विदुर । गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीको विनाशकारी हिमबाढीले त्रिशूलीबजार वारपार गर्ने मोटरेबल पुल बगाएपछि आवत–जावतमा स्थानीयवासीलाई परिरहेको कष्ट बुधबारबाट हटेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले विदुर–१, ढुङ्गे र त्रिशूलीबजार सिरानमा झोलुङ्गे पुल निर्माण गरेपछि यस क्षेत्रका बासिन्दालाई आवत–जावतमा सहजता भएको हो ।


बाढीपछि त्रिशूली वारपार गर्न देवीघाट–खड्गभन्ज्याङ, गौरीबेँसी–विदुर र इन्द्रायणीघाट–त्रिशूली गुम्बामा तुइन र इन्द्रायणीघाट–त्रिशूलीमा जिपलाइन जडान गरिएको थियो । तुइनमा वारपार गर्न घण्टौँ पालो पर्खनुपर्ने समस्या हटेको छ । नेपालको इतिहासमै एक महिनामा झोलुङ्गे पुल निर्माण गरी सञ्चालन भएको यो पहिलो रहेको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकले दाबी गरेको छ । झोलुङ्गे पुल निर्माणका लागि एक हप्ता जग खन्न लागेको थियो । असोज १ गते वारिपारि जग पूजा गरी सुरु गरेको पुल २९ दिनमा निर्माण सम्पन्न भएको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिनुभयो । बिहीबार बिहानदेखि सर्वसाधारणलाई आवतजावत खुला गरिएकोसमेत उहाँले बताउनुभयो ।

लाङटाङ लिरुङ हिमपहिरोपछिको भोटेकोशी–ल्हेन्दे–त्रिशूली बाढीपछि महासङ्घको आर्थिक सहयोगमा बाढी प्रभावित क्षेत्र विदुर–१ स्थित बुद्ध मन्दिर, बान्द्रेदेखि इन्टेक डिल, त्रिशूलीबजारको सिरान जोड्ने झोलुङ्गे पुल एक महिनामै निर्माण सम्पन्न भइसकेको छ । विदुर नगरपालिका कार्यालयको विशेष सहयोग र नुवाकोट निर्माण व्यवसायी सङ्घको समन्वयमा पुल निर्माण सम्पन्न भएको हो । सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक, ललितपुर र पूर्वाधार विकास कार्यालय विदुर, नुवाकोटको प्राविधिक सहयोगमा निर्माणाधीन दुई सय ६७ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि नुवाकोटसहित छिमेकी जिल्लाका एक लाखभन्दा बढी मानिस लाभान्वित भएको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । यसबाट नुवाकोट जिल्ला अस्पतालसहित किस्पाङ र म्यागङ गाउँपालिका तथा विदुर–३, १२, १३, ७, ८ र ९ का भूभागसँग विच्छेद भएको सम्पर्क पुनस्र्थापना भएको छ ।
शुक्रबार महासङ्घका अध्यक्ष निकोलस पाण्डेले पुल निर्माणको निरीक्षण गरी विधिवत् शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । पुलको जडान भई सञ्चालन भए पनि विन गाई (लठ्ठाको पखेटा) वारिपारि जडान गर्न, स्ल्याब र सिँढी बनाउने काम बाँकी रहेकाले दसैँपछि सो काम पूरा हुनेसमेत सङ्घका अध्यक्ष प्याकुरेलले जानकारी दिनुभएको छ । पुलबाट सुरुमा मानिस मात्रै आवतजावत गर्न दिने गरी प्रशासनले सुरक्षाकर्मी खटाएको छ । सुरुमा स्कुटर, मोटरसाइकललाई आवतजावतमा प्रतिबन्द लगाइएको छ । पुल वारिपारि सुरक्षाकर्मी खटाएर सुरक्षा दिइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बाढीपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले प्रदेश सरकारको सहयोगमा जिल्लामा दुईवटा झोलुङ्गे पुल मर्मत, चार स्थानमा सुरक्षित तुइन जडान र त्रिशूलीमा जडान भएको जिपलाइनका लागि प्राविधिक सहयोग गरेको कार्यालयका सूचना अधिकारी रविन खातीले जानकारी दिनुभयो । अहिले देवीघाट, बट्टार, हावाघर, गौरीबेँसी, इन्द्रायणीघाटमा तुइन सञ्चालनमा रहेको छ । त्रिशूली नदी वारपार गर्न विदुर–१० तिरतिरेभिर र विदुर–७ चनौटे अँधेरीखोला, विदुर–२ सिमचौर र विदुर–१२ गौरीबेँसी लगभग दुई सय ५० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि टेन्डर प्रक्रिया तयारी गरिएको सूचना अधिकारी खातीले बताउनुभयो । देवीघाटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले झोलुङ्गे पुल निर्माण कार्य थालेको छ । सो स्थानमा निर्माण भएको पुल तिहारअगाडि सञ्चालनमा आउने बताइएको छ ।





प्रतिक्रिया