सुरक्षित आवास पाएपछि भूकम्प पिडित दंग

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:३७

धुन्चे, भूकम्पका कारण बिस्थापित बनेका रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं.–५ टेटाङचेका भूकम्प प्रभावितले सुरक्षित आवास पाएपछि दंग भएका छन् ।

टेटाङचेमा ७८ घर धुरी रहेको छ । तिमध्ये ११ जना ब्राप्चेबाट बिस्थापित भएर त्यहाँ पुगेका थिए । उनीहरूले घर निर्माण गरिसकेका छन् । जिल्लाभर भूकम्पबाट १ हजार ८७ परिवार बिस्थापित भएका छन् । बिस्थापितमध्ये ५९ दशमलव ५२ प्रतिशतले जग्गा खरिद गरिसकेका छन् । जग्गा खरिद गरेका मध्ये ३० दशमलव ९१ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ ।

जिल्लाको ६ स्थानमा एकिकृत वस्ती निर्माण गर्ने तयारी रहेको छ । जसमा तिरुमा १ सय २५, लाङबुमा २१, पाङलिङमा ५१, बोगटीटारमा ५३, बनुवा छापमा १५ र बोगटीटारको अर्को स्थानमा १५ परिवार राखिने समेत भएको छ । बिस्थापितलाई स्थानान्तरणका लागि जिल्लामा सुपथ मूल्यमा पर्याप्त जग्गा नपाएको सामुदायिक आत्मनिर्भर केन्द्र रसुवाका संयोजक विश्वास नेपालीले बताउनु भयो । लगभग पाँच वर्ष पुग्न लाग्यो भूकम्प गएको त्यतिबेलासम्म बिस्थापित भएर सुकुम्बासी सरह थियो । जग्गा भाडामा लिएर घर बनायो त्यसैमा गुजारा चलेको थियो । सरकारले दुई लाख उपलब्ध गराएपछि जग्गा किनेर घर बनाईयो । अहिले आफ्नै नाममा जग्गा र घर भएकोमा औधी खुशी लागेको रामबहादुर तामाङले बताए । पहिले ढुंगा, माटोको घर थियो भने अहिले काठै–काठको घर बनेको छ ।