नेपाल भ्रमण वर्ष २०२० का चुनौती

-फुर्पा तामाङ

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्ष घोषणाले पर्यटन क्षेत्रको विकास हुने अनुमान गरिएको छ । भ्रमण वर्ष त घोषणा गरेका छन् तर त्यसका लागि गरिनुपर्ने आवश्यक तयारी भने चित्तबुझ्दो देखिन्न । भ्रमण वर्षको लक्ष्य र उद्देश्य विदेशी तथा स्वदेशी पर्यटकलाई नेपालका विभिन्न भागमा भ्रमण गराउने भन्ने नै हो । यसका लागि के कति पूर्वाधार तयार गरेका छन् ? त्यसले खास अर्थ राख्दछ ।

नेपाल विश्वका प्राकृतिक तथा मानव समुदायमध्ये सुन्दर र आकर्षक देशमा पर्दछ । यहाँको जैविक विविधता, स्वच्छ वातावरण, हिमाल, पहाड र तराईका भू–दृश्य एवं मानव समुदायले सबैलाई आकर्षण गर्दछन् । यद्यपी यतिले मात्र पर्यटकलाई नेपाल भ्रमण गराउन पर्याप्त हुँदैन । निश्चय यी आकर्षण र सौन्दर्यका चीजवस्तु हेर्नका लागि नेपाल आउने रहर हुन्छन् । तर आफूहरु आउनु पूर्व नेपालले विकास गरेका भ्रमण क्षेत्रको पूर्वाधार विकास, सेवा, सुविधा आदिलाई बुझेर मात्र आउने गर्छन् । यसो हुँदा सोचे जति पर्यटक नेपाल भित्राउन सकिन्न । जो साहसिक पर्यटक छन्, ती आउन सक्छन् । आएकाले राम्ररी सेवा, सुविधा र सुरक्षाको अनुभूति गर्न सकेनन् भने उनीहरु फर्केर आफ्नो देशमा जाँदा नकारात्मक सन्देश लिएर जान्छन् । यसकारण पनि सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल हुन निकै चुनौती छ ।

अतः सरकारले कम्तीमा पनि नेपाल भ्रमण वर्षलाई सफलता दिने हो भने कम्तीमा निम्न कुरालाई ध्यान दिन जरुरी छ : 
१. ब्यर्थको स्वागत गेटहरु बनाइनु हुँदैन : पर्यटकलाई स्वागत गर्न ठाउँ–ठाउँमा स्वागत गेटहरु बनाउन शुरु गरेका छन् । यो परम्परागत स्वागत गर्ने तरिका हो । यसले खासै अर्थ दिँदैन । बरु कंक्रिट, रड र सिमेन्टको धुलो बढाउन यसले मद्दत गर्नेछ । यसैगरी खर्चिलो हुनेछ । केही ठेकेदारले काम पाउने छन् । संलग्न कर्मचारीले केही कमिशन रकम पाउँलान् । बरु उनीहरु पर्यटकका सुविधाका लागि आधुनिक सुविधा सम्पन्न भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानस्थल, सडक र पैदल यात्राका लागि सजिला गोरेटा बाटोहरु बनाउनु उपयुक्त हुन्छ ।

२. सेवा र सुविधा दिन सक्ने होटल, लज र होमस्टे बनाइनुपर्छ : विदेशी पर्यटक भन्दैमा सबै धनी हुँदैनन् । कोही भने असाध्यै धनी पनि हुन्छन् । खर्च गर्न क्षमता हेरेर उनीहरुका निम्ति महँङ्गा र सस्ता दुबै खालका होटल, लज र ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गरिनुपर्दछ । प्रायः जसो नेपालका होटलमा राम्रो सेवा र सुविधाको कमी देख्न सकिन्छ । पर्यटक बस्ने होटल, लज र होमस्टेमा होटल सञ्चालनका लागि चाहिने आधारभूत सेवा र सुविधा दिए मात्र उनीहरु रमाउन सक्छन् ।

३. अतिथि सत्कारमा कन्जुस्याईं गरिनु हुन्न : कम्तीमा पनि भ्रमण वर्षभरी अतिथि सत्कारमा कन्जुस्याईं गर्नुहुँदैन । नेपाल सामाजिक, जातीय र साँस्कृतिक दृष्टिकोणले समेत विविधतामा धनी देश हो । प्रत्येक गन्तब्यमा मौलिक संस्कृति भएका जातजाति, समुदाय र क्षेत्रका मानिस छन् । स्थानीयको मौलिक संस्कृतिलाई समायोजन गरी विमानस्थलदेखि गन्तब्यमा पुग्दासम्मै र नेपालबाट आफ्नो देश फर्किने बेलासम्म हामीले अतिथिलाई स्वागत सत्कार गर्नाले उनीहरुको हृदयमा नेपाल र नेपाली समाजप्रति सकारात्मक हुन्छन् । फर्केर गएपछि पनि आफ्ना साथीलाई नेपाल जान उनैले सल्लाह दिन्छन् । हँसिला मुस्कान सहितको मुहारले सबैलाई मोहित पार्न सक्छ ।

४. शान्ति, सुरक्षा र मैत्रीभाव ब्यवहार गरिनुपर्छ : आफ्नो गाउँ–ठाउँ र देश छोडेर नयाँ ठाउँमा जाँदा जसलाई पनि सुरक्षित भएको अनुभूति भए मात्र ढुक्कले खान्छन्, बस्छन् र ढुल्छन् । प्रत्येक नेपालीले पर्यटकप्रति मैत्रीभावको ब्यवहार गर्नुपर्छ । सरकारले यसबारे जनचेतना सञ्चालन गर्नुपर्छ । सरकारले पर्यटकको शान्ति सुरक्षाका लागि विशेष कार्यक्रम जस्तै घुम्ती प्रहरी, घुम्ती स्वास्थ्य शिविर, हवाई उद्धार आदि सञ्चालन गरिनुपर्छ । आफू सुरक्षित भयो भने ढुक्कले खर्च गरेर नेपाल भ्रमणको बसाई लम्ब्याउन सक्छन् ।

५. प्रचार स्वदेशमा होइन, विदेशमा गर्नुपर्छ : नेपाल भ्रमण वर्षको प्रचार–प्रसार नेपालमा होइन, विदेशमा गरिनुपर्छ । विदेशीले नेपाल बारे उतै थाहा पाउँदा संख्यात्मक र गुणात्मक पर्यटक दुवै नेपाल आउने छन् । नेपालभित्र चलचित्रकर्मी र दोहोरी गायकगायिका बोलाएर मञ्चमा नाच्न, गाउन र अभिनय गर्न लगाएर पर्यटन विकासमा कुनै योगदान हुन सक्दैन । नेपाल प्रवेशदेखि नै पूर्ण तयारी छ । विशेष सुविधा उपलब्ध हुन्छन् भन्ने लगायतका प्रचार विदेशमा गर्दै नेपालमा त्यसको तयारी पनि गरे विमानस्थलबाट ओर्लनासाथ आहा नेपाल ! भन्ने बनाउन सक्यो भने मात्र सार्थक हुनेछ । यति ग¥यो भने नेपाल त्यसै सुन्दर छ । नेपाली पनि सुन्दर÷सुन्दरी छन् । यी चुनौती सामना गर्न के सरकारले तयारी गरेका छन् ?
                                                                                                                                                                                                                                                                                                       अधिवक्ता : फुर्पा तामाङ
                                                                                                                                                                                                                                                                                                                ठूलोभार्खु, रसुवा ।