सम्पादकज्यू,
यस वर्ष तिहारको भाइटीकाको दिन (विसं २०८३ कात्तिक २५ गते) मेरा कान्छा बा ऋषिरामका छोरा ध्रुवजीको विदुर– ४ बट्टार, भीमसेनमार्गस्थित घरमा गएर हामी दुई भाइ (म र ध्रुवजी), तीन छोरा (राममणि, विष्णुमणि र कृष्णमणि) र तिनका चार छोरा अर्थात् हाम्रा नातिहरू शाश्वत, सुशान्त, सौहार्द, रामोशसमेत नौजनाले ध्रुवकी भान्जी बिन्दा घिमिरे (हाल काठमाडौँ) का हातबाट टीका लगायौँ ।


मेरी श्रीमती कृष्णकुमारीले चाहिँ साहिँला भाइ राम ढुङ्गाना र भदा ईश्वर (तारुका) तथा माहिला भाइका छोरा बाबुराम ढुङ्गाना (पहिले भमरा, कात्तिके, हाल बट्टार)लाई टीका लगाइदिइन् । बाल्यकालमा बडादसैँ, तिहार आउंँदा हामी धेरै खुसी हुन्थ्यौँ । दसैँमा घरघरमा आफ्नै ढिकीमा चिउरा कुट्थ्यौँ र मगमग बास्ना आएको चिउरा खान्थ्यौँ । हामीले घरघरमा वस्तुभाउका रूपमा गाईभैँसी, बाख्रा पालेका हुन्थ्यौँ । ताजाताजा दुध, दही र घिउसँग चिउरा खान्थ्यौँ, कस्तो मिठो स्वाद हुन्थ्यो ।

हामी दसैँको टीका मान्यजनहरूबाट घरमा लगाएर गाउँगाउँमा हालेको बाबियाको पिङ मिलेर खेल्न गाउँका सबै साथीभाइसँग जान्थ्यौँ, रौनक नै अर्काे हुन्थ्यो । घरघरमा खसी–बोका काटिन्थे । वर्ष दिनमा एकपटक मासु खान पाउँदा स्वादै अर्को हुन्थ्यो ।
तिहारको झिलिमिली अर्कै हुन्थ्यो । लक्ष्मीपूजाको दिन दियोमा बत्ती बाली झिलिमिली पारिन्थ्यो । बिहान गाईको पूजा गथ्र्यौँ र बेलुका लक्ष्मीपूजा गरिन्थ्यो । भोलिपल्ट गोवद्र्धन पूजा भनी गोरुको पूजा गथ्र्याैँ । त्यसको भोलिपल्ट भाइटीकाको दिन दिदीबहिनीको हातबाट टीका र माला लगाउँथ्यौँ र देउसुरे खेल्न साथीभाइ मिलेर गाउँगाउँ जान्थ्यौँँ । घरभेटीले नाङ्लामा बत्ती बालेर माना चामल, आना पैसा र सेलरोटी दिन्थे । देउसुरे खेलिसकेपछि त्यो जम्मा गरेको चामल, पैसा, रोटी साथीभाइले बाँडेर लिन्थ्यौँ । त्यस्तो रमाइलो आजभोलिका केटाकेटीले कहांँ पाउनु ? २०८३ कात्तिक, ३० तारकेश्वर, कल्लेरीडाँडा, हाल : विदुर–४ भीमसेनमार्ग, आदर्शटोल, नुवाकोट







प्रतिक्रिया