विदुर । भोटेकोसी-त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको देवीघाट शाखा गत कात्तिकदेखि नुवाकोटको बट्टारबाट सेवा सञ्चालन भएको छ ।


स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैङ्किङ सेवा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश, नुवाकोट जिल्ला, विदुर-२, बट्टारमा गत कात्तिक १७ गते मङ्गलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब सात किलोमिटरको दूरीमा बट्टार शाखा स्थापना गरिएको बैङ्कले जनाएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन कार्यक्रममा देवीघाट शाखा बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पनि स्थानीय ग्राहकलाई गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले बट्टार शाखा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले नयाँ शाखामार्फत अझ उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्न बैङ्क प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै, प्रतिकूल परिस्थितिका बाबजुद धैर्य र लगनशीलताका साथ शाखा पुनः सञ्चालनको प्रक्रियामा योगदान पुर्याउने कर्मचारीको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । बाढीले देवीघाटस्थित बैङ्कको शाखा पूर्ण रूपमा बगाएको भए पनि त्यहाँ कार्यरत कर्मचारी भने सुरक्षित रहन सफल भएका थिए । सुविधासम्पन्न बट्टार शाखामार्फत ग्राहकका वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवा उपलब्ध गराइने बैङ्कले जनाएको छ । यसका साथै साना तथा कर्पोरेट व्यवसायीमा वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसमेत बैङ्कले राखेको छ । हाल बागमती प्रदेशमा बैङ्कका ५६ वटा शाखा सञ्चालनमा रहेका छन् ।








प्रतिक्रिया