विदुर । गत भदौ १० गतेको भोटेकोसी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले पुल बगाएको तीन महिनापछि विदुर–७, तुप्चे र विदुर–१०, भैँसेमा सवारीसाधन र स्थानीयवासी आवातजावत गर्न ह्युमपाइप पुल सञ्चालनको तयारीमा रहेको छ । पुल सञ्चालनपछि ती क्षेत्रका बासिन्दालाई आवतजावत र मालसामान ढुवानीमा सहजता हुनेछ ।निर्माण व्यवसायी एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ग्लाल्जे शेर्पा र नेपाल शेर्पा सङ्घको लगानीमा तुप्चे र भैँसे जोड्ने त्रिशूली नदीमा ह्युमपाइप बिछ्याएर अस्थायी पुल निर्माण सुरु भएको छ ।


सोमबारदेखि नदीको पानीलाई फिँजाएर ह्युमपाइपबाट पठाउने काम सुरु गरिएको छ । नुवाकोट निर्माण व्यवसायी सङ्घको व्यवस्थापनमा अस्थायी पुल निर्माणको काम भइरहेको छ । सङ्घको अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले निर्माण भइरहेको पुलबाट २० टन भार बोकेको सवारीसाधन आवतजावत गर्न सक्ने सुविधा रहेको जानकारी दिनुभएको छ । एक दशमलव ८० मिटर गोलाइ र दुई दशमलव पाँच मिटर लम्बाइका १६ वटा पाइप बिच्छ्याउने र नपुग एक दशमलव २० मिटरको पाइप दायाँबायाँ थप गरिने बताइएको छ । मेलम्चीबाट पाइप ढुवानी भइसकेको छ । यसै हप्ता जोड्ने कार्य सम्पन्न भइसक्ने सङ्घले जानकारी दिएको छ । ६ महिना सञ्चालनमा आउने उक्त पुलबाट नुवाकोटको विदुर–७ र ८, म्यागङ, किस्पाङ र रसुवाको उत्तरगया गाउँपालिका तथा धादिङको उत्तरी क्षेत्रका बासिन्दालाई आवतजावत र सवारीसाधन सञ्चालनमा सहज हुने निर्माण व्यवसायी सङ्घ नुवाकोटका निवर्तमान अध्यक्ष सुमन अधिकारीले बताउनुभयो ।

बाढीले टुटाएको सडक सम्पर्क पुनः जोड्ने यो प्रयासले आवागमन सहज बनाउनुका साथै खाद्य आपूर्ति, स्वास्थ्य उपचार, शिक्षा, व्यापार तथा प्रशासनिक सेवासम्मको पहुँच सुधार गर्ने अपेक्षा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विदुर–७ समितिका सभापति कुमार सापकोटाले गर्नुभएको छ । अस्थायी ह्युमपाइप पुलले तत्काल ६ महिनालाई यस क्षेत्रका बासिन्दालाई सहयोग पुर्याए पनि सुरक्षित र दिगो पक्की पुल निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । ह्युमपाइपको पुल जडान गर्न लागेको अहिलेको स्थानमा बाढी आउनुभन्दा अघिसम्म मोटरेबल पुल र झोलुङ्गे पुल रहेको थियो । विदुरको गौरीबेँसी, देवीघाट र बेलकोटगढीको रातमाटे, महादेवफाँटमा समेत ह्युमपाइप बिच्छ्याएर त्रिशूली नदी वारपार गर्न अस्थायी पुल बनाउन सर्भे भइरहेको जानकारी नुवाकोट निर्माण व्यवसायी सङ्घका महासचिव सुशील फुयाँलले दिनुभएको छ ।







प्रतिक्रिया