+
Search

ताजा अपडेट +

पपुलर +

हिमबाढीमा परी ज्यान गुमाएका दुई सय ६१ को निःशुल्क घेवा पूजा

हिमबाढीमा परी ज्यान गुमाएका दुई सय ६१ को निःशुल्क घेवा पूजा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

बट्टार । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको चिरशान्तिको कामना गर्दै नुवाकोटमा गत बुधबार निःशुल्क संयुक्त ‘घेवा पूजा’ गरिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बौद्ध जागरण केन्द्र जिल्ला शाखा नुवाकोटको आयोजना तथा बौद्ध जागरण केन्द्र केन्द्रीय कार्यालयको विशेष सहयोगमा बट्टारस्थित साङ्गे छोइलिङ गुम्बापरिसरमा पाँचौँ हप्ताको पुण्य तिथिको अवसरमा पूजा गरिएको थियो । आयोजकले संयुक्त घेवा पूजाका लागि मृतक सदस्यको नाम र फोटो उपलब्ध गराउन आह्वान गरेकोमा दुई सय ६१ जना पुगेको र पूजा सम्पन्न गरेको हो । परम् पुजनीय क्याब्जे लोसाङ नाम्याल रिम्पोछेको विशिष्ट सान्निध्यता तथा बौद्ध जागरण केन्द्र जिल्ला शाखा नुवाकोटको अध्यक्ष लामा गुरु शेरब लामाको अध्यक्षतामा सम्पन्न पूजामा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको आत्माको शान्ति र मोक्षको कामना गर्दै पूजापाठ तथा प्रार्थना गरिएको आयोजकले जनाएको छ । घेवा पूजाको क्रममा मृतकको ४५ घरपरिवारलाई नगद, ३५ घरधुरीलाई फाइबर सिरक र एक सयजना महिलालाई आवश्यक कपडा पनि प्रदान गरेको थियोे । पूजामा सहभागी करिब पाँच सयजनालाई भोजनको समेत व्यवस्था गरी सम्पन्न भयो । बाढीमा परी रसुवा तथा नुवाकोटलगायत विभिन्न क्षेत्रमा ठुलो मानवीय क्षति भएको थियो । विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजन तथा स्थानीय समुदायको उपस्थितिमा सामूहिक रूपमा धार्मिक अनुष्ठान गरिएको हो ।

बौद्ध जागरण केन्द्र केन्द्रीय कार्यालय, नाम्ग्याल रिन्पोछे फाउन्डेसन नेपाल, नाम्ग्याल रिन्छेन मणि छोक्पा तिनचुली, नाम्ग्याल झ्याङछ्युब छ्योलिङ गुम्बा तिनचुली, नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन, कपन हेल्पिङ ह्यान्ड, साङ्गे छोइलिङ गुम्बा बट्टारलगायतलाई कार्यक्रम अध्यक्ष शेरब लामाले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह