विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीको विध्वंसकारी हिमबाढीबाट प्रभावित व्यवसायीको भौतिक क्षति अध्ययन तथा सहजीकरण गर्न र क्षतिको विवरण सङ्कलन गर्न समिति गठन गरेको छ ।

सङ्घको कार्यसमितिको बैठकले बैंक तथा वित्तीय संस्थासँग व्यावसायिक सहजीकरण गर्न अध्यक्ष राजेन्द्र श्रेष्ठ संयोजक तथा प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महासचिव उपेन्द्र बुढाथोकी, कार्यसमिति सदस्य पुरुषोत्तम कार्की र सञ्जीव थपलिया सदस्य रहेको समिति गठन गरेको छ । त्यसैगरी बाढीबाट व्यवसाय बिमा तथा जीवन बिमामा भएको क्षतिको विवरण सङ्कलन गरी सम्बन्धित कम्पनीमा क्षतिपूर्तिका लागि समन्वय र सहजीकरण गर्न वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती संयोजक तथा पुरुषोत्तम कार्की, नवराज पाण्डे, सञ्जीव थपलिया, मेघनाथ घिमिरे र पवन नेपाल सदस्य रहेको समिति गठन गरिएको छ । आन्तरिक राजस्व करसम्बन्धी सहजीकरण गर्न सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ संयोजक तथा द्वितीय उपाध्यक्ष सविन राजभण्डारी, नवराज पाण्डे, हरिकृष्ण तिमिल्सिना सदस्य रहेको समिति गठन गरिएको छ । बैठकले राहत सङ्कलन गर्न व्यावसायिक विपत् कोष स्थापना गर्ने निर्णय गरेको छ । राहत सङ्कलन समितिमा कोषाध्यक्ष मेघनाथ घिमिरे संयोजक तथा सदस्यमा हरिकृष्ण तिमिल्सिना, नवराज पाण्डे, दीपक तिमिल्सिना र पवन नेपाल सदस्य रहनुभएको छ ।
सङ्घले बाढीबाट विस्थापित एवम् प्रभावित व्यवसायी र व्यवसायलाई सुरक्षित स्थानमा पुनस्र्थापनाका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने निर्णय गरेको छ । सङ्घमा आबद्ध व्यवसायीलाई नगद तथा जिन्सी सहयोग गर्ने निर्णय पनि गरिएको कार्यकारिणी सचिव ईश्वर डङ्गोलले बताउनुभयो । सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा बाढीबाट क्षति भएका व्यवसायीको विस्तृत स्थलगत विवरण सङ्कलन गर्ने तयारी गरेको छ ।






प्रतिक्रिया