विदुर । विदुर-१ त्रिशूलीबजारका बौद्ध उपासक धर्मरत्न शाक्य ‘त्रिशूली’ले लेख्नुभएको त्रिशूलीबजार सङ्क्षिप्त परिचय पुस्तक प्रकाशित भएको छ । ‘त्रिशूलीमा बुद्ध धर्मको विस्तार एवम् सुगतपुर विहारको सङ्क्षिप्त परिचय र गतिविधि’ तथा ‘त्रिशूलीबजार तथा त्रिभुवन त्रिशूली व्यावसायिक माध्यमिक विद्यालयको सङ्क्षिप्त परिचय’ पुस्तक संयुक्त प्रकाशन भएको हो ।


बौद्ध उपासक शाक्यले विसं २०३२ र २०६२ मा प्रकाशन गर्नुभएको छुट्टाछुट्टै प्रकाशित पुस्तकलाई एकीकृत गरी भोटेकोशी–त्रिशूली हिमबाढीपछि प्रकाशन गर्नुभएको छ । त्रिशूलीबजार तथा त्रिभुवन त्रिशूली व्यावसायिक माध्यमिक विद्यालयको सङ्क्षिप्त परिचय वि.सं. २०३२ र त्रिशूलीमा बुद्ध धर्मको विस्तार एवम् सुगतपुर विहारको सङ्क्षिप्त परिचय र गतिविधि विसं २०६२ पुस्तकलाई एकीकृत गरी संयुक्त प्रकाशन गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाज लुम्बिनीले प्रकाशन गरेको पुस्तक ८० पृष्ठको रहेको छ । सुगतपुर विहार संरक्षण समितिका सल्लाहकार एवम् त्रिशूलीबजारमा जन्मनुभएका भिक्षु मैत्री महास्थविरको सल्लाह र लेखक श्याम रिमालको सुझावमा प्रकाशित पुस्तक त्रिशूलीबजारको इतिहास बुद्ध धर्मको विस्तार र नुवाकोट-धादिङ-रसुवा क्षेत्रकै पहिलो विद्यालय त्रित्रि माविबारे जान्न, बुझ्न र खोज्नका लागि उपयोगी रहेको छ । पुस्तकले त्रिशूलीको पूर्ण इतिहास प्रकाशनमा ल्याउन परिपूरकको भूमिका खेल्नेछ र त्रिशूलीको ऐतिहासिक सांस्कृतिक, शैक्षिक र धार्मिक इतिहास बुझ्नलाई टेवा पुग्ने सर्वोदय नेपालका अध्यक्ष शाक्य सुरेनले बताउनुभयो । त्रिशूलीमा बुद्ध धर्मको विस्तार एवम् सुगतपुर विहारको सङ्क्षिप्त परिचय र गतिविधिका प्रकाशक प्रेमरत्न शाक्य र त्रिशूलीबजार तथा त्रिभुवन त्रिशूली व्यावसायिक माध्यमिक विद्यालयको सङ्क्षिप्त परिचयको प्रकाशक त्रिभुवन त्रिशूली व्यावसायिक माध्यमिक विद्यालय रहेको थियो । दुवै किताब धर्मरत्न शाक्यले लेख्नुभएको हो । दुवै पुस्तकलाई एकीकृत परेर पुनः अन्तर्राष्ट्रिय बौद्ध समाजले प्रकाशित गरेको सुगतपुर विहार संरक्षण समिति त्रिशूलीबजार नुवाकोटका अध्यक्ष आनन्दराज शाक्यले जानकारी दिनुभयो ।






प्रतिक्रिया