धुन्चे । गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढी तथा पहिरोबाट प्रभावित रसुवावासीलाई उत्तरगया गाउँपालिकामा निःशुल्क दन्त तथा स्वास्थ्य शिविर रसुवा सामुदायिक विकास र सिइटिओपी अस्ट्रेलियाको आयोजनामा सम्पन्न भएको छ । स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले गरिएको शिविर उत्तरगया गाउँपालिकाको समन्वयमा गत शनिबार भएको थियो ।



विपत्पछि प्रभावित समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने र सर्वसाधारणलाई आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । शिविरमा विशेषगरी बाढी प्रभावित क्षेत्रका नागरिकसहित स्थानीय बासिन्दालाई लक्षित गरी दन्त उपचार, स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण सेवा उपलब्ध गराइएको थियो । असोज १७ र १८ गते दुई दिन सञ्चालन हुने दन्त शिविरमा दाँत तथा मुख स्वास्थ्य परीक्षण, दाँत भर्ने, फुकाल्ने र आवश्यक परामर्श सेवा दिएको थियो । अनुभवी चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्शका साथै दीर्घरोग तथा अन्य समस्याका कारण नियमित औषधि सेवन गरिरहेका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको आयोजक सामुदायिक विकास संस्थाका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । ६ दिनसम्म सञ्चालन हुने शिविरअन्तर्गत असोज १९ र २० गते जिबजिबेमा तथा असोज २१ र २२ गते धुन्चेमा स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । यस क्रममा बाढी तथा पहिरोबाट प्रभावित नागरिकसँगै स्थानीय समुदायलाई स्वास्थ्य परीक्षण, दन्त उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ । उत्तरगया–५, लहरेपौवास्थित शिवालय आधारभूत विद्यालयबाट सुरु भएको शिविरलाई प्रभावित क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउने गरी विभिन्न स्थानमा विस्तार गरिने बताइएको छ ।





प्रतिक्रिया