विदुर । गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली नदीको विध्वंसकारी हिमबाढीले रसुवा-नुवाकोटका सबै पुल बगाएपछि त्रिशूली वारपार गर्न यस क्षेत्रका लागि तुइन एक मात्र विकल्प बनेको छ । बाढी आएको डेढ हप्तापछि नुवाकोटका दुई र रसुवाका दुई स्थानमा पूर्वाधार विकास मन्त्रालयले तुइन जडान गरेको थियो । सरकारको नेपाललाई तुइनमुक्त देश बनाउने योजना राखे पनि बाढीले कैयौँ पक्की पुल तथा झोलुङ्गे पुल भत्काउँदा बाध्यताले तुइन राख्नुपरेको देखिन्छ । भोटेकोशी–त्रिशूली बाढीले रसुवागढीदेखि देवीघाट–विदुरसम्मका सबै पुल भत्काएकाले ती ठाउँमा तत्कालका लागि तुइन राखिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका योजना प्रमुख शंकर बुढाथोकीले जानकारी दिनुभयो ।


बाढीपछि नुवाकोटको विदुर-५ देवीघाट, विदुर-१२ गौरीबेँसी र विदुर-१ इन्द्रायणीचौर त्रिशूली तथा रसुवाका हाँकुबेँसी र स्याफ्रुबेँसीमा केबुलकार प्रकृतिको सुरक्षित तुइन राखिएका छन् । दुई जिल्लाका चार स्थानमा जडान भएका तुइन चढ्न भने तीन-चार घण्टा लाम लाग्नुपर्ने अवस्था छ । तुइन निर्माण नहुँदा त्रिशूलीपारि राहत तथा अन्य अत्यावश्यक सामान ओसारपसारमा हेलिकोप्टर प्रयोग गरिएको थियो । तुइन निर्माणपछि सामान ओसारपसारमा खर्च कम भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । सस्पेन्सन ब्रिज डिभिजन योजनाका प्रमुख बुढाथोकीले भन्नुभयो, ‘आगामी एक वर्षभित्र तुइन राखिएको स्थानमा तुइन विस्थापन गर्ने सरकारको योजना रहेको छ ।’ डिभिजन कार्यालयले चार ठाउँमा तुइन विस्थापन गरी पुल बनाउने प्रस्ताव तयार गरेर मन्त्रालय पठाएको छ । मन्त्रालयले उक्त प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम सुरु गरिने उहाँले बताउनुभयो । मन्त्रालयले देवीघाट तल रहेको छत्रे खोला र रातमाटेको झोलुङ्गे पुल मर्मत गरी गत हप्तादेखि सञ्चालनमा आएको छ । झोलुङ्गे पुल सञ्चालनमा आएपछि त्रिशूलीपारिको जनजीवन केही सहज भएको तारकेश्वर गाउँपालिकाका उपप्रमुख हरिप्रसाद रिमालले बताउनुभयो ।





प्रतिक्रिया