+
Search

ताजा अपडेट +

पपुलर +

१३ वर्षदेखि थन्किएको पन्टुन पुलले धादिङलाई जोड्दै

१३ वर्षदेखि थन्किएको पन्टुन पुलले धादिङलाई जोड्दै
राजेन्द्र बस्नेत
१४ मिनेट अगाडी

धादिङबेँसी । गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले त्रिशूली नदीमाथिको मोटरेबल पुल बगाएपछि धादिङ जिल्लाका आधा दर्जन पालिकाका नागरिकको सदरमुकाम र सङ्घीय तथा प्रदेश राजधानी यातायात पहुँच विच्छेद भएको छ । नागरिकले भोग्दै आएको सास्ती कम गर्ने उद्देश्यले बर्दियाको कोठियाघाटमा १३ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको पन्टुन पुल जडान गर्न धादिङ ल्याइएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गजुरी-२ स्थित फुर्केखोलामा जडान गर्ने उद्देश्यले ल्याइएको पुलका सामग्री जडानस्थलमा पु¥याइएपछि अहिले मर्मत, रङ्गरोगन र जडानको तयारी भइरहेको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले बताउनुभयो । पुल जडान गर्ने स्थलमा पहुँचमार्ग बनाउने काम तिहारअघि नै सकिएको छ । तिहारपछि पुल जडानमा प्राविधिक लागिरहेका छन् । तिहार नमनाउने समुदायका कामदारलाई पुलको सामान रङ्गरोगन गर्न लगाइएको अध्यक्ष दनैले बताउनुभयो । एक हप्ताभित्र पुल सञ्चालन गर्ने गरी काम भइरहेको छ । पुल सञ्चालनमा आएपछि त्रिशूली नदीपारिका नागरिकलाई आवागमन, खाद्यान्न ढुवानी, स्वास्थ्य उपचार तथा प्रशासनिक सेवा लिन सहज हुनेछ । बाढीले जिल्लाका विभिन्न स्थानका सडक, मोटरेबल पुल र अन्य पूर्वाधारमा क्षति पुर्याएको थियो । फुर्केखोलास्थित त्रिशूली नदीमाथिको मोटरेबल पुलसमेत बगाएपछि धादिङबेँसी र पृथ्वी राजमार्गसँगको सहज सडक सम्पर्कविच्छेद भएको छ । त्यसपछि त्रिशूली नदीपारिका बस्तीका नागरिकले सदरमुकाम आउजाउ गर्न लामो र घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । सडक सम्पर्कविच्छेद हुँदा सदरमुकाममा रहेका सरकारी कार्यालयबाट नागरिकता, राहदानी, मालपोत, नापी तथा अन्य प्रशासनिक सेवा लिनुपर्ने नागरिकले अतिरिक्त समय र खर्च व्यहोर्नुपरेको छ । सामान्य सरकारी कामका लागि समेत दिनभर यात्रा गर्नुपर्ने र कतिपय अवस्थामा काम पूरा नगरी फर्कनुपर्ने अवस्था छ । पन्टुन पुल बर्दियादेखि फुर्के खोलासम्म ल्याएर जडानमा पैरवी गरिरहेका पत्रकार पोषनाथ अधिकारीका अनुसार हामीले सोचेभन्दा बढी खर्च हुने देखियो । दुवानी गर्न १४ वटा टेलर लागेको छ ।

Suzuki New Bike & Scooter

खाद्यान्न आपूर्तिदेखि स्वास्थ्य उपचारसम्म समस्या
बाढीले सडक तथा पुलमा पुर्याएको क्षतिको असर स्थानीयको जीविकोपार्जन र खाद्य सुरक्षामा समेत परेको छ । त्रिशूली नदीपारिका बस्तीमा खाद्यान्न, नुन, तेल, तरकारी, औषधि तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न कठिन भएको छ । बजारसम्म कृषि उपज पु¥याउन नसक्दा किसान प्रभावित भएका छन् भने बाहिरबाट सामग्री ल्याउँदा ढुवानी खर्च बढेको छ । वैकल्पिक सडकबाट सामान ओसारपसार गर्दा समय र लागत दुवै बढ्ने भएकाले स्थानीय बजारमा नियमित आपूर्ति कायम राख्नसमेत चुनौती थपिएको छ । स्वास्थ्य उपचारका लागि सदरमुकाम तथा अन्य अस्पताल पुग्नुपर्ने बिरामीलाई पनि कठिनाइ भएको छ । विशेषगरी आकस्मिक बिरामी, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई समयमै स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या छ । गम्भीर स्वास्थ्य समस्या देखिए तत्काल उद्धार गरी ठुला अस्पताल लैजानुपर्ने अवस्था थप चुनौतीपूर्ण बनेको छ । शिक्षा र आर्थिक गतिविधिमा समेत यसको प्रभाव परेको छ । नदीपारिका बस्तीबाट विद्यालय तथा क्याम्पस जाने विद्यार्थी र शिक्षकको आवतजावत प्रभावित भएको छ । व्यापार–व्यवसाय, कृषि उपजको बिक्री-वितरण र दैनिक ज्यालादारीमा निर्भर नागरिकको आम्दानीमा समेत असर परेको छ । यसरी बाढीले पु¥याएको क्षति सडक सम्पर्कमा मात्रै सीमित नभई नागरिकको खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, प्रशासनिक सेवा र जीविकोपार्जनसँग जोडिएको छ ।

कोठियाघाटमा थन्किएको पुल धादिङ आइपुग्यो
बाढीबाट प्रभावित नागरिकको आवागमन सहज बनाउन धादिङका १३ वटै स्थानीय तहले संयुक्त पहल गरेका हुन् । बर्दियाको राजापुर क्षेत्रस्थित गेरुवा नदीको कोठियाघाटमा पक्की पुल निर्माण भएपछि प्रयोगविहीन बनेको पन्टुन पुललाई धादिङ ल्याएर फुर्केखोलामा जडान गर्ने योजना अघि बढाइएको हो । धादिङका स्थानीय तहका जनप्रतिनिधिले कोठियाघाट पुगेर पुलको अवस्थाबारे जानकारी लिएपछि सम्बन्धित निकायसँग समन्वय गरेका थिए । राजापुर सिँचाइ व्यवस्थापन आयोजनाका प्राविधिकले फुर्केखोलाको अवस्था र पुल जडानको सम्भावनाबारे अध्ययन गरेपछि पुल ल्याउने प्रक्रिया अघि बढेको थियो । पुलमा जम्मा ३३ वटा डब्बा रहेका छन् । तीमध्ये २४ वटा डब्बा धादिङ ल्याइएको छ । करिब ८० मिटर लामो फुर्केखोलामा २४ वटा डब्बा जडान गरेर अस्थायी आवागमन सञ्चालन गर्न सकिने प्राविधिकको अनुमान छ । पुलका सामग्री जिल्ला प्रशासन कार्यालय धादिङलाई हस्तान्तरण गरिएको छ ।

मर्मतपछि जडान गरिने
लामो समय प्रयोगविहीन अवस्थामा रहँदा पुलका फलामे संरचनामा खिया लागेको छ । तीनवटा डब्बामा प्वालसमेत परेकाले जडानअघि मर्मत गर्नुपर्ने भएको छ । त्यसका लागि प्राविधिक परीक्षण, आवश्यक मर्मत र रङ्गरोगनको काम थालिएको छ । राजापुर सिँचाइ व्यवस्थापन आयोजनाका प्राविधिक शशिधर वाग्लेका अनुसार पुल जडानका लागि प्राविधिक तथा कामदारको टोली परिचालन गरी एक साताभित्र सक्ने अनुमान गरिएको छ । यस क्रममा स्थानीय कामदारलाई समेत परिचालन गरी पुलको संरचना जोड्ने र खोल्ने तरिकाबारे जानकारी दिइनेछ । पुल जडानस्थलसम्म सहज पहुँचका लागि दुवैतर्फ एप्रोच सडक निर्माण गर्नुपर्नेछ । त्यसको आवश्यक समन्वयको जिम्मेवारी गजुरी–२ का अध्यक्ष द्रोण कँडेलले लिनुभएको छ । पुलको भारवहन क्षमता, नदीको बहाब र अन्य सुरक्षासम्बन्धी प्राविधिक परीक्षणपछि मात्रै सञ्चालनमा ल्याउने तयारी छ ।

१३ स्थानीय तहको साझा पहल
पन्टुन पुल धादिङ ल्याउन, मर्मत गर्न र जडान गर्न जिल्लाका १३ वटै स्थानीय तहले साझा पहल गरेका छन् । ढुवानी, मर्मत, जडान तथा व्यवस्थापनमा लाग्ने खर्च स्थानीय तहले संयुक्त रूपमा व्यहोर्ने सहमति गरेका हुन् । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार पुल व्यवस्थापनका लागि स्थानीय तहबिच समन्वय गरी साझा कोषको अवधारणा अघि बढाइएको छ । पुल ल्याउने प्रक्रियामा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैलाई समन्वयको जिम्मेवारी दिइएको थियो । अन्यत्र प्रयोगविहीन बनेको सार्वजनिक संरचनालाई आवश्यकता परेको अर्को जिल्लामा उपयोग गर्ने यो प्रयासले विपत्का समयमा अन्तरपालिका सहकार्य र उपलब्ध स्रोत-साधनको सदुपयोगको महत्त्व देखाएको छ ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

अस्थायी पुलसँगै स्थायी संरचना आवश्यक
पन्टुन पुल सञ्चालनमा आएपछि फुर्केखोलामा आवागमन सहज हुने र त्रिशूली नदीपारिका नागरिकले भोग्दै आएको कठिनाइ कम हुने अपेक्षा गरिएको छ । विशेषगरी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, कृषि उत्पादनको बजारीकरण, बिरामीको अस्पतालसम्म पहुँच र सरकारी सेवा लिन सहज हुनेछ । तर, पन्टुन पुल स्थायी समाधान होइन । नदीमा पानीको बहाब बढ्दा यसको सञ्चालनमा जोखिम हुन सक्ने भएकाले नियमित मर्मतसम्भार, भारवहन क्षमताको नियन्त्रण र सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न आवश्यक छ । त्यससँगै बाढीले क्षति पु¥याएका सडक तथा पुलको पुनर्निर्माण, प्रभावित बस्तीमा खाद्यान्न र औषधिको नियमित आपूर्ति, स्वास्थ्य सेवाको पहुँच तथा आकस्मिक उद्धारको व्यवस्था प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्निर्माणको योजना पनि आवश्यक छ । १३ वर्षदेखि बर्दियाको कोठियाघाटमा थन्किएको पन्टुन पुल अहिले धादिङका नागरिकका लागि लाइफलाइन बनेको छ । बाढीले टुटाएको सडक-सम्पर्क पुनः जोड्ने यो प्रयासले आवागमन सहज बनाउनुका साथै खाद्य आपूर्ति, स्वास्थ्य उपचार, शिक्षा, व्यापार तथा प्रशासनिक सेवासम्मको पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ । अस्थायी पन्टुन पुलले तत्कालीन समस्या समाधानमा सहयोग पु¥याए पनि भविष्यमा यस्तै विपत्का कारण नागरिकले सडक सम्पर्कविच्छेदको पीडा भोग्न नपरोस् भन्नका लागि सुरक्षित र दिगो पक्की पुल निर्माण नै दीर्घकालीन समाधान हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र बस्नेत