+
Search

ताजा अपडेट +

पपुलर +

पाठकपत्र : त्रिशूलीलाई पुरानै बहाबमा फर्काऔँ, स्थानीयवासीको थातथलो जोगाऔँ

पाठकपत्र : त्रिशूलीलाई पुरानै बहाबमा फर्काऔँ, स्थानीयवासीको थातथलो जोगाऔँ
आरसी रामचन्द्र
८ मिनेट अगाडी

गत भदौ १० गते भोटेकोसी-त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले त्रिशूली नदीको प्राकृतिक बहाबमा ठुलो परिवर्तन ल्याएको छ । बाढीपछि त्रिशूली नदी आफ्नो पुरानो बहाब क्षेत्रभन्दा करिब एक सयदेखि दुई सय मिटर माथिल्लो भागबाट बगिरहेको वर्तमान अवस्था देखिन्छ । यसले नदीको प्राकृतिक स्वरूप मात्र होइन, आसपासका बस्ती, खेतीयोग्य जमिन, सडक, पुल, घर तथा स्थानीय बासिन्दाको जीवनमा समेत गम्भीर असर पारेको छ । यो विपत्तिलाई केवल नदीको बहाब परिवर्तन भएको घटनाका रूपमा मात्र हेर्न मिल्दैन । यससँग हजारौँ स्थानीयको जीवन, पुस्तौँदेखि बसोबास गर्दै आएको थातथलो, पुर्खाले जोडेको सम्पत्ति, खेतीपाती, सामाजिक सम्बन्ध र भविष्य जोडिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

स्थानीय बासिन्दाका लागि घर भनेको केवल इँटा, ढुङ्गा र माटोले बनेको संरचना होइन । त्यो उनीहरूको पुर्खाको इतिहास हो, बाल्यकालको सम्झना हो, जीवनभरको मिहिनेत र पसिनाले निर्माण गरेको सम्पत्ति हो । पुस्तौँदेखि बस्दै आएको आफ्नो गाउँ, खेतबारी र घरआँगन छाड्नुपर्ने अवस्था सिर्जना हुनु उहाँहरूका लागि अत्यन्त पीडादायी विषय हो । बाढीले भौतिक संरचना मात्र होइन, मानिसको सपना, आशा र सुरक्षित भविष्यसमेत प्रभावित बनाएको छ । त्यसैले अब सरकारले त्रिशूली नदीलाई सम्भव भएसम्म पुरानै प्राकृतिक बहाब क्षेत्रमा फर्काउने योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । यसका लागि सम्बन्धित प्राविधिक तथा भूगर्भविद्बाट तत्काल स्थलगत अध्ययन र आवश्यक मूल्याङ्कन गराउनुपर्छ । अध्ययनबाट सम्भव देखिएमा करिब १२ देखि १५ वटा निर्माण कम्पनीलाई नदीको उपयुक्त खण्डअनुसार एक-एक किलोमिटर क्षेत्रको जिम्मेवारी दिएर आवश्यक उत्खनन तथा व्यवस्थापनको काम गर्न सकिन्छ । उत्खननबाट निस्कने ढुङ्गा, गिट्टी, बालुवा तथा अन्य सामग्रीको सुरक्षित निकास र व्यवस्थापनको स्पष्ट व्यवस्था पनि सरकारले गर्नुपर्छ । व्यवस्थित योजना, पर्याप्त स्रोत परिचालन र प्रभावकारी समन्वयबाट त्रिशूलीको पुरानो बहाब क्षेत्र पुनस्र्थापना गर्ने सम्भावनाको खोजी गर्न सकिन्छ । तर, नदीको बहाब फर्काउने प्रयाससँगै बाढीबाट प्रभावित स्थानीयको घरजग्गा, सम्पत्ति र बस्तीको पुनर्निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । नदीको पुरानो बहाब क्षेत्र सुरक्षित गर्न सकिने स्थानमा आवश्यक संरक्षण तथा पुनर्निर्माणका काम अघि बढाउनुपर्छ । जोखिमयुक्त क्षेत्रमा भने स्थानीयको जीवन र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उचित पुनर्वास, क्षतिपूर्ति र जीविकोपार्जनको व्यवस्था गर्नुपर्छ ।

Suzuki New Bike & Scooter

सरकारले स्थानीय जनताको आवाज सुन्नुपर्छ । उहाँहरूको वास्तविक क्षति, आवश्यकता र भावनालाई बुझेर योजना बनाउनुपर्छ । सदियौँदेखि बसोबास गर्दै आएको आफ्नो थातथलो जोगाउन चाहने नागरिकको भावनालाई बेवास्ता गरेर कुनै पनि पुनर्निर्माण योजना सफल हुन सक्दैन । आज स्थानीयले आफ्नो घर, खेतबारी र भविष्य जोगाइदिन सरकारसँग आशा गरिरहनुभएको छ । उहाँहरू केवल राहतको प्रतीक्षामा हुनुहुन्न, उहाँहरू आफ्नो जीवन फेरि पुरानै लयमा फर्किएको हेर्न चाहनुहुन्छ । आफ्नै गाउँमा सुरक्षित रूपमा बस्न, आफ्नो जमिनमा खेती गर्न र आफ्ना सन्तानलाई त्यही माटोमा भविष्य निर्माण गर्ने अवसर दिन चाहनुहुन्छ । यो केवल त्रिशूली नदीको बहाब व्यवस्थापनको विषय होइन; यो स्थानीय नागरिकको सम्पत्ति, अधिकार, पहिचान र पुस्तौँदेखिको सभ्यताको संरक्षणसँग जोडिएको विषय हो ।

सरकारले ढिलाइ नगरोस् । त्रिशूलीको प्राकृतिक बहाब पुनस्र्थापनाको सम्भाव्यता अध्ययन गरोस्, प्रभावित बस्तीको पुनर्निर्माण गरोस् र स्थानीय जनताको घर, सम्पत्ति तथा थातथलो जोगाउन ठोस कदम चालोस् । किनकि नदीको बाटो व्यवस्थित गर्नु जति आवश्यक छ, त्यति नै आवश्यक आफ्नै माटोमा सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने जनताको अधिकार जोगाउनु पनि हो । त्रिशूली बचाऔँ, स्थानीयको थातथलो जोगाऔँ, प्रभावित जनताको भविष्य पुनर्निर्माण गरौँ । विदुर-१३, हर्कपुर, नुवाकोट, हाल : काठमाडौँ, एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष 

प्रतिक्रिया

लेखकको बारेमा

आरसी रामचन्द्र