हिमाल तात्दै जाँदा पग्लिँदै गएको हिउँले नेपालका नदीतटीय क्षेत्रमा बसोबास गर्नेको भविष्य दिन प्रतिदिन असुरक्षित भइरहेको छ । जलवायु परिवर्तनबाट पृथ्वी बर्सेनि तात्दै गइरहेको छ । हिमालय क्षेत्रको तापक्रम एक दशमलव आठ डिग्रीसम्म वृद्धि भइसकेको विज्ञहरूले उल्लेख गरेका छन् । पछिल्ला केही वर्षदेखि हिमाली क्षेत्र जलवायु परिवर्तनको गम्भीर असरबाट प्रभावित हुँदा विपत्को जोखिम बढिरहेको हो ।

हिमाल भएर बग्ने नदीतटीय क्षेत्र पछिल्ला केही वर्षदेखि असुरक्षित बने पनि तीन तहको सरकारको ध्यान पुग्न सकेको छैन । विपत् भएपछि जुर्मुराउने र सचेत हुनेभन्दा तीन तहका सरकारको योजनाबद्ध तयारी देखिँदैन । जसले गर्दा हरेक वर्ष विपत्तिबाट जनधनको अकल्पनीय क्षति व्यहोर्नु परिरहेको छ । सरकारको तयारी नहुँदा गत भदौ १० गते हिमबाढीबाट रसुवा, नुवाकोट, धादिङ जिल्लाका नदीतटीय क्षेत्रमा अकल्पनीय जनधनको क्षति भयो । जलवायु परिवर्तनले हिमालको तापक्रम बढ्दो छ । हिमाल पग्लिनुका साथै हिमरेखा निरन्तर माथितिर उकालो लागिरहेको छ । हिउँ पग्लिएर हिमताल फुट्ने र हिमपहिरोको जोखिम बढ्दै जाँदा सम्पूर्ण हिमाली क्षेत्र अस्थिर बनिरहेको छ । तिब्बत–नेपालको सीमानाकामा यसपटकको महाप्रलयकारी घटनाले सम्भावित जोखिमलाई अत्यन्त गम्भीर रूपमा हाम्रोसामु ल्याएको छ । पछिल्ला तीन वर्ष चारवटा हिमपहिरोका घटना भइसकेका छन् । विसं २०८१ साउन ३२ को सोलुखुम्बु जिल्लाको खम्बु–थामेमा हिमताल विस्फोटन, विसं २०८२ जेठ १ गते हुम्लाको नाम्खामा हिमताल विस्फोटन, विसं २०८२ असार २४ गते रसुवाको भोटेकोशी–त्रिशूली बाढी र २०८३ भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली बाढीको हृदयविदारक घटनाले खतराको स्तर, मानवीय सोचभन्दा बढी जोखिमयुक्त भएको प्रमाणित गरेको छ । यी घटनाले भविष्यका लागि कठोर शिक्षा पनि दिएका छन् । हाम्रो भूगोलको अवस्था र संवेदनशीलताबारे एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले गरेको अध्ययनले नेपालमा तीन हजार दुई सय ५२ हिमनदी र दुई हजार तीन सय २३ हिमताल पहिचान गरेको थियो । त्यसमध्ये २० वटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ । यसले नेपाल सरकारलाई सचेत बन्न र आवश्यक तयारी गर्न अवसर दिए पनि ध्यान गइरहेको छैन । जीव–जगत्को जैविक आधारस्तम्भका रूपमा उभिएको हिमाल नेपालको छानो मानिन्छ । हिमाली छानोलाई वरदान मानी आएको नेपालका लागि जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेपछि अभिश्राप बनेको छ । पछिल्ला केही वर्षदेखि हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो जाने, हिमनदी भत्किने, पहिरो जाने, आकस्मिक बाढी आउने, हिमचट्टानको पतन र गेग्य्रान प्रवाहले नयाँ प्रकारको जोखिम देखिन थालेको छ ।
हिमालमा हुने प्राकृतिक घटनाको पूर्णतया नियन्त्रण सम्भव छैन । प्राकृतिक घटनालाई विपत्तिमा परिणत हुन नदिन प्रकोप पूर्वानुमान र क्षति न्यूनीकरण प्रणालीको विकास गर्न भने सरकारले सक्छ । आधुनिक विपत् व्यवस्थापनको मूल मन्त्र नै जोखिम न्यूनीकरण गर्नु हो । रसुवा घटनाले हिमाली क्षेत्रको जोखिम केवल वर्षाले मात्र हुँदैन भन्ने शिक्षा दिएको छ । यसको असर सयौँ किलोमिटर तलसम्म पुग्न सक्छ भन्ने सूचनासमेत प्रवाह गरेको छ । यसबाट नेपालले विपत्पछिको उद्धारका लागि भन्दा पनि विपत् आउनुअघि नै जोखिमको पहिचान गर्ने, नियमित निगरानी गर्ने, सूचना सम्प्रेषण गर्ने र सम्भावित विपत्मा पर्ने मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रणालीको विकास गर्न लाग्नुपर्छ । नेपाल–चीन सीमापार क्षेत्रमा हिमालयन निगरानी तथा सूचना प्रणाली स्थापना गर्न अहिलेको पहिलो र अनिवार्य आवश्यकता भएको छ । हिमालको जोखिम न्यूनीकरण, नदी उपत्यकाको जोखिम क्षेत्र सीमाङ्कन, विपत्मैत्री पूर्वाधार निर्माण, समुदायको तयारी र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनु आजको आवश्यकता हो । हिमाल बचाउनु भनेको भौतिक रूपमा हिमाल, यसको दृश्य, हिउँ र हिमनदी मात्र बचाउनु होइन, हिमालबाट बग्ने पानीसँग जोडिएको सम्पूर्ण पारिस्थितिक प्रणाली, सभ्यता, अर्थतन्त्र र मानव जीवनलाई सुरक्षित राख्नु पनि हो । हिमाली क्षेत्रको विपत् रोक्न नसकिए पनि आधुनिक ज्ञान, विज्ञान, प्रविधि, पूर्वतयारी र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट विनाशकारी परिणामलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
विश्वका धेरै सभ्यता नदीकिनारमै विकास भएको पाइन्छ । पानीको सहज उपलब्धता र कृषियोग्य उर्वर र समथर जमिन भएका कारण नदीकिनारमा सहरी सभ्यता विकाश भएको अनुमान गर्न सकिन्छ । तर, नदीले धार परिवर्तन गरिरहने हुँदा ठुलाठुला बाढी आउनु र यसबाट ठुलो जनधनको क्षति भइरहेको छ । हाम्रै देशको विकास संरचना पनि नदीकिनारबाटै विस्तार भएका छन् । जहाँ सडक, त्यहीँ बाक्लो बसोबास हुन थाल्यो । नदीकिनारमै व्यापारिक चहलपहल विकास हुन थाल्यो । नदीको बहाब क्षेत्रलाई सीमित बनाउँदै लगियो । भविष्यमा ठुला बाढी, पहिरो र डुबान हुन सक्छ भन्ने आकलन गर्न बिस्र्यौँ । नेपालको सहर–बजार, नदीकिनारमै विकास भयो । नदीको बहाबलाई ध्यान दिएर अलि टाढै बजार, बस्ती विस्तारसँगै अन्य भौतिक संरचना विकास गर्न नसकेको कारण भोटेकोशी–त्रिशूली बाढीबाट तल्लो तटीय क्षेत्रमा अकल्पनीय जनधनको क्षति व्यहोर्नुपरेको हो । प्राकृतिक विपत् आफैँमा मानवीय नियन्त्रणभन्दा बाहिरको घटना हो । त्यसैले विगतको घटनाबाट पाठ सिक्दै भविष्यमा नदीकिनारलाई बस्तीविहीन बनाउँदै सुरक्षित स्थानमा बस्ती बसाल्ने र त्यहीअनुसार आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न जरुरी छ ।






प्रतिक्रिया