+
Search

ताजा अपडेट +

पपुलर +

इतिहास र भोटेकोशी बाढी

इतिहास र भोटेकोशी बाढी
शिवबहादुर भण्डारी
५५ मिनेट अगाडी

नदीमा साना र ठुलाठुला बाढी आउने क्रम पनि लाखौँ–लाख वर्षदेखि युग–युग चल्नु प्रकृतिको नियमअन्तर्गत नै होला । नदीले एकातिर भत्काउने र अर्कोतिर निर्माण कार्य गर्दछ, यो प्रकृतिको स्वाभाविक प्रक्रिया हो । गङ्गाको विशाल मैदान र नेपालका तराई, बेँसी, टार र उपत्यका पनि त्यही क्रियाबाट उर्वर जमिन बने । त्यसरी उर्वर बनेका जमिन हराभरा भएपछि बस्ती बसेका हुन् । नुवाकोटका बेँसी, टार, फाँट यहाँका नदी त्रिशूली, तादी, लिखुजस्ता नदीका क्रियाद्वारा निर्माण हुन गएको थियो । यहाँका नदीका स्वच्छ जलकै कारण पनि नुवाकोट भेगमा पनि अनादिकालदेखि नै मानव समाज अस्तित्वमा आएको बुझ्न सकिन्छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

भदौ १० गतेको जस्तो सुनामी खालको बाढी यस अगाडि आयो–आएन, यो भूगर्भशास्त्रीलगायत वैज्ञानिक अध्ययनको विषय हो । नेपालका हिमालय तथा पहाड दुई करोड वर्षअगाडि अहिलेकै स्वरूपमा बनिसकेको भूगर्भशास्त्रीय व्याख्या पाइन्छ । प्रायः त्रिशूली नदी शान्तजस्तो लाग्थ्यो, बरु तादी नदी भने वर्षात्मा मडारिँदा धेरै फाँट बगरमा परिणत भएको देखिन्थ्यो । त्रिशूली नदी प्रायः मानिसले बनाएकोझैँ नहरजस्तो गहिरिएर बगेको थियो । यसकारणले वर्षात्मा पनि छालले भेट्ने किनारछेउछाउका मानिसका घर, होटेल, पसल घर, त्रिशूली नदी किनारका आडमै बनेका घरका साथै त्रिशूलीबजारको पुलको जिपमै जोडिएका बजारका घर पनि वर्षौँ सुरक्षित नै थिए । स्थानीय क्षेत्रका स्थायी बसोबास गर्ने बासिन्दा र त्रिशूली नदीबिच एउटा गहिरो अटुट सम्बन्ध र भावनात्मक विश्वास रहन गयो । नदी प्रकृति र बासिन्दा मानिसबिच अन्योन्याश्रित सम्बन्ध रहँदै आयो युगयुग । यही कारण पनि होला बाढी आउँदै छ भन्ने माइकिङ हुँदाहुँदै पनि नदीको अतीतकै प्रवृत्तिमा विश्वास गर्ने मनोदशाका साथै हेलचेक्र्याइँ र अटेरी मनोवृत्तिले पनि कतिको जीवनलीला नै समाप्त भयो ।

हिमनदीमा पहिरो, त्यसबाट निर्मित हिमताल र त्यो फुटेर एक्कासि ठुलो परिमाणमा पहिरो मिश्रित पानीसहितको बहाबको कारण भोटेकोशी बाढी आएको तथ्य सार्वजनिक भएको छ । भोटेकोशी बाढी आउनु जलवायु परिवर्तन मुख्य कारण भएको वैज्ञानिकको विश्लेषण देखिन्छ । हिमनदी पग्लेर हिमताल बन्ने क्रिया हिमालय खण्डमा कहिले र कुन समयदेखिको हो भन्ने कुरा वैज्ञानिक अध्ययन र वैज्ञानिकको व्याख्याको विषय हो । भोटेकोशीको प्रलयकारी सुनामी बाढीले घर–सम्पत्ति मात्रै होइन, ठुलो सङ्ख्यामा अबोध बालबालिका, वृद्धवृद्धा, अशक्त, जवान, तीर्थयात्रीका साथै राष्ट्रसेवक सयौँको सङ्ख्यामा ज्यान लियो । कतिपयले बाढीको जानकारी नै पाएनन् । क्षणमै कैयन फिट अग्लो गरी मडारिएर आएको बाढी, आँखा झिमिक्क गर्न नभ्याउने गरी आकस्मिक आइपुगेको बलवान् वेगको कालोमैलो धुवाँजस्तो लेदोसहितको छालका अगाडि मानवको जोर चलेन, सेकेन्डमै बजार, बस्ती, भौतिक संरचनासमेत सारा नष्ट भयो, अकल्पनीय–अपूरणीय क्षति भयो । रसुवा–नुवाकोट त्रिशूली नदीकिनार क्षणमै आकुलव्याकुल भयो, बेसहारा बन्यो, भयानक त्रासदी व्याप्त भयो । जनधनको अमूल्य क्षति भयो । हजारौँ वर्षअघिदेखि नदीकिनारमा मानिसका मस्तिष्कका योगदानस्वरूप सिर्जना गरेका मानव सभ्यताका सांस्कृतिक मूल्यवान अवयव क्षणभरमै सुनामी बाढीले निमिट्यान्न बनायो । यदि गत भदौको जस्तै त्रिशूली बाढी आएको थियो भने अनादिकालदेखि मानवजातिका पुर्खाले कैयौँ सुखदुःखबाट आर्जित मानव संस्कृति तथा युगयुगमा समाजले सिर्जना गरेका हाम्रा निधि किनारमा युगौँयुगदेखि आजका दिन अर्थात् एक्काइसौँ शताब्दीसम्म जीवन्त रहने थिए त ? संस्कृति मानव पुर्खाले कैयौँ सुख, दुःख, भोगाइबाट आर्जन गरेको सम्पत्ति हो । भोटेकोशीको प्रलयकारी बाढीले ती हाम्रा युगीन सांस्कृतिक अमूल्य निधि क्षणभरमै स्वाहा भए । इतिहास, संस्कृति तथ्यका आधारमा इतिहासका कालखण्डका यस नदीकिनारमा अवस्थित मानव समाजका अस्तित्वका विषयमा चर्चा गर्ने प्रयत्न गरेको छु ।

पुराण र इतिहास : वेत्रावती र भैरवेश्वर देवीघाट दुवै हिमवत् खण्ड ग्रन्थमा वर्णन छ । हाम्रा पौराणिक साहित्य अति प्राचीन छन्, तर तिथिमिति लेखिएका छैनन्, त्यसैले समय कालखण्ड कुन हो छुट्याउन गाह्रो छ । तापनि तत्कालीन समाज र संस्कृति साथै सामाजिक व्यवस्थाको चित्रण पाइन्छ । तथापि, विद्वान् वर्गले पौराणिक ग्रन्थको समय, कालखण्ड विभाजन गरेको पाइन्छ । विद्वान्को मतअनुसार हिमवत् खण्डमा उल्लेख गरिएका यी ठाउँमा आधारित वर्णन ३५ सय वर्षअघिको हो । यसबाट बुझ्न सकिन्छ–३५ सय वर्षअगाडिबाटै नुवाकोट भेगका त्रिशूली र तादी नदीकिनारमा मानव समाजको अस्तित्व थियो । विश्वका प्राचीन सभ्यता नदीका किनारमा नै विकास भएको पाइन्छ । लिच्छविकालमा नेपालका प्रायः बस्ती नदीकिनारका होचा ठाउँ, उपत्यका, बेँसीमै थिए । सुरक्षाका कारणले मध्यकालमा अग्ला भागका सुरक्षित डाँडापाखामा बस्ती बस्न थालेको इतिहासमा उल्लेख छ । काठमाडौँ उपत्यकामा पाषाण युगीन मानव समाजका अवशेष पाइनु, नुवाकोटको भूगोल काठमाडौँसँगै जोडिएको हुनु र हिमवत् खण्डका ग्रन्थमा यहाँका देवस्थल तपोभूमिका रूपमा वर्णन गरिएको पाइनाले पनि यहाँ मानव समाजको अतिप्राचीन अस्तित्व झल्काउँछ । प्राचीनकालमा नुवाकोटका त्रिशूली र तादी नदीआसपास मानव समाजको अस्तित्व भएकाले नै यहाँका ती नदीकिनार देवीघाट र वेत्रावती पवित्र धार्मिक स्थल बन्न गयो तीन हजार वर्षअगाडि नै । नदीकिनारमा मानव समाज रहेकाले यी दुई नदीका सङ्गमस्थलमा अवस्थित भैरवश्वर देवीघाट (६४ लिङ्गमध्ये एक) र जालपादेवी धार्मिक तथा सांस्कृतिक केन्द्र बन्न गए । त्रिशूली र वेत्रावती (फलाखु) सङ्गममा उत्तरगयाधाम वेत्रावती धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास हुन सम्भव भयो । महत्त्वपूर्ण धार्मिक स्थल देवीघाट त्रिशूली र तादी नदीको सङ्गममा एवम् उत्तरगया, त्रिशूली र वेत्रावती (फलाखु)को सङ्गममा अनादिकालदेखि थिए । देवीघाटको जालपा प्राचीन धार्मिक स्थल हो । प्राचीनकालदेखि नै यी स्थान हिन्दु र बौद्धमार्गी दुवैको आस्था र विश्वासको केन्द्र रहँदै आए । उत्तरगयाधा वेत्रावती पितृका नाममा तीर्थश्राद्ध गरी तर्पण पिण्ड दिने एउटा पवित्र थलो पौराणिककालदेखि नै प्रसिद्धि फैलँदै आएको साथै एउटा सांस्कृतिक केन्द्रको रूपमा परापूर्वकालमै परिचित भइसकेको थियो । यदि भदौ १० गतेको जस्तो प्रलयकारी बाढी उतिवेला गएको हुँदो हो त प्राचीन ती हाम्रा शास्त्रमा त्रिशूली गङ्गाजीको विनाशकारी प्रलय बाढीका घटनाको चर्चाले ग्रन्थमा ठाउँ पाउँथ्यो होला, यद्यपि कतै सुन्न पाइएको छैन । यसर्थ पनि यस नदीकिनारमा ती ऐतिहासिक, पुरातात्त्विक, धार्मिक स्थल ३५ सय वर्षअगाडिदेखि नै अस्तित्वमा थिए भनेर बुझ्न हामीलाई कुनै कठिनाइ छैन । यसपटकजस्तै बाढी उतिवेला ३५ सय वर्षअघि पनि हुँदो हो त यी ठाउँ अनादिकालदेखि वर्तमानयुगसम्म अर्थात् साढे तीन हजार वर्षसम्म उत्तरगयाको रूपमा अस्तित्वमा रहन सम्भव थियो त ?

लिच्छविकालमा केरुङ र कुती : राजा अंशुबर्माको समयमा (विसं ६६१–६७८) नेपाल र तिब्बतबिचको औपचारिक सम्बन्ध यही केरुङ र कुतीको बाटो खुलेपछि सुरु भएको कुरा इतिहासमा वर्णन छ । कुती र केरुङ दुई प्रमुख मार्ग हुँदै नेपाल र तिब्बत, चीनबिच व्यापार चल्दथ्यो । केरुङ प्रवेश गर्ने प्रमुख नाका टिमुरे–रसुवागढी–धुन्चे–वेत्रावती–नुवाकोट हुँदै राजधानी काठमाडौँ तथा दक्षिण एसिया र युरोपसम्म व्यापार गर्दा ओहोरदोहोर गर्ने प्राचीनकालदेखि नै एउटा प्रमुख मार्ग बनेको थियो । ल्हेन्दे खोला तरेर भृकुटी घर र माइती ओहोरदोहोर गर्ने रसुवागढीका यी नै मार्ग थिए । रसुवागढीको यो मार्ग करिब १४ सय वर्षअघिदेखि एउटा औपचारिक अन्तर्राष्ट्रिय मार्गकै रूपमा रह्यो– प्राचीनकालमा सातौँ शताब्दीदेखि आधुनिककालको एक्काइसौँ शताब्दीसम्म । यसपटकको जस्तै प्राचीनकालमा पनि ल्हेन्दे खोला भोटेकोशीमा बाढी चलेको भए यो बाटो हजार वर्षभन्दा बढी सांस्कृतिक, राजनीतिक केन्द्र रहिरहन सम्भव थियो ? यदि यस्तो प्रलयकारीबाढी विगतमा ल्हेन्दे खोलामा हुँदो हो त पक्कै पनि उतिवेलादेखि नै टिमुरे, रसुवागढीको बाटोको विकल्प खोजिन्थ्यो होला ।

मल्लकाल/मध्यकालीन नाका : केरुङ र कुती प्रताप मल्लको समयदेखि करिब दुई सय वर्ष कान्तिपुर राज्यको अधीनस्थ व्यापारिक केन्द्र थिए । टिमुरे रसुवागढीको किल्ला ल्हेन्दे खोलामा अवस्थित नाका नै थियो । मल्लकालदेखिको ढुङ्गाको मजबुत पर्खाल झन्डै चार सय वर्षदेखि ल्हेन्दे खोलाको किनारमै देखिन्थ्यो विसं २०७२ को भूकम्प अघिसम्म । विसं २०७२ को महाभूकम्पमा रसुवागढीको पुरानो किल्ला धेरै भाग पुरिए पनि ल्हेन्दे खोलाको आडमै गढीको पर्खालको ढुङ्गा मोटरबाटो पुलबाट देखिन्थ्यो । जङ्गबहादुर राणाको समयमा बनेको किल्ला भने भूकम्पपछि नेपाली सेनाले जीर्णोद्धार गरेको त्यस किल्लामा चन्द्रसूर्यअङ्कित नेपालको राष्ट्रिय झन्डा फहराइरहेको थियोे । भदौ १० कै जस्तो प्रलयको बाढी उतिवेला पनि गएको हुँदो त मल्लकालीन, शाहकालीन, राणाकालीन (चार सय/२३५/१७२ वर्ष अघिदेखिका) ती किल्लाका पर्खालका ढुङ्गा पक्कै बढारिन्थे । पुरातात्त्विक महत्त्वका ती गढी सत्रौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्म जीवन्त इतिहास बोकेर त्यहाँ अस्तित्वमा रहने थियो त ?

फलाँखुको पुल : मोटरपुल (विसं २०३७ तिर बनेको) बन्नुभन्दा अघिको झोलुङ्गे पुलको अवशेषपछिसम्म पनि त्यहाँ छँदै थियो । त्यहाँ फलामे झोलुङ्गे पुल राणाकालको अन्ततिर बनेको बुझिन्छ । त्यसभन्दा अघि त्यही ठाउँमा काठको पुल थियो । झोलुङ्गे पुल बन्नुभन्दा पहिला खोलामा काठको पुल, फट्के राख्ने प्रचलन युगौँयुग चल्यो । फलाँखु र ल्हेन्देमा पनि उहिलेदेखि काठकै पुल भएको बुझिन्छ । पहराको आड, कडा चट्टान, ठुला ढुङ्गाको आड, खोला अलि साँघुरो परेको ठाउँ हेरेर काठको पुल फट्के हालिँदोरहेछ उतिवेला । वेत्रावती पुरानो बजारको पुलको एकातिर पनि त्यस्तै चट्टानकै आडमा थियो । यो पुलको बाटो नेपाल र तिब्बत, चीनबिच व्यापार चल्ने प्राचीन समयदेखिकै अन्तर्राष्ट्रिय मार्गमा थियो । पहिले झोलुङ्गे पुल बनेको ठाउँको चट्टान कहाँ थियो । अहिले त्यस ठाउँको निसाना केही जान्न सकिएला त ? यस तथ्यबाट पनि भदौ १० गतेको जस्तै बाढी ऐतिहासिक कालखण्डमा नआएको बुझ्न कठिनाइ पर्दैन ।

साँघु र वेत्रावती बजार : त्रिशूली साँघुबजार जङ्गबहादुर राणा प्रधानमन्त्रीको बनेको समयदेखि रहेको बुझिन्छ । यदि १६०/१७० वर्षअगाडि यसपटकको जस्तै बाढी आएको भए त्यस ठाउँमा बजार बस्न सम्भव हुने थियो त ? यस वर्षको जस्तो प्रलयकारी बाढीको भय देख्नु र भोग्नुपरेको भए पक्कै पनि वेत्रावती बजार र त्रिशूली बजार दुवै त्रिशूली नदीकिनारमा विकास हुने थियो त ? वेत्रावती बजार, त्रिशूलीबजारभन्दा पनि पुरानो भन्ने बुझिन्छ ।

सन्धि ढुङ्गा : नदीको कडा छालसँग छुत्ती खेल्दै जरो गाडेर बसेको त्यो अजङ्गको कालोढुङ्गा कति सय वर्ष या कति हजार वर्ष अगाडिदेखि त्यहीँ वेत्रावतीमा त्रिशूली गङ्गाकिनारमा थियो बताउन सकिँदैन । त्यो ढुङ्गामाथि बसेर नेपाल र चीनबिच सन्धि भएको (वेत्रावती सन्धि वि.सं. १८४९ भदौ) भन्ने जनश्रुति पाइन्छ । यो आजभन्दा दुई सय ३५ वर्षअघिको इतिहास थियो । भदौ १० गतेको जस्तो बाढी दुई सय ३५ वर्षअघि नै गएको भए उहिले नै त्यो ढुङ्गाले त्यहाँ वास पाउँथ्यो त ? त्यो अजङ्गको कालो ढुङ्गा भदौ १० गते त्यहाँबाट बढारेर बाढीले ३०औँ किलोमिटर तल महादेवबेँेसी पु¥याएको सामाजिक सञ्जालको भिडियोमा देखाएको छ, आश्चर्य लाग्दो छ । संयोग नै भन्नुपर्छ दुःखद घटना भीषण युद्ध भदौ ८ (विसं १८४९) र प्रलयकारी हिमसुनामी बाढी भदौ १० (विसं २०८३) दुवै भदौ महिना नै परेको छ ।

त्रिशूलीको पक्की पुल र जलविद्युत्गृह : यी ठुला संरचना दोस्रो त्रिवर्षीय योजनामा सम्पन्न भएका हुन् । विसं २०१८ मा मनी गाउँको पाखै बगेर ठुलो पहिरो जाँदा सिधा तल बगेकी त्रिशूली गङ्गा थुनिएर ठुलो बाढी जाँदा त्रिशूलीको साँघु र केही घर बगाएको ठुलो घटना नुवाकोट भेगका बुढापाकाको मानसपटलमा बिर्सनै नसक्ने घटनाको रूपमा रहेको आजपर्यन्त सुनिँदै आएको छ । यसपटकको जस्तो प्रलयकारी बाढी ६२ वर्षअघि आएको भए त्रिशूली पावरहाउस, त्रिशूली पुल, १ नम्बर र २ नम्बर पुल (अक्करे र आँगुटार तलको बेँसीका दुवै पुल, ठुलो नहरको पानी तारेको पुल) र हेडगेट (तुप्चेमा) त्यो उचाइ र त्यही ठाउँमा बन्थ्यो होला र ? पक्कै पनि त्यतिवेला नै हाइड्रोप्रोजेक्टको पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन त ?

उल्लेखित ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक केही तथ्य ६१ वर्षदेखि, एक सय ७० वर्ष, दुई सय ३५ वर्ष, चार सय वर्ष, १४ सय वर्ष हुँदै ३५ सय वर्ष अगाडिका हुन् । हिमवत् खण्डमा उल्लेख गरिएका ३५ सय वर्षअगाडिका तथ्यका आधारमा दृष्टि दिँदा ३५ सय वर्षअघि पनि भदौ १० गतेको जस्तो बाढी त्रिशूली नदिमा आएको कतै देखिँदैन ।ऐतिहासिक कालखण्डमा १४ सय वर्षअगाडि लिच्छविकालमा अंशु बर्माको शासनकाल पनि भदौ १० गतेको जस्तो बाढी भोटेकोशीमा गएको बुझिँदैन । किनकि ल्हेन्दे खोलाकिनारमै जोडिएको मल्लकालका चार सय वर्षअघिको शाहकाल तथा राणाकालका क्रमशः दुई सय ३५ वर्ष र एक सय ७२ वर्षअगाडिको रसुवागढीका ढुङ्गाका पर्खालका किल्ला यथास्वरूपमै थिए । यी ऐतिहासिक तथ्यले के देखाउँछन् भने यसपटकको जस्तो महाप्रलय भनौँ या हिमनदी सुनामी प्राचीनकालदेखि आधुनिककालसम्म कुनै पनि कालखण्डमा आएको देखिँदैन भन्ने यो लेखको सार हो । (लेखक ऐतिहासिक केही गढी (नेपाल–चीन, तिब्बत युद्ध विसं १८४९ सम्बन्धित) शीर्षक पुस्तकका लेखक हुनुहुन्छ ।) सूर्यगढी, नुवाकोट हाल अमेरिका)

प्रतिक्रिया

लेखकको बारेमा

शिवबहादुर भण्डारी