+
Search

ताजा अपडेट +

पपुलर +

नदी बहाब क्षेत्र खाली राखौँ

नदी बहाब क्षेत्र खाली राखौँ
त्रिशूली प्रवाह
१७ मिनेट अगाडी

गत भदौ १० गते रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले अकल्पनीय जनधनको क्षति भएको छ । बाढीले गरेको क्षतिको विषयमा ठुला–ठुला छलफल र बहस भइरहेका छन् । बाढीपछि खोज, उद्धार र राहतमा सक्रिय तीन तहका सरकार र स्वदेशी, विदेशी सङ्घसंस्थाको ध्यान अहिले पुनर्निर्माण र पुनस्र्थापनामा केन्द्रित भएको छ । बाढीपछि उद्धार र राहत पहिलो आवश्यकता हो । विपत्तिमा परेकाको जिउँदो उद्धार र उद्धारपछि उपचार, उपचारसँगै राहत जरुरी हुन्छ । त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको चरण सुरु हुन्छ । पुनर्निर्माण सुरु भएसँगै पुरानै जोखिमलाई पुनर्निर्माण गर्ने कि सुरक्षित स्थानको छनोट गर्ने भन्ने विषयको छलफल महत्त्वपूर्ण हुन्छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

रसुवा, नुवाकोट र धादिङसहित गोरखा, चितवन, तनहुँ बाढी प्रभावित भोटेकोसी-त्रिशूली नदी क्षेत्रका बासिन्दाले अस्थायी, स्थायी बसोबासका लागि पुरानै क्षेत्रलाई सुरक्षित बनाएर बस्न चाहेका छन् । स्थानीय प्रभावितले पुरानै जोखिमलाई पुनर्निर्माण गरी बस्ने तयारी गरिरहेका छन् भने सरकारको यस विषयमा आधिकारिक धारणा आएको छैन । सरकार बाढी गएको साढे दुई महिना उद्धार र तथ्याङ्क सङ्कलन गर्नमै अलमलिएको छ भने विपत्का लागि सहयोग गर्न आएका स्वदेशी तथा विदेशी सङ्घसंस्था सरकारको निर्णय पर्खिरहेका छन् । बाढीले घर बगायो भने त्यही स्थानमा बनाउने, सडक भत्कियो भने जोखिमको कारण नहेरी त्यही ढाँचामा सडक बनाउने र नदीको क्षेत्रलाई फेरि संरचनाले भरिदिने हो भने अर्को वर्ष आउने बाढीले उही क्षति दोहोर्याउन सक्छ । गत वर्ष पनि भोटेकोसी हुँदै त्रिशूली नदीमा बाढी आएको थियो । त्यसवेला नदीको बगर पूरै ढाकेको थियो । त्यसवेला केही भौतिक क्षति भए पनि मानवीय क्षति नभएकाले यस वर्षको बाढीलाई तटीय क्षेत्रका बासिन्दाले हेलचेक्र्याइँ र कम आकलन गरेकाले अकल्पनीय क्षति व्यहोर्नुपर्याे । त्यसैले अब पुनर्निर्माण गर्दा भत्किएको संरचना फेरि ठड्याउनुलाई भन्दा पनि सुरक्षित स्थानको पहिचान गरी बलियो संरचना बनाउन सरकारको ध्यान पुग्नुपर्छ । नदी तथा खोलाको प्राकृतिक क्षेत्रको संरक्षण, स्थानीय भूगोलअनुसारको योजना र समुदायको सहभागितालाई पुनर्निर्माणको आधार बनाउनुपर्छ । पुनर्निर्माणको प्रक्रियामा महत्त्वपूर्ण कुरा भनेको प्रभावितमा मानिसको आवाज सुन्नुपर्छ । कुन परिवार कहाँ फर्कन चाहन्छ, कसको जीविका कहाँ जोडिएको छ, कसलाई थप सहयोग आवश्यक छ र कसरी उहाँहरूलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन सकिन्छ भन्ने निर्णय गर्दा स्थानीय यथार्थ र आवश्यकतालाई आधार मान्नुपर्छ ।

Suzuki New Bike & Scooter

बाढी आएपछि नदीकिनारमा बसोबास गरेका मानिसलाई त्यहाँ किन बस्नुपरेको होला भनी प्रश्न गरिन्छ । त्यसको जवाफ तटीय क्षेत्रका बासिन्दासँग छैन । मानिसले आफूलाई मन लागेको ठाउँ मात्र हेरेर घर बनाउँदैन । रोजगारी कहाँ छ, बजार कहाँ छ, खेती वा व्यवसाय कहाँ गर्न सकिन्छ, जमिनको मूल्य कति छ, यातायातको पहुँच कहाँ छ, यी कुराले बसोबासको स्थान निर्धारण गर्छन् । गरिब वा न्यून आय भएका परिवारका लागि सुरक्षित ठाउँमा बस्नु वा बसाइ सर्नु प्रायः सम्भव हुँदैन । कतिपय मानिस रोजगारीका कारण आफ्नो गाउँबाट टाढा जोखिमयुक्त क्षेत्रमा पुगेका हुन्छन् । भोटेकोसी बाढीमा विभिन्न जिल्लाबाट रोजगारीका लागि पुगेका मानिस पनि प्रभावित भए । यसकारण जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिसलाई मात्र दोष दिएर समस्या समाधान हुँदैन । उहाँहरूसँग सुरक्षित विकल्प थियो कि थिएन विकासले जोखिम घटाइरहेको छ कि एक ठाउँबाट अर्को ठाउँमा सारिरहेको छ भन्ने विषयको अध्ययन जरुरी छ ।

विकासलाई प्रायः सडक, पुल, जलविद्युत्, बजार, भवन र अन्य पूर्वाधारको विस्तारसँग जोड्छौँ । विकास आवश्यक छ । तर, विकास कहाँ र कसरी भइरहेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । नदीको प्राकृतिक बहाब, बाढीको क्षेत्र, भू-उपयोग र वातावरणीय अवस्थालाई वेबास्ता गरेर संरचना निर्माण गरियो भने विकासले जोखिम बढाउन सक्छ । विपत्ले थातबास उजाडेपछि आर्थिक रूपमा सक्षम परिवारसँग सुरक्षित ठाउँमा जाने विकल्प हुन सक्छ, निर्धन परिवारसँग त्यस्तो विकल्प हुँदैन । त्यसैले विपत् केवल हावा, पानी, पहिरो वा भूकम्पको परिणाम मात्र होइन, त्यसमा मानिस कहाँ बस्छन्, कस्तो घरमा बस्छन्, जीविकाको आधार के हो, पूर्वसूचना कति समयमा पाउँछन् र सुरक्षित स्थानमा जाने क्षमता कति छ भन्ने कुरा पनि जोडिन्छ । यहीँबाट ‘प्राकृतिक प्रकोप’ र ‘विपत्’ बिचको फरक बुझ्न सकिन्छ । बाढी प्राकृतिक घटना हुन सक्छ, तर त्यसले कति ठुलो विपत्को रूप लिन्छ भन्ने कुरा सामाजिक अवस्थाले पनि निर्धारण गर्छ । विपत्पछि हामी प्रायः कति जनाको मृत्यु भयो, कति जना बेपत्ता छन्, कति घर बगे र कति रुपैयाँबराबरको क्षति भयो भनेर हिसाब गर्छौँ । यी तथ्याङ्क पक्कै आवश्यक छन्, तर मानवीय क्षतिको वास्तविक अर्थ यतिमै सीमित हुँदैन ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह