+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोसीमा काठको दोस्रो फड्के निर्माण

भोटेकोसीमा काठको दोस्रो फड्के निर्माण
त्रिशूली प्रवाह
१८ मिनेट अगाडी

धुन्चे । गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले स्याफ्रुबेँसीको भोटेकोसी पक्की पुल बगाएपछि आवतजावत सहज पार्न स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको फड्के पुल निर्माण गरेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गत कातिक १३ गतेको वर्षाले पहिलोपटक निर्माण गरेको फड्के पुलमा क्षति पु¥याएपछि स्थानीय बासिन्दाले दोस्रोपटक काठको फड्के निर्माण गरेका हुन् । काठको फड्के निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५० जना र दुई सय ५० स्थानीय बासिन्दाले श्रमदान गरी काठको फड्के निर्माण गरेको गोल्जुङका समाजसेवी मानबहादुर तामाङले जानकारी दिनुभयो । पुल निर्माणमा आमाछोदिङ्मो गाउँपालिका–२ का अध्यक्ष ल्हाक्पाकामी तामाङ, वडा नं ३ का अध्यक्ष सुरेन्द्र तामाङ, वडा नं ४ का अध्यक्ष धर्म तामाङ र वडा नं ५ का अध्यक्ष दाबागोम्बो तामाङ सक्रिय हुनुभएको थियो । यसअघि स्थानीयवासीको श्रमदान तथा विभिन्न सङ्घसंस्था र समाजसेवीको आर्थिक सहयोगमा निर्माण गरिएको काठेपुल गत कात्तिक १३ गतेको निरन्तर वर्षाका कारण भोटेकोसीमा पानीको बहाव बढ्दा बगाएको थियो । पहिलोपटक पुल निर्माणमा चिलिमेका बहादुर तामाङको रेखदेख तथा अगुवाइमा गोल्जुङ, गत्लाङ र चिलिमेका बासिन्दाले श्रमदान गर्नुभएको थियो ।

Suzuki New Bike & Scooter

पहिलोपटक पुल निर्माणका लागि गोल्जुङका समाजसेवी मानबहादुर तामाङमार्फत रोटरी क्लबबाट रू.तीन लाख तीन हजार तथा लहरेपौवाका विनोद आचार्यमार्फत फेल्सी टोफेल फाउन्डेसनबाट रू.एक लाख ५५ हजार सात सय ७८ सहयोग प्राप्त भएको थियो । उक्त रकमबाट काठ तथा लठ्ठा खरिद गरिएको थियो । सालासुङ्गी हाइड्रोपावरले फलामे लठ्ठासमेत सहयोग गरेको स्थानीयले बताएका छन् । पहिलो पुल बाढीले बगाएपछि दोस्रो पुल पुनर्निर्माणका लागि समेत रोटरी क्लबमार्फत समाजसेवी तामाङमार्फत रू.दुई लाख ३० हजार र विनोद आचार्यमार्फत फेम्ली टोफेल फाउन्डेसनले रू.एक लाख २५ हजार पुनः सहयोग प्राप्त भएको समाजसेवी तामाङले बताउनुभयो । स्थानीयवासी र सुरक्षा निकायको संयुक्त श्रमदान तथा सहयोगबाट दोस्रोपटक पुल निर्माण सम्पन्न भएको हो ।

स्थानीयवासीले आफ्नै श्रम र सहयोग जुटाएर दुईपटकसम्म पुल निर्माण गर्नुपरे पनि सरकारले घोषणा गरेको बेलिब्रिज निर्माण भने अझै सम्पन्न हुन सकेको छैन । तिहारअघि नै स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको पूर्वघोषित कार्यक्रम कार्यान्वयन हुन नसकेको स्थानीयको भनाइ छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बेलिब्रिज निर्माणका लागि जग तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो । निर्माणस्थलको भौगर्भिक अवस्थाका कारण केही ढिलाइ भएको बताउँदै उहाँले छिटोभन्दा छिटो बेलिब्रिज जडान गर्न सडक सुधार आयोजनामार्फत सम्बन्धित निकायसँग निरन्तर संवाद र समन्वय भइरहेको बताउनुभयो ।

नुवाकोटका देवीघाट र वेत्रावतीमा सात-सात दिनमै बेलिब्रिज निर्माण सम्पन्न भएको उदाहरण दिँदै उत्तरी रसुवाका बासिन्दाले स्याफ्रुबेँसीमा भने पूल निर्माणमा ढिलाइ हुनु दुःखद भएको बताएका छन् । बेलिब्रिज नहुँदा उत्तरी रसुवाका किसानले उत्पादन गरेको बन्दाकोपी र आलुले सहज रूपमा बजार पाउन सकेको छैन । कृषि उपज ढुवानीमा समस्या भएपछि किसान थप मर्कामा परेका छन् । त्यसैगरी, तातोपानी नुहाउन जाने बिरामी, तामाङ सम्पदा मार्ग हुँदै प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउने पर्यटक र स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् । गत्लाङका स्थानीय मार लामाका अनुसार पुल नहुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन कठिन भएको छ । पर्यटकको आवागमन, स्थानीय बासिन्दाको दैनिक ओहोरदोहोर तथा सामान ढुवानीमा समेत समस्या भइरहेको छ । अस्थायी काठेपुल बाढीले बगाउने जोखिम रहेकाले दीर्घकालीन समाधानका लागि बेलिब्रिज निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।

स्थानीयवासीले पटकपटक श्रमदान गरेर आवागमन खुलाउने प्रयास गर्नु प्रशंसनीय भए पनि पुल निर्माणको स्थायी जिम्मेवारी सरकारकै भएको लामाले बताउनुभयो । आज काठेपुल बनाउने, भोलि बाढीले बगाउने र फेरि श्रमदान गरेर बनाउने अवस्थाको अन्त्य गर्न सरकारले बेलिब्रिज निर्माणलाई प्राथमिकता दिनुपर्ने मागसमेत उहाँले गर्नुभएको छ । भोटेकोसीमा पक्की पुल बगाएको लामो समय बितिसक्दा पनि स्थायी आवागमनको व्यवस्था नहुनु र अस्थायी संरचनाकै भरमा उत्तरी रसुवाको जनजीवन चल्नुपर्ने अवस्थाले पुनर्निर्माणको गति र सरकारी कामको अवस्था बुझ्न सकिन्छ । भौगर्भिक अवस्थाका कारण निर्माणमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले स्विकार गरेको छ । किसानको उत्पादन, पर्यटन र दैनिक ढुवानीलाई सहज बनाउने भरपर्दो पुल बनाउन पहल भइरहेको जानकारी प्रशासन कार्यालयले दिएको छ ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह