काभ्रेपलाञ्चोक जिल्लाको बनेपा–धुलिखेल जाने बाटोमा धनेश्वर मन्दिर पर्छ । सो महादेव मन्दिरमा लाग्ने मेला नेपालभर प्रसिद्ध छ ।


विसं २००७ मा कोलकाताबाट फर्केपछि फागुन महिनामा परेको शिवरात्रिको अघिल्लो दिन म मेरा दुई दिदी चन्द्रकुमारी र चुत्रकुमारी, डाँडाघरकी ठुली दिदी (फुपू) बाटुुली र पुरानो घरकी दुल्है आमा (बगुवाका शिवगुरुकी माइजू सासू) लिएर म धनेश्वरका लागि हिँडेँ । हामी काठमाडौँस्थित घण्टाघरबाट लहरीमा चढी जनही ५० पैसा तिरेर साँगा भन्ज्याङसम्म गयौँ र त्यहाँबाट धनेश्वरतिर लाग्यौँ । साँगा भन्ज्याङको उकालो लाग्न लाग्दा म भोकले गलित भएँ । अनि दिदीहरूले भन्नुभयो, ‘तिमी १५ वर्षका केटाकेटी नै छौ, तिमीले खान हुन्छ ।’ त्यसपछि उहाँहरूले मलाई चिउरा, चिनी र घिउ खान दिनुभयो र मैले मजासँग खाएँ ।

हामी त्यहाँबाट हिँडेर धनेश्वर पुग्यौँ र राति त्यहीँ बत्ती बालेर पूजा गरी बस्यौँ । त्यसबखत त्यहाँ २०-२५ धर्मात्मा महिला पुगेका रहेछन् । मेरा ससुराली खलकका महिलाहरू पनि नखाई भोकै गएका रहेछन् । ‘गोदान नगरी के खानु’ भन्ने लागेर उनीहरू त्यत्तिकै बसिरहेका थिए । मैले गोदान गराउन जानेको थिएँ र गराइदिएँ, अनि दक्षिणा पनि पाएँ । मन्दिर दर्शन गर्दा अरूहरूले के-के वर मागे मलाई थाहा भएन, तर मैले भने ‘मलाई म्याट्रिकुलेसन (पछि एसएलसी/एसइईसरह) पास गराइदिनोस् भगवान्’ भनेर मागेँ ।
त्यसबखत मेरा बा जनरल दमनशमशेर राणा, जो कोलकातामा कन्सुलेट जनरल हुनुहुन्थ्यो, काम गरी बस्नुहुन्थ्यो । त्यसपछि म पनि कोलकाता गएँ र २०१० सालमा म्याट्रिक पास गरी काठमाडौँ फर्केँ । त्यसपछि जब-जब म धनेश्वर गएँ, गाडी रिजर्भ गरेर नै गएँ र त्यसले द्यौता थानसम्म पु¥याइदिने गथ्र्याे ।
यसपालि भने धनेश्वर महादेवले राति सपनामा ‘मेरो दर्शन गर्न आइज’ भनी बोलाउनुभयो । विदेशबाट फर्केपछि म प्रायः धनेश्वर पुगेकै हुन्छु, हालसम्म करिब १५ चोटि त पुगो हुँला । विसं २०८३ साउन २५ गतेचाहिँ सोमबार परेकाले गाडी भाडामा लिएर चालकसहित मेरी धर्मपत्नी र भतिजा राममणिकी दुलही अर्थात् मेरी बुहारी शारदा खतिवडासमेत गएका थियौँ, तर त्यहाँ दर्शन गर्न जाने भक्तालु १५-२० हजार पुगेका रहेछन् र पुलिसले माथि मन्दिरसम्म गाडी जान दिएन । म ९२ वर्षको बुढो मान्छे, त्यस उकालोमा हिँडेर जानुप¥यो, तैपनि महादेवको दर्शन गरेर नै फर्केँ ।
मैले धनेश्वरको दर्शन गर्न जाँदा बाटामा खाएर गए पनि भगवान्ले मेरो मनोकामना पूरा गरिदिनुभएकाले त्यस दिनदेखि ‘नखाएर धर्म हुने होइन’ रहेछ भन्ने ज्ञान मलाई भयो । ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ को भावना बोकी दुःखी, अनाथ र वृद्धवृद्धाको सेवा गर्नुपर्ने रहेछ भन्ने लागेर मैले सोहीअनुरूप नै काम गर्दै आइरहेको छु । मैले यसपालिचाहिँ मेरी ९१ वर्षीया पत्नी कृष्णकुमारीको बिर्सने रोग निको होस् भनी भगवान्सँग वर मागेको छु । हेरौँ, उनले पु¥याउने नै छन् । (विसं २०८३ कार्तिक १७ तारकेश्वर-५ कल्लेरीडाँडा, हाल : विदुर-४ भीमसेनमार्ग पुरानो पार्टी, बट्टार, नुवाकोट)





प्रतिक्रिया