बाढीपछिको परिदृश्यलाई चित्रमार्फत उतारेर अन्तर्राष्ट्रिय बहससँग स्थानीय पीडालाई जोड्ने प्रयास


देवीघाट । विदुर–५, देवीघाटमा जलवायु न्यायको माग गर्दै कला प्रदर्शन आयोजना गरिएको छ । राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षराष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) टर्कीको आन्ताल्यामा चलिरहेका वेला स्थानीय नागरिक समाजले शब्द र चित्रमार्फत विश्व समुदायको ध्यानाकर्षण गराएको हो ।गैरसरकारी संस्था महासङ्घको आयोजना तथा नुवाकोट शाखाको समन्वयमा त्रिशूली नदीकिनार देवीघाटमा भएको कार्यक्रममा कलाकारले भोटेकोसी–त्रिशूली बाढीले पु¥याएको विनाश, प्रभावित समुदायको पीडा र पुनर्निर्माणका चुनौतीलाई क्यानभासमा उतारेका थिए ।


आयोजकका अनुसार यस प्रदर्शनमार्फत जलवायु परिवर्तनका असर भोगिरहेका समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्य राखिएको छ । कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले सङ्घीय सरकारले बाढी प्रभावितको घाउमा मल्हम नलगाएको र स्थानीय सरकारको हात बाँधिएको बताउनुभयो । विभिन्न परिपत्रले काम गर्न रोकेकाले नीतिगत अप्ठ्यारो सिर्जना भएको उहाँको गुनासो थियो । कार्यक्रममा विदुर–५ का अध्यक्ष लीलानाथ न्यौपाने, गैरसरकारी संस्था महासङ्घ नुवाकोटका अध्यक्ष लोचन भट्टराई र रसुवाका अध्यक्ष हेमनाथ खतिवडालगायतले जलवायु न्यायको पक्षमा आवाज उठाउनुभएको थियो । वक्ताहरूले नेपालजस्ता विकासशील मुलुकले जलवायु परिवर्तनमा न्यून योगदान दिए पनि प्राकृतिक विपत्का गम्भीर असर भोग्नुपरेको उल्लेख गर्नुभयो । अव्यवस्थित पुनर्निर्माण र औद्योगिक क्रान्तिबाट सिर्जित वातावरणीय प्रभावले जोखिम थप जटिल बनाएको उहाँहरूको तर्क थियो । प्रभावित समुदायको पुनस्र्थापना र पुनर्निर्माणका लागि ऋणको सट्टा अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो । जलवायु सङ्कटका जिम्मेवार पक्षले क्षतिको उचित सम्बोधन गर्दै न्याय दिनुपर्ने माग राखिएको थियो । कार्यक्रममा ‘ऋण होइन, अनुदान चाहिन्छ’, ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’ र ‘हामीलाई न्याय अहिले चाहिन्छ’ भन्ने नारा लगाइएको थियो । कला प्रदर्शनले बाढीपछिको परिदृश्यलाई चित्रमार्फत उतारेर अन्तर्राष्ट्रिय बहससँग स्थानीय पीडालाई जोड्ने प्रयास गरेको छ ।







प्रतिक्रिया