रसुवामा नब्बे प्रतिशत आवास निर्माण

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १६:१७
Logo of trishuli prawaha

धुन्चे,  रसुवा जिल्लामा भूकम्पपछि निजी आवास निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भूकम्पको लाभग्राही सूचीमा रहेका ९० प्रतिशतले तेस्रो किस्ता बुझिसकेका छन् ।

भूकम्पपछि रसुवामा निजी आवास पुनःनिर्माण समय सकिन लागेको अवस्थामा ९० दशमलव ३५ प्रतिशतले तेस्रो किस्ता बुझिसकेका छन् । जिल्लाभर १२ हजार ५ सय ७८ लाभग्राही छन् । तिमध्ये ११ हजार ८ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भईसकेको छ ।

जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाको अनुसार ११ हजार ८ सय १९ ले पहिलो, ११ हजार ३ सय ५६ ले दोस्रो र १० हजार ७ सय १७ ले तेस्रो किस्ता बुझेको र ९४ दशमलव ४१ सँग सम्झौता भएको हो । सम्झौता गरेको मध्ये ९९ दशमलव ५२ पहिलो, ९५ दशमलव ६२ ले दोस्रो र ९० दशमलव २४ प्रतिशतले तेस्रो किस्ता लिएका हुन् ।

२७ वडामध्ये १४ वटा वडामा ९० प्रतिशत भन्दा बढी निजी आवासको निर्माण सकिएको छ । उत्तरगया गाउँपालिकाको ३ र ४ वडा को ९० प्रतिशत आमाछोदिङ्मो गाउँपालिकाको १ नम्बर वडा, नौकुण्डको ६ वटै वडा, कालिकाको १ देखि ४ सम्मको वडा, गोसाइँकुण्ड गा.पा.को १ नम्बर वडा आवास निर्माण भईसकेका छन् भने १ हजार ७ सय ७८ जनाले गुनासो फर्म भरेकोमा त्यसमध्ये ९ सय ६३ जनाको गुनासो फर्छौट भएर आईसकेको छ । त्यसमा १ सय ६२ पुनःनिर्माण लाभग्राही कायम भईसकेका छन् । ३२ जनाको सामान्य मर्मत सम्भार गर्नुपर्ने देखिन्छ । ७ सय ५६ जना लाभग्राहीको सूचिमा परेको ईकाइ प्रमुख लेखनाथ पोखरेलले बताउनु भयो ।