हाम्रा कुरा : महोत्सव रत्यौली नबनोस्

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १२:५५
Logo of trishuli prawaha

नेपाल भ्रमण वर्ष सफल बनाउन नुवाकोटमा नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोट महोत्सव २०७६ माघ १६ गतेदेखि शुरू गर्दैछ । महोत्सवले जिल्लाकै ब्यवसायीक गतिविधी बढाउने, जिल्लालाई ब्यवसायीक रूपमा चिनाउने छ । महोत्सव संघले गर्न लागेको भएपनि यो छैंठौं महोत्सव नुवाकोटको महोत्सव हो । महोत्सव सफल हुँदा सरकारले २० हजार पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सक्छ । महोत्सव ७७ वटै जिल्लामा साना–ठूला यो वर्षभरी नै भईरहने छ । महोत्सवले स्थानीय धार्मिक, साँस्कृतिक, ऐतिहासिक, सम्पदाको पहिचान, प्रचार–पसार र संरक्षणमा महोत्सव केन्द्रित हुनुपर्छ, महोत्सवमा जिल्लाको कृषि उत्पादन, प्राकृतिक स्रोत साधनको प्रचुर उपयोग गराउन कोसेढुंगा सावित हुनेछ । महोत्सव अवधिभर जिल्लाको आर्थिक कारोवार बढोतरी हुनेछ भने जिल्लामा दुर्गामी फाईदाको लागि जिल्ला बाहिरको लगानीकर्तालाई आकर्षण गर्नेछ । जिल्लामा लगानीको वातावरण सिर्जनामा महोत्सव केन्द्रित हुनुपर्छ, महोत्सवलाई कुनै एक दलको रत्यौली गर्ने थलो बनाउन हुँदैन । यसमा जिल्लाबासीले खवरदारी गर्नुपर्छ । जिल्लाको उद्योग, ब्यवसायको प्रवद्र्धन र विकासमा नुवाकोट उद्योग वाणिज्य संघको जति योगदान र जिम्मेवारी छ ब्यवसायीको नाममा खुलेका अन्य संघ–संस्थाले त्यो पूरा गर्न सक्दैन । जिल्लामा स्थानीय सरकारको आर्थिक सल्लाहकारको रूप संघ रहेको छ । संघले जिल्लाको १२ वटै तहमा उद्योगी ब्यवसायी मैत्री वातावरण बनाउन पहल गर्नुपर्छ । महोत्सव सफल बनाउन १० वटा गाउँपालिका, २ वटा नगरपालिकाले अपनत्व लिएर स्थानीय तहमा रहेका संस्कृति, ऐतिहासिक मठ–मन्दिर, कृषि, वन र नदीजन्य उत्पादनको प्रचार–पसार गर्न सकेमा महोत्सव सफल हुनेछ । महोत्सवमा नुवाकोटको प्रमुख धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रको अध्ययन अवलोकनको अभियान शुरू गर्न सके स्थानीय क्षेत्रमा आर्थिक गतिविधी बढ्ने छ । एक स्थानीयतहका पदाधिकारी अर्को स्थानीयतहको भ्रमण शुरू गर्न सकेमा पनि भ्रमण वर्ष सफल हुनेछ ।

एक जना विदेशी पर्यटक आउँदा ५ जनाले रोजगारी पाउँछ । महोत्सव कुनै एक दलको रत्यौली नहोस् । विगतमा पनि संघले गरेको महोत्सव एक दलको रत्यौली भएको थियो । संघको नेतृत्वले संघ र प्रदेशको सांसददेखि, स्थानीय सरकार सञ्चालन गर्नेसम्मलाई सम्बोधन र समन्वय गर्न जरूरी छ । महोत्सवको बारेमा संघको नेतृत्वले स्थानीय सरकार, प्रमुखदेखि संघ, प्रदेशका मान्यज्यूहरूसँग वृहत छलफल चलाएर महोत्सवमा प्रर्दसनी गर्नेदेखि बिक्रीको रूपमा राखिने स्थानीय वस्तु, सेवा, उत्पादनको बारेमा छलफल गर्न जरूरी छ । महोत्सवमा आर्थिक पारदर्सीतामा खडेरी पर्ने गरेको छ । यो महोत्सवमा त्यो अवस्था नआओस् । स्थानीयदेखि केन्द्रसम्मको सरकारसँग समन्वय गर्दै छलफल र सम्पर्क बढाउँदै अघि बढे महोत्सवको लक्ष्य उद्देश्य पूरा हुनेछ । निजी क्षेत्रको एक मात्र सशक्त साझेदार संस्था नुवाकोट उद्योग वाणिज्य संघ सबै दल र सबै पक्षको विश्व जित्न यो नेतृत्व सफल होस् ।