+
Search

ताजा अपडेट +

पपुलर +

वानरगिरि सुगतालय विहार मङ्सिरभित्रै बन्ने

वानरगिरि सुगतालय विहार मङ्सिरभित्रै बन्ने
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । गत भदौ १० को भोटेकोसी-त्रिशूली बाढीले विदुर-१, त्रिशूलीबजारमा रहेको सुगतपुर विहारका सम्पूर्ण भौतिक संरचना नष्ट भएपछि बन्द भएको नित्य पूजा र प्रार्थना मङ्सिर अन्तिमदेखि सञ्चालन हुने भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विहारको विदुर–१, वानरगिरिमा रहेको जग्गामा भिक्षुका लागि अस्थायी आवास र नित्य पूजाका लागि सुगतालय चैत्य विहार भवन निर्माण गत असोज अन्तिम सातादेखि सुरु भएको हो । विहारको नयाँ भवन निर्माण संरक्षक भिक्षु मैत्री महास्थविरका पहलमा भइरहेको सुगतपुर विहार संरक्षण समिति त्रिशूली बजारका अध्यक्ष आनन्दराज शाक्यले जानकारी दिनुभयो । निर्माणाधीन भवनमा बैठक कोठा एक, भित्र शौचालय एक, बाहिर शौचालय चार, आवास कोठा दुई, भान्छा कोठा एक र प्रार्थना कक्ष एक रहनेछ । २० फिट चौडाइ र २८ फिट लम्बाइको ट्रसमा इँटाको गाह्रो र जस्ताको छाना रहनेछ । भवन निर्माणका लागि मैत्री प्रोजेक्टबाट रू.नौ लाख, धर्मकीर्ति विहारबाट रू.एक लाख, त्रिशूली कठिनबाट रू.एक लाख आठ हजार, शान्तिका लागि पदयात्राबाट रू.पाँच लाख, मलेसियाको कुलपति सङ्घबाट रू.सात लाख, अमीर शाक्य, सम्मादिट्ठीबाट रू.६७ हजार, मङ्गलदेवी शाक्यबाट रू.५० हजार र भियतनामका भिक्षुबाट रू.एक लाख प्राप्त भएको भिक्षु मैत्रीले जानकारी दिनुभयो । त्यसैगरी स्वदेशी उपासक–उपासिकाबाट आर्थिक सहयोग आउने क्रम जारी रहेकोसमेत उहाँले जानकारी दिनुभयो । अनुमानित लागत रू.३० देखि रू.३५ लाख रहेको भवन सञ्चालनमा आएपछि नियमित भिक्षु बस्ने र प्रार्थना गरिने तथा सम्पर्क स्थान हुने उहाँले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो ।

Suzuki New Bike & Scooter

भवन निर्माण कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कामदारको अभाव, चाडपर्व र वर्षाले गर्दा एक महिना ढिला भएको जनाइएको छ । सङ्घ आवास निर्माणका लागि सुरक्षित स्थानमा जग्गा उपलब्ध गराइदिन सुगतपुर विहार संरक्षण समितिले विदुर नगरपालिकासँग माग गरी दुई पत्र दिइसकेको छ । नगरपालिकाले जग्गा कुन ठाउँमा उपलब्ध गराइदिने भन्नेबारेमा निर्णय नदिएकाले विहारको भवन बनाइदिन्छौँ भन्ने स्वदेशी–विदेशी दातालाई जवाफ दिन नसकिरहेको समितिका संरक्षकसमेत रहनुभएका भिक्षु मैत्रीले बताउनुभयो । स्थानीय तहले नयाँ विहार निर्माणका लागि आवश्यक जग्गा उपयुक्त स्थानमा उपलब्ध गराए ६ महिनाभित्र स्थानीयवासी तथा स्वदेशी–विदेशी बौद्ध धर्मप्रेमीबाट सहयोग जुटाएर विहार निर्माण गरिने दृढतासमेत उहाँले व्यक्त गर्नुभयो । समितिका अनुसार सुगतपुर विहार नुवाकोटमा थेरवाद बुद्ध धर्मको पुनर्जागरणसँगै जोडिएको ऐतिहासिक स्थल हो । विसं २००६ मा भिक्षु धर्मालोक महास्थवीरका पहलमा जग्गा प्राप्त भएपछि त्रिशूली नदीको किनार त्रिशूली जलविद्युत्गृहनजिक २००७ मा विहार निर्माण गरिएको थियो ।

गत भदौको विनाशकारी बाढीले विहारसहित ऐतिहासिक त्रिशूली बजारको आधा भाग र यहाँ रहेका स्कुल, कलेज, राममन्दिर, दक्षिणकाली, मत्स्येन्द्रनाथ, सरस्वती, गणेश मन्दिर, मस्जिदलगायत डेढ दर्जन धार्मिक मठमन्दिर बगाएको थियो । अहिले त्रिशूली बजारमा मानव उपस्थिति दिउँसो मात्र हुने गरेको छ भने माथिल्लो भागमा केही व्यक्तिले स्थायी बसोबास सुरु गरेका छन् । त्रिशूली बजारवासीको एकता र साझा धारणा सँगसँगै सरकारको बसोबास योजना आएपछि नदी प्रभावित क्षेत्र निर्धारण गरी बाँकी क्षेत्रमा तटबन्ध बनाएर करिडोर बनाउन सके त्रिशूली बजारको माथिल्लो भागमा सुरक्षित बस्ती र बजार बसाउन उपयुक्त हुनेसमेत उहाँले बताउनुभयो ।

 

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह