विदुर । गत भदौ १० गते भोटेकोसीमा बाढी आउनुभन्दा अघिसम्म सवारीसाधन जाम हुने ढुङ्गेको पेट्रोल पम्प चोक अहिले अस्थायी बसपार्क बनेको छ । यातायात व्यवसायी र स्थानीयवासीले पेट्रोल पम्प चोकसँगै यातायात साधनको पार्किङस्थल बनाएका छन् । भोटेकोसी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले नुवाकोटको त्रिशूलीतटीय क्षेत्रको स्वरूप नै बदलिदिएपछि त्यसो गर्नुपरेको विदुर-१ का वडासदस्य राम श्रेष्ठले जानकारी दिनुभयो ।


बाढीअघिको विदुर-१, ढुङ्गेमा कार्यालय समयमा सवारीसाधन रोक्न निषेध गरिएको थियो । बजार क्षेत्रमा सडक जाम हुने भएकाले ट्राफिक प्रहरीले ओर्लने, उक्लनेबाहेक अन्य प्रयोजनका लागि सवारीसाधन रोक्नलाई निषेध गरेको थियो । रसुवा प्रवेश गर्ने सडक रहेको ढुङ्गेसँगै त्रिशूली नदी पार गर्ने दुई पक्की मोटरेबल पुल थिए । ढुङ्गेसँगैको गुम्बाबाट झोलुङ्गे पुल असोज अन्तिमदेखि सञ्चालनमा आएपछि त्रिशूलीपारिका बासिन्दाको आवतजावत हुन थालेको छ ।

ढुङ्गेको सडकभन्दा माथिल्लो भाग बाढीले नछोएको र केही सुरक्षित रहेकाले स्थानीय व्यवसायीले घर, पसल, कवल सफा गरेर बस्न र व्यवसाय सञ्चालन गर्न सुरु गरिसकेका छन् । सरकारले पुनस्र्थापनाका बारेमा कुनै योजना नल्याएपछि बाढीले पूर्ण क्षति पु¥याएको बट्टारको तल्लो क्षेत्र देवीघाट, वेत्रावती र त्रिशूलीबजारको माथिल्लो भागमा स्थानीयवासीले बाँकी रहेका घर, पसल सफा गरेर बस्न र व्यवसाय सञ्चालन सुरु गरिरहेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । बाढीपछिको यातायात व्यवस्थापनमा आएको परिवर्तनसँगै ढुङ्गेबजार अहिले यात्रु तथा सवारीसाधनको अस्थायी आवागमन केन्द्र बनेको स्थानीय नवीनकृष्ण राजभण्डारीले बताउनुभयो ।





प्रतिक्रिया