+
Search

ताजा अपडेट +

पपुलर +

हिमबाढीले आलु र बन्दाकोपी बेच्न नपाउँदा…

हिमबाढीले आलु र बन्दाकोपी बेच्न नपाउँदा…
ज्ञानेन्द्र न्यौपाने
१ घण्टा अगाडी

धुन्चे । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीका कारण उत्तरी रसुवाको आमाछोदिङ्मो–३ गत्लाङका किसानले उत्पादन गरेको आलु र बन्दाकोपी बजारसम्म पु¥याउन नसक्दा गाउँमा खाद्यान्न अभाव भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गत्लाङका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बर्खे आलु र बन्दाकोपी बाढीले स्याफ्रुबेँसी तथा बेत्रावती क्षेत्रको सडक र पक्की पुलमा क्षति पुर्याएपछि बजारसम्म लैजान समस्या भएको हो । उत्पादित कृषि उपज बिक्री हुन नसक्दा त्यसबाट प्राप्त हुने आम्दानी रोकिएपछि दैनिक उपभोगका लागि आवश्यक चामल, नुन, तेल, मरमसलालगायत खाद्यान्न खरिद गर्नसमेत समस्या हुन थालेको किसानले बताएका छन् । स्थानीय अगुवा कृषक मार लामाका अनुसार गत्लाङमा करिब चार सय ८५ घरपरिवारले मुख्य बालीका रूपमा आलु र बन्दाकोपी उत्पादन गर्दै आएका छन् । यस वर्ष सडक सम्पर्कविच्छेद हुँदा बजारमा पठाउनुपर्ने ठुलो परिमाणको कृषि उपज गाउँमै थन्किएको छ । कृषक लामाले भन्नुभयो, ‘यस वर्ष उत्पादन राम्रो भएको छ, बजारको पनि समस्या थिएन । तर, बाढीले सडक र पुल बगाएपछि उत्पादन बजारसम्म पुर्याउन सकिएन । अहिले खेतबारीमै आलु र बन्दाकोपी कुहिन थालेको छ ।’ उहाँका अनुसार यस वर्ष गत्लाङमा उत्पादन भएको करिब ५० ट्रकभन्दा बढी आलु तथा तीन सय ट्रकभन्दा बढी बन्दाकोपी बजारसम्म लैजान नसक्दा क्षति हुने अवस्थामा पुगेको छ । विशेषगरी बन्दाकोपी बिक्रीका लागि तयार भए पनि ढुवानीको व्यवस्था नहुँदा किसान चिन्तित बनेका छन् । विगत चार वर्षदेखि गत्लाङमा व्यावसायिक रूपमा बन्दाकोपी उत्पादन हुँदै आएको छ । पार्वतीकुण्डको चिसो हावापानी, गाई र भेडाको मल प्रयोग गरी उत्पादन गरिने यहाँको बन्दाकोपी स्वादिलो र गुणस्तरीय भएकाले उपभोक्ता माझ छुट्टै पहिचान बनाउन सफल भएकाले बिक्रीमा समस्या नभएको किसान बताउँछन् ।

विगतका वर्षमा उत्पादन हुनेबित्तिकै व्यवसायीले आइचर, ट्रक लिएर गत्लाङसम्म पुग्ने गर्थे, उत्पादित बन्दाकोपी बारीमै प्रतिकिलो करिब रू.२५ मा बिक्री हुँदै आएको थियो । किसानका अनुसार बन्दाकोपी त्रिशूली, काठमाडौँ, पोखरा, मुग्लिन, चितवनको नारायणगढ, बुटवल तथा नेपालगन्जसम्म पुग्ने गरेको थियो । ‘बन्दाकोपीको बजार खोज्न हामीलाई समस्या थिएन, व्यापारी आफैँ ट्रक लिएर गाउँमा आउँथे । अहिले बजारभन्दा ठुलो समस्या सडक बनेको छ,’ लामाले भन्नुभयो । कृषि उपज बिक्रीबाट प्राप्त रकमले किसानले चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्दै आएका छन् । त्यही आम्दानीबाट बालबालिकाको विद्यालय पोसाक, कापी, कलम तथा अन्य शैक्षिक सामग्रीसमेत जुटाउने गरेको कृषक निमावाङ्दीले बताउनुभयो । यस वर्ष कृषि उपज बिक्री हुन नसक्दा आम्दानीको मुख्य स्रोत नै रोकिएपछि चार सय ८५ घरपरिवार प्रत्यक्ष प्रभावित भएको अर्का कृषक सुपिना तामाङले जानकारी दिनुभयो । लामो समयसम्म सडक सञ्चालनमा नआए कृषि उत्पादन नष्ट हुनुका साथै गाउँमा खाद्यान्नको समस्या थप गम्भीर बन्न सक्ने उहाँहरूको चिन्ता छ । सडक सञ्चालनमा आएपछि आपूmहरू पुनः कृषि उत्पादनलाई निरन्तरता दिन सक्षम रहेको उहाँहरूले बताउनुभएको छ । तत्काल सडक तथा पुल सञ्चालनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने र क्षति भएको कृषि उपजको समेत उचित मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न गत्लाङका कृषकले माग गरेका छन् ।

कृषि उत्पादन गर्न सके बजारको अभाव नभएकाले सडक सम्पर्क पुनस्र्थापित भएमा कृषि व्यवसाय पुरानै अवस्थामा फर्काउन सकिने कृषकहरूले बताएका छन् । अहिले गाउँमा थन्किएको आलु तथा बन्दाकोपीलाई सकेसम्म छिटो बजारसम्म पु¥याउने वैकल्पिक ढुवानी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको स्थानीयवासी फुर्बा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाढीले बाटो र पुलमा क्षति पुर्याए पनि किसानमा खेती गरी उत्पादन गर्ने उत्साह भने घटेको छैन, सडक सम्पर्क पुनःस्थापित भएपछि गत्लाङको कृषि उत्पादनलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सके गाउँको अर्थतन्त्रलाई समेत पुनः चलायमान बनाउन सकिने छ ।’ उत्पादन भएको बाली जोगाउन र बजारसम्म पु¥याउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग सडक तथा पुलको शीघ्र पुनर्निर्माण गरिदिन गत्लाङवासीले आग्रह गरेका छन् । कृषि उत्पादनको बजार सुनिश्चित भएमा बाढीबाट प्रभावित किसानलाई राहत मात्र नभई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सकिने नेपाल च्याम्बर अफ कर्म रसुवाका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने