलाई पहिलेको स्वरूपमा पुनर्निर्माण गराउन सकेँ । विहारमा स्थायी रूपमा बस्ने भिक्षु नभएकाले मैले श्रीलङ्कामा अध्ययन गरी स्नातकोत्तर हासिल गरेका मेरा शिष्य भिक्षु शारदलाई त्यहाँ आवासीय भिक्षुका रूपमा पठाएँ । भिक्षु शारद विगत करिब १० वर्षदेखि त्यहाँ बस्दै आइरहनुभएको छ । उहाँको उपस्थितिले सुगतपुर विहार फेरि उज्यालो र जीवन्त बन्न थाल्यो । उहाँका मित्र भिक्षु तथा स्थानीय उपासक–उपासिकाका सहयोगमा विहारका धार्मिक गतिविधि तथा कथिन उत्सव निरन्तर सञ्चालन हुँदै आयो । विहारलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैले मेरा मित्र उपासक आनन्द शाक्यको अध्यक्षतामा व्यवस्थापन समिति पनि गठन गराएको थिएँ । यसै वर्ष भिक्षु पियरत्न राजन महर्जनले कथिन उत्सवपछि विहारका १४ वटा ध्यानकक्ष मर्मत गर्ने योजना बनाउनुभएको थियो । हामीले भविष्यका लागि पनि धेरै योजना बनाइरहेका थियौँ, तर अचानक आएको विध्वंसकारी भोटेकोशी–त्रिशूली हिमबाढीले सबै कुरा बदलिदियो ।
बाढीले सुगतपुर विहार मात्र होइन, मैले बाल्यकालदेखि अध्ययन गरेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र आसपासका धेरै घरसमेत बगाएर लग्यो । आज त्यहाँ सुगतपुर विहारको भवन छैन । जहाँ विहार थियो, त्यहीँबाट अहिले त्रिशूली नदी बगिरहेको छ । त्यसैले कसैले मलाई ‘सुगतपुर विहार तपाईंका लागि किन यति महत्त्वपूर्ण छ’ भनी सोधेमा मेरो उत्तर त्यो एउटा पुरानो विहार थियो भन्ने मात्र हुँदैन, बरु सुगतपुर विहार मेरो बाल्यकाल हो, मेरो परिवारको इतिहास हो, मेरो बौद्ध शिक्षाको सुरुवात हो र मेरो प्रव्रज्या जीवनसँग जोडिएको स्मृति हो भन्ने हुन्छ । यति मात्र नभई यो नेपाल बौद्ध परियत्ति शिक्षाको जन्मस्थल भएको, मेरा हजुरबुबा, काका र अग्रजको पुण्य सम्पदा रहेको, भिक्षु–भिक्षुणीको आश्रयस्थल तथा धम्ममित्र र भक्तजनको आस्थाको केन्द्र पनि रहेको थियो । म यो मेरो जीवनका असङ्ख्य अमूल्य सम्झनाको पनि घर हो भन्दछु । त्यसैले सुगतपुर विहारको भौतिक भवन आज त्यहाँ नरहे पनि यो मेरो हृदयबाट कहिल्यै हराउन सक्दैन । आज त्रिशूलीले पुरानो विहार बगाएर लगे पनि यससँग जोडिएको धर्म, इतिहास, शिक्षा, सेवा र हाम्रो सामूहिक स्मृति बगाएर लैजान सकेको छैन । त्यसैले फेरि एउटा उपयुक्त जग्गा प्राप्त गरी सुगतपुर विहारलाई पुनः निर्माण गर्ने हाम्रो इच्छा छ । यो केवल एउटा भवन निर्माण गर्ने इच्छा मात्र नरही एउटा ऐतिहासिक धरोहर, बौद्ध शिक्षा र धम्मसेवाको परम्परालाई पुनर्जीवित गर्ने सङ्कल्प पनि हो ।
केही दिनमै म मेरा स्वर्गीय ठुलाबा धर्मरत्नले लेख्नुभएको ‘त्रिशूली बजार तथा त्रिभुवन त्रिशूली व्यावसायिक माध्यमिक विद्यालयको सङ्क्षिप्त परिचय’ र ‘त्रिशूलीमा बुद्ध धर्मको विस्तार एवम् सुगतपुर विहारको सङ्क्षिप्त परिचय र गतिविधि’ शीर्षक दुई पुस्तक (एकै ठाउँमा राखी) पुनः प्रकाशन गराउँदै छु । सो पुस्तकले हाम्रो इतिहास, हाम्रो परिवारको योगदान र सुगतपुर विहारसँग जोडिएको धम्मपरम्परालाई भावी पुस्तासम्म पुर्याउनेछ भन्ने मेरो विश्वास छ । विहारको भवन नदीले लगे पनि त्यसको इतिहास र धर्मको ज्योति हामीले फेरि प्रज्वलन गर्नुपर्छ ।
सब्बे सत्ता भवन्तु सुखितत्ता ।
(सबै प्राणी सुखी होऊन् ।) (लेखक अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक एवम् अध्यक्ष र आनन्दकुटी विहार, स्वयम्भूका प्रमुख, लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार, सामुदायिक सिकाइ केन्द्र परियोजनाका समग्र सुपरिवेक्षक, अखिल नेपाल भिक्षु महासङ्घका पूर्वाध्यक्ष तथा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, त्रिशूलीका पूर्वविद्यार्थी हुनुहुुन्छ । हाल उहाँ लुम्बिनीमा बस्नुहुन्छ ।)






प्रतिक्रिया