+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोसी–त्रिशूली महाविपत्तिको अन्तर्य र सन्देश

भोटेकोसी–त्रिशूली महाविपत्तिको अन्तर्य र सन्देश
देवराज सिम्खडा
५५ मिनेट अगाडी

नेपाललाई हिमालयको देश भनेर सायदै कसैलाई चिनाइरहनु नपर्ला । सगरमाथा विश्वको शिर बनेर यहीँ उभिएको कुरा कसलाई पो थाहा छैन र ? यति भनेपछि अरू हिमशृङ्खलाको प्रसङ्ग जोड्न आवश्यक नपर्ला । यिनै हिमालले नेपालको इमान, सान र प्रतिष्ठा सगरमाथाजस्तै उच्च, कञ्चनजङ्घा जस्तै स्वच्छ र धवलागिरिजत्तिकै विशाल बनाएका छन् । बेलाबखत देखिने हिमालको चमत्कारले विश्वको ध्यान तानिरहेको छ । अहिले संसारकै ध्यान रसुवा, नुवाकोटतिर एकोहोरिरहेको पाउँछौँ । बुझ्न खोज्ने र नबुझ्ने कोही नेपाललाई बाढीपहिरोसँग जोडेर बुझ्दै होलान् । हिमताल, हिमनदी र जलवायु परिवर्तनको तितो, टर्रो र डरलाग्दो दृष्टान्त मानिरहेका होलान् यस देशलाई ।

Satkar Machinery Center
Utsuk Books & Stationery

हिमालय सबै ऋतुमा हिउँ ओढेर मुस्कुराइरहेको भूगोल मात्र होइन, यो प्रकृतिको अनमोल पुस्तक, चित्रपट उपहार हो, विज्ञानको विश्वकोश हो, दर्शन, सभ्यताको जननी हो, भरोसा विश्वास, समृद्ध संस्कृति र पारिस्थितिक प्रणाणी पनि । हिमालय बुझ्ने हिमालयमै रमाउँछन् । हिमालयमै जीवन फुलाउँछन्, साहस प्रदर्शन गर्छन् र कीर्ति फैलाउँछन् । कोही ज्ञानको मुहान खोज्छन्, ज्ञान बटुल्छन्, परीक्षण गर्छन् र ज्ञान नै बाँड्छन् । हिमालय कला, साहित्य, सङ्गीतको उद्वीपक र उर्वर भूमि हो । यसले विश्वलाई धेरै दार्शनिक, लेखक, साहित्यकार र कलाकार दिएको छ । हिमालय क्षेत्रलाई अध्यात्म र भौतिकवादको मिलनविन्दु मान्न सकिन्छ । पूर्वीय वाङ्मयलाई समृद्ध बनाउन विभिन्न युग र कालखण्डमा हिमालयको महत्त्वपूर्ण योगदान छ । महर्षि वेद व्यासले हिमालयकै काखमा विचरण गर्दै वेदको रचना गरे । मुनि यज्ञवल्क्यले पनि हिमालय मुन्तिर मिथिला क्षेत्रमा उपनिषद् ग्रन्थको व्याख्या र प्रचारप्रसार गरे । कपिलमुनीले पनि हिमालयसँग नजिक रहेर साङ्ख्य दर्शनको प्रवर्तन गरे ।

Suzuki New Bike & Scooter

हिमालयले बौद्ध दर्शनका धेरै दार्शनिक तथा विचारक जन्माएको छ । गौतम बुद्ध हिमालकै फेद लुम्बिनीमा जन्मिए, हिमालयकै छत्रछायामा बुद्धत्व ज्ञान प्राप्त गरे, त्यहीँ ज्ञानको प्रचारप्रसार गरे । बौद्ध धर्म गुरु पद्म सम्भवले नेपालको मुस्ताङ, भुटान र तिब्बतका हिमालय क्षेत्रमा बसेर ध्यान गरे, तिब्बतमा बौद्ध धर्मका लागि आधार तयार पारे । यस दर्शनमा मिलारेप्पाले यसै क्षेत्रमा रहेर गरेको योगदान अविस्मरणीय छ । त्यसपछिका धेरै ऋषिमुनीले हिमालयको काखलाई ज्ञानविज्ञानको केन्द्र माने । आदि गुरु शङ्कराचार्यले हिमालयको काख केदारनाथ र बद्रीनाथमा रहेर अद्वेत वेदान्तको पुनरुत्थान र प्रचारप्रसार गरे । स्वामी विवेकानन्द हिमालयलाई त्याग, योग र भगवान्को निवासको रूपमा हेर्नुहुन्थ्यो । उहाँले भन्नुभएको थियो, ‘मेरो मुटुको एउटा अंश सधैँ हिमालमै रहिरहन्छ ।’

हिमालयको पर्यावरण संरक्षणका लागि चिप्को आन्दोलनका प्रणेता एवम् दार्शनिक सुन्दरलाल बहुगुणाले ‘हिमालय बचाऊ, मानवता बचाऊ’ भन्ने अभियान चलाउनुभयो । त्यस्तै, रुसी चित्रकार, दार्शनिक निकोलस रोएरिचले हिमाललाई कर्मथलो बनाई हिमालयको महत्त्व, आध्यात्मिक चेतना र शान्ति दर्शनलाई लेख र चित्रकलामार्फत संसारभरि फैलाउनुभयो । उहाँले हिमालयलाई ‘प्रकाशको वासस्थान र उच्च मानवीय आकाङ्क्षाको प्रतीक’ भनेर व्याख्या गर्नुभयो । वैज्ञानिक चाल्र्स डार्बिनले टेथिस सागरको जैविक अवशेष र शालिग्रामको लामो अध्ययन र अनुसन्धानको आधारमा निष्कर्ष निकाल्नुभयो, ‘कुनै वेला समुद्रको पिँधमा रहेका भाग पृथ्वीको ठुलो हलचलको कारण माथि उठेर पहाड बनेका हुन् ।’ नेपाल हिमालयको देश हो । यिनै हिमालय पर्वतमालाको कारण हामी जलसम्पदामा धनी छौँँ । यहाँको भाग्य बदल्ने एक प्रमुख प्राकृतिक स्रोत जलसम्पदा हो । जलसम्पदा र जडीबुटीको प्रमुख स्रोत हिमाल नै हो । उत्तरी सिमानामा गगनचुम्बी पर्खाल बनेर तैनाथ हाम्रा हिमाल उत्तरी सीमा रक्षक हुन् । नेपालको ताप्लेजुङदेखि दार्चुलासम्म लम्बिएको हिमशृङ्खलाको लम्बाइ १४ सय ७१ किलोमिटर छ । पर्यटन क्षेत्रको विकासको मुख्य आधार पनि हिमाल नै भएको कुरा सिद्ध भइसकेको छ । पर्यटन व्यवसाय हिमाली भेगका बासिन्दाको जीविकोपार्जनको बलियो आधार हो ।

विसं २०७२ को शक्तिशाली भूकम्पको धक्काले ७२ सय ३४ मिटर उचाइको लाङ्टाङ–लिरुङ हिमालको दक्षिणी मोहोडाबाट हिउँपहिरो खस्दा लाङ्टाङ गाउँ नै ध्वस्त भएको थियो । पहिरोमा परी चार सय ७४ भन्दा बढी मानिस बेपत्ता भए । सयौँ घर पूर्ण रूपमा ध्वस्त भए । त्यति वेलादेखि नै उच्च हिमाली भागमा हिमपहिरोको त्रास बढ्न थाल्यो । त्यो विपत्तिमा बाँचेका लाङ्टाङवासीले हरेस मानेनन् । पीडाको गहिरो घाउ बोकेरै उनीहरूले हिम्मत गरे, आफ्नै गाउँ फर्किए । आफूसँग बचेका सुन, धन र हिम्मत बटुलेर उठे । अहिलेको लाङ्टाङ गाउँ र क्यान्जिङ उपत्यका ठुलो र व्यवस्थित पर्यटन गन्तव्य बनेको छ । ११ वर्ष तीन महिना २५औँ दिन अर्थात् गत भदौ १० गते बिहान लाङ्टाङ–लिरुङ हिमालले धेरै गुणा ठुलो विपत्ति सिर्जना ग¥यो । हिउँपहिरोको कारण लेन्दे खोलामा आएको अकल्पनीय महाविनाशकारी बाढीले नयाँ कीर्तिमान कायम गरेको छ । लाङ्टाङ-लिरुङ हिमालको उत्तरी मोहोडामा रहेको करिब ५२ सय मिटरको उचाइबाट खसेको हिउँको पहिरो लेन्दे खोलामा खस्दा झन्डै दुई करोड ५० लाख घनमिटर अर्थात् करिब पाँच अर्ब लिटर पानी एकैपटक बाहिरिएको अनुमान गरिएको छ । त्यसरी हिमपहिरो खस्दा पाँच दशमलव दुई म्याग्निच्युडको भूकम्प गएसरहको कम्पन भएएको थियो ।

गत भदौ १० गते बिहान ८ः४४ बजेको थियो । नेपाल र चीनको सिमाना रसुवागढीमा मानिसको व्यापक चहलपहल थियो । मौसम आंशिक घमाइलो थियो । एकचौथाइ आकाश खुलेको थियो । मानसरोवर जाँदै गरेका र उताबाट नेपाल फर्किरहेका स्वदेशी, विदेशी सीमा वारपारको औपचारिक प्रक्रियाका लागि हातहातमा कागजपत्र लिएर लामबद्ध हुँदै थिए । दुवै देशका अध्यागमन कार्यालयका कर्मचारी तत्तत् स्थानमा खडा भइसकेका थिए । सानाठुला यात्रुवाहक सवारीसाधन पार्किङ स्थल र सडकका पेटीमा यात्रुको प्रतीक्षामा तैनाथ थिए । मालवाहक कन्टेनर तोकिएका स्थलमा खचाखच थिए । अरू दिनजस्तै थियो त्यहाँको त्यो दिनको दैनिकी । अचानक धर्ती डगमगायो । अचम्मको आवाज सबैको कानमा ठोक्कियो । उनीहरू सशङ्कित र भयभित भए । वरिपरि पल्याकपुलुक हेरे । तुरुन्तै धुँवाको मुस्लो देख्दा पहाड खसेजस्तै लाग्यो । एकैपटक सयौँ मानिस चिच्याएको आवाजले फेरि भूमि कम्पित भयो । सेकेन्डभित्रै वारिपट्टिको रसुवागढी र पारिपट्टिको चिनियाँ क्षेत्र बाढीभित्र हरायो । सयौँ व्यक्तिको जीवन लेन्दे खोलाको भीमकाय छालसँगै तीव्र वेगमा बगेर गयो । केही क्षणमै निर्जन बगर बन्न पुग्यो त्यो रौनक, त्यो चहलपहल ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

भयावह आँधी आफ्नो सतहबाट माथिमाथि तन्किँदै थियो । प्रतिघण्टा झन्डै एक सय ८९ किलोमिटरको अति तीव्र दौडमा रहेको लेन्दे रसुवागढीमा भोटेकोसी नदीमा मिसियो । झन्डै एक सय मिटर माथिसम्मको उछाल उर्लिरहेको थियो । त्यसले छोएको कुनै कसैको जीवन त्यहाँ बाँकी रहेन । महाकाल बनेर ओइरिरहेको बाढी सबैलाई सोहोर्दै घट्टेखोला, टिमुरे भएर गइरह्यो । जति तल, त्यति नै भयानक रूपमा उही गतिमा बुर्कुसी मार्दै थियो । टिमुरेका होटेल व्यवसायी उर्केन घलेले हृदयविदारक पीडा पोख्नुभयो, ‘मेरो परिवारका आठजनालाई बाढीले निमेषभरमै सलक्कै निल्यो, हाम्रो सयौँ वर्षको इतिहास, सभ्यता र पुर्खाको विरासत सधैँको लागि समाप्त भयो ।’ टिमुरेमा थोरै मानिस भागेर दुई–चार सेकेन्डले बाँच्न सफल भए । उनीहरूले आफ्नो सर्वस्व गुमेको कुरा थाती राख्दै हतारहतार फोन चलुन्जेल स्याफ्रुबेँसी र तलतिर बस्तीका आफन्तलाई फोन हान्दै खबर गरे । केहीबेरमै सञ्चार र विद्युत् सुविधा विच्छेद हुन पुग्यो । समयको गतिलाई उछिनेर हाम्फालिरहेको थियो विनाशको मुस्लो । १२ मिनेटमा नै त्यो महाकाल स्याफ्रुबेँसी ओर्लिसकेको थियो । सूचनाको स्रोतलाई मान्ने र कुद्न सक्ने थोरै मानिस उम्के । नपत्याउने र भाग्न नसक्नेको जीवन बाढीसँगै बग्यो । त्यहाँको मौसम अर्ध घमाइलो थियो । वर्षाविनाको बाढी पत्याउनु पनि कसरी, स्याफ्रुबेँसी दुईवटा गाउँ मात्र थिएन, मध्यकालदेखि नै नेपाली र तिब्बतीका मन जोड्ने पुल थियो । जिल्लाको व्यापारिक केन्द्र, तामाङ, शेर्पा, ह्योल्मो र तिब्बतीको सद्भाव र संस्कृतिको त्रिवेणी मानिन्थ्यो । त्यहाँ पनि सयौँ घर, सयौँ निर्दोष अनुहार नफर्किने गरी बिलाए । कोही संयोगले मात्र बाँचे । कोमिन श्यामेवाङफेल माविका प्रधानाध्यापक किशोरकुमार पुर्कोटी दोहोर्याएर खाना पकाउनुपरेकाले बाँचे । शिक्षक प्रतिमा लामाले दृष्टिविहीन भएर पनि ज्यान जोगाइन् ।

त्यो बाढीलाई रोक्ने न कुनै पहाड थियो त्यहाँ, न पहरो थियो, न देखियो भगवान्को शक्ति । बरु ती पहाड र पहराले बाढीलाई झन् मात्तिन, बहुलाउन मद्दत गरिरहे । धुन्चेको फेदमा त्रिशूली गङ्गाको निर्मल जलमा मिसियो । बाढी भोटेकोसीबाट त्रिशूली बाढीमा परिणत भयो । केही मिनेटमै हाकुबेँसी हुँदै मैलुङबेँसी पुग्यो । त्यहाँ पनि कसैले कल्पनै नगरेको वितण्डा मच्चायो । धेरैजना प्रियजन, जीवनभरको कमाइसहित कालसँग निर्मम आत्मसमर्पण गर्न विवश भए । बाढीको वेग उस्तै थियो । सिम्ले, शान्तिबजार, पैरेबेँसी, खाल्टे, नौबिसे र सोलेलाई स्वाहा पार्दै केही मिनेटमै वेत्रावती पुगिहाल्यो । भाग्दै गरेका दर्जनौँलाई घेरा हालीहाली कप्लक्कै खायो । उत्तरगयाधामको सभ्यता र वि.सं. १८४९ असोज १७ गते भएको नेपाल–तिब्बत युद्धको अविचल साक्षी र मूर्त इतिहास सन्धिस्थल, विशाल ढुङ्गो कहाँ पुग्यो टुङ्गो छैन । त्यो सुन्दर बजार, त्यो उत्तरगयाधामको चहलपहल निर्जन उराठलाग्दो बगरमा परिणत हुन पुग्यो । धेरैको जीवन जबर्जस्ती खोसियो । त्यहाँबाट आठ किलोमिटरको दूरीमा रहेको त्रिशूली बजार पुग्न ५-६ मिनेट नै काफी भयो । वर्षौँको श्रम र सम्पत्ति खर्चेर तयार पारिएका विकासका पूर्वाधार, जीवनभरको कमाइले ठड्याएका निजी घर, धनसम्पत्ति भताभुङ्ग र ध्वस्त भयो । मानवीय क्षति कम भए तापनि मानसिक नोक्सानीको सीमै रहेन । हजारौँ बालबालिका र युवाको प्राण लुटेर लग्यो । बालबालिका र आमाबुवाका आशाको दियो निभाइदियो । मुलुककै अर्थतन्त्रको स्वरूप ध्वस्त बनायो । परिवारमा बाँचेका एक–दुईजनाको जिन्दगीमा सन्नटा मात्र राखिदियो । कोही हिँड्दाहिँड्दै र कोही खाँदाखाँदै, तीर्थयात्रा गर्दागर्दै सदाका लागि बिदा भए ।

देवीघाटको जालपादेवीलाई पनि छोडेन । प्राचीन स्मारक, ऐतिहासिक महत्त्वका सम्पदा भूगर्भभित्रै हराए । समथर र फराकिलो भूबनोटको कारण बाढीको वितण्डामा अलिकति कमी आयो । मानवीय र भौतिक विनाश घट्यो । मानिसले सजगता अपनाए, थोरैले मात्र ज्यान गुमाउनुप¥यो । बाढीको तुजुक घट्न थालेपछि मानिसमा जीवनको आशा अङ्कुराउन थाल्यो । बाढी पुरानो इतिहास निमिट्यान्न पार्दै नयाँ इतिहास रचेर गयो । प्राणीजगत्लाई नमिठो चेतवनी दियो । यस बाढीमा गोसाईँकुण्ड गाउँपालिकाले सबैभन्दा धेरै क्षति व्यहोर्यो । सात जनप्रतिनिधि, २३ कर्मचारी र पाँच सय ४५ स्थानीय बासिन्दा हराइरहेका छन् जसमध्ये टिमुरेबाट दुई सय तीन र स्याफ्रुबेँसीबाट एक सय ४७ जना सम्पर्कविहीन छन् । पछिल्लो विवरणअनुसार रसुवाबाट २८ सय ६०, नुवाकोटबाट १७ सय ८७ र अन्य जिल्लाबाट ११ सय ३६ हराएका छन् । सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १२ र नेपाल विद्युत् प्राधिकरणका ४७ जना सम्पर्कबाहिर छन् । अन्य सरकारी कर्मचारी ७३, शिक्षक १६ र बैंक तथा वित्तीय संस्थाका २६ जनाको अवस्था त्यही क्रुर बाढीलाई मात्र थाहा होला ।

बाढीले मानव जीवन मात्र होइन, विकास निर्माण र व्यापार-व्यवसायले ठुलो क्षति सहनुप¥यो । पछिल्लो अध्ययनअनुसार १३ विद्युत्गृह, त्यस क्षेत्रका सबै सरकारी कार्यालय, सार्वजनिक भवन र मठमन्दिर क्षतिग्रस्त छन् । रसुवा, नुवाकोट र धादिङ जिल्लामा बाढीबाट दुई हजार तीन सय निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त वा बगेका तथा दुई सय ६९ निजी आवासमा आंशिक क्षति पुगेको छ । करिब दुई हजार तीन सय परिवार विस्थापित भएका र एक हजार ८५ जनाले अस्थायी शिविरमा आश्रय लिइरहेका छन् । शिक्षातर्फ १२ विद्यालय पूर्ण र १८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण नौ हजार दुई सय ४८ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । पूर्ण क्षतिग्रस्त विद्यालयका ३५ भवन र तीन सय १७ कक्षाकोठामा क्षति पुगेको जनाइएको छ । पूर्वाधारतर्फ ३४ वटा मोटरेबल पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन् भने एउटा मोटरेबल पुलमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ५१ वटा झोलुङ्गे पुल बगेका वा क्षतिग्रस्त भएका छन् । अहिलेसम्म पनि त्रिशूली नदी वारपार गर्न सहज भएको छैन । सिकिस्त बिरामी पर्दा औषधोपचारको अभावमा अकाल जीवन गुमाउनुपर्ने टड्कारोे अवस्था अझै कायम छ ।

हामीलाई थाहा नै छ भोटेकोसीमा बाढी आउनुको प्रमुख कारण हो पृथ्वीको तापमान बढ्नु । देशभित्र र बाहिरका जलवायु र वायुमण्डलका विज्ञ त्यसो भन्छन् । विगत ५० वर्षयता एक दशमलव आठ डिग्री सेल्सियस तापकक्रम बढेको र भविष्यमा पनि यो क्रम रोकिने सम्भावना छैन । बार्केली अर्थअन्तर्गत रोबर्ट रोदेले गरेको विश्लेषणअनुसार युरोप र अमेरिकामा औद्योगिक क्रान्तिको पहिलो चरण सन् १७६० देखि १८४० सम्म चल्यो भने दोस्रो चरण प्रथम विश्वयुद्धसम्म रह्यो । औद्योगिक क्रान्तिले त्यहाँ आर्थिक विकासमा ठुलो फड्को मा¥यो । संयुक्त राष्ट्र अमेरिका र युरोपेली देशमा औद्योगीकरणले व्यापकता पायो । सन् १८५० यता सन् २०२४, २०२३ र २०२५ क्रमशः सर्वाधिक पहिलो, दोस्रो र तेस्रो तातो वर्ष साबित भए । जमिनको औसत तापक्रमको आधारमा सन् २०२५ दोस्रो सर्वाधिक तातो वर्ष बन्न पुग्यो जुन सन् १८५० देखि १९०० सम्मको औसत तापक्रमभन्दा दुई दशमलव शून्य तीन डिग्री सेल्सियस बढी हो । समुद्रको औसत तापक्रमको आधारमा सन् २०२५ तेस्रो हो, जतिवेला समुद्रको तापक्रम एक दशमलव शून्य तीन डिग्री सेल्सियस बढी रहेको थियो भने सन् २०२३ र २०२४ मा एक दशमलव शून्य डिग्री सेल्सियस । यसरी हेर्दा समुद्रको तुलनामा जमिनको तापक्रम दोब्बर भएको देखिन्छ । युरोपमा औद्योगिक क्रान्ति सुरु भएदेखि पृथ्वीको तापक्रम उक्लने क्रम अहिले पनि निरन्तर छ ।

गाय क्यालेन्डर नामक वैज्ञानिकले सन् १९३८ मा औद्योगिक कार्बन उत्सर्जन र पृथ्वीको तापक्रम वृद्धिबिचको सम्बन्धलाई स्पष्ट पार्दै यसबाट भविष्यमा पार्न सक्ने सम्भावित प्रभावलाई समेत दर्शाएका थिए । आर्थिक समृद्धिको उन्मादमा दौडिरहेका पश्चिमी समाजले लामो समयसम्म यस विषयलाई नजरअन्दाज गरिरह्यो । परिणामस्वरूप, वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अत्यधिक रूपमा वृद्धि हुँदै गयो र त्यसको प्रत्यक्ष प्रभावस्वरूप समग्र पृथ्वीको तापमान निरन्तर वृद्धि भइरह्यो । औद्योगिक क्रान्तिपूर्व वायुमण्डलमा कार्बनको मात्रा दुई सय ८० पिपिएम (पार्ट पर मिलियन) थियो । वायुमण्डलको उपयुक्तताका लागि तीन सय ५० पिपिएमसम्म रहनुपर्ने मानिन्छ, तर हालसम्म आइपुग्दा चार सय २२ पिपिएम पुगेको छ । यो वृद्धिले तापबन्दीको काम गर्दै पृथ्वीको तापक्रम वृद्धिमा गहिरो प्रभाव पारेको छ ।

जलवायुसम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार हरेक १० वर्षमा शून्य दशमलव दुई डिग्री सेल्सियसका दरले पृथ्वीको तापक्रम बढिरहेको छ । वातावरण वैज्ञानिकका अनुसार ‘सन् २१०० सम्म औद्योगिक क्रान्तिपूर्वको भन्दा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियस तापक्रम वृद्धि हुनुले विनाश निम्त्याउन सक्छ’ भनेर सावधान गराइसकेका छन् । यस्तो वृद्धिले हिमालमा ठुलो परिमाणमा हिउँ पग्लिने र भयानक हिउँपहिरो जान सक्ने सम्भावना छ । यिनी र यस्तै विनाशकारी दुर्घटनाबाट मानव समाजलाई जोगाउन वैज्ञानिक र वातावरण विज्ञले ठुलो मात्रामा कार्बन उत्सर्जन कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन्, तर चीन, अमेरिकाजस्ता देश आज कार्बन उत्सर्जनको अग्रस्थानमा छन्, उनीहरू नै कार्बन उत्सर्जन कटौतीको विपक्षमा देखिएका छन् । यसले जलवायु परिवर्तनको समस्यालाई अझै गम्भीर र विश्वलाई चिन्ताग्रस्त बनाएको छ । यसरी पृथ्वीको तापक्रम बढ्दै जाने हो भने विश्वका हिमाल, हिमनदी र ध्रुवीय प्रदेशका हिउँ पग्लिने क्रम बढ्दो छ । लेन्देखोलामा हिमपहिरो खसेको दिन बिहान नौ बजेको समायमा लाङ्टाङ–लिरुङ हिमालबाट हिउँपहिरो खसेको स्थान लगभग सात हजार मिटरको उचाइमा रहेको छ । त्यहाँको तापक्रम चार डिग्री सेल्सियस रहेको पुष्टि भएको छ । दिउँसोको समयमा तापक्रम अझ बढ्छ नै । यही क्रममा पृथ्वी ताप्दै जाने हो भने हाम्रा हिमाल रहलान् र ? अनि विश्वसमुदायले यो देशलाई हिमालयको देश भनिरहलान् र ? जति हिउँ पग्लियो त्यति नै बढीको जोखिम बढ्ने भएकाले थप सङ्कट नआउला र ? हामी कहिलेसम्म प्राकृतिक महाप्रलयको सिकार भइरहने ? यी प्रश्नको तार्किक र न्यायिक सम्बोधन गर्न विश्व समुदायलाई प्रभावकारी ढङ्गबाट आग्रह गर्न सरकार चुक्नुहुँदैन ।

बाढीपछि पीडितको अवस्था दयनीय छ । एउटै परिवारका चार पुस्तासम्म सकिएको छ । कुनै परिवारमा एक–दुईजना मात्र बाँकी छन् । त्यसमा पनि अधिकांश बुढाबुढी र बालबालिका छन् । उनीहरू घरबारविहीन बेसहारा बनेका छन् । उनीहरूको हृदयमा गहिरो चोट लागेको छ । यथाशक्य छिटो कसले कहिले मलमपट्टी गर्छ ? पालनपोषण कसरी हुन्छ ? सर्वत्र चासोको विषय बनेको छ । भौतिक पूर्वाधारको पुनर्निर्माण सजिलो छैन, तर छिटो नगरी सुख छैन । हराएका नागरिकको खोजी चुनौतीपूर्ण छ । यस्तो समयमा राहत वितरणमा देशवासीले गरेको सहयोग प्रशंसनीय छ । भोटेकोसी-त्रिशूली बाढीले अत्यन्त नमिठो यथार्थ छोडेको छ । यसबाट पाठ सिकेर सुरक्षित भविष्यका लागि सबै सजग बनौँ र बनाऔँ । (लेखक श्यामेवाङफेल मावि, स्याफ्रुबेँसी, रसुवाका पूर्वप्रअ हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

देवराज सिम्खडा