विदुर । गत भदौ १० गते विध्वंसकारी भोटेकोशी–त्रिशूली नदीमा आएको हिमबाढीले रसुवाको टिमुरेदेखि वेत्रावतीसम्मको नदीतटीय क्षेत्रमा अकल्पनीय धनजनको क्षति भयो । बाढीले तटीय क्षेत्र तहसनहस बनाएको छ । बाढीले नदीआसपासमा बसोबास गरिरहेकाहरूको भविष्यको योजना र सपना चुँडाइदिएको छ । बाढीले योजना र सपना चकनाचुर बनाइदिएकोमध्ये वेत्रावतीका शशि डङ्गोल पनि एक हुनुहुन्छ ।



डङ्गोल वेत्रावती बजारका यस्ता पात्र हुनुहुन्छ जो वेत्रावती भनेपछि अत्यन्तै मरिहत्ते गर्नुहुन्थ्यो । वि.सं. २०५० मा व्यावसायिक रूपमा (पेन्टिङ) आर्टको काम सुरुवात गर्नुभएका उहाँले वेत्रावती बजारमै बसेर कलाकारिताको काम गर्दै भ्याएसम्म आफ्नो गाउँको हरेक सामाजिक कार्यमा अग्रसर हुनुहुन्थ्योे । स्पष्ट बोल्ने, मनमा कुरा लुकाएर कुरा नगर्ने, अलि हक्की स्वभावका उहाँलाई नजिकैबाट थाहा नपाउने कस्तो ‘टिमुर्किएका मान्छे’समेत भन्ठान्थे । कतिपयले त पटक्कै मन पराउँदैनथे पनि । तर, उहाँ सही कुरामा कसैको पनि पर्वाह नगरी आफ्नो कर्मप्रति विश्वास राखी दिनहुँ आफ्नै पेन्टिङ काममा तल्लीन रहने व्यक्तिको रूपमा पाएको डङ्गोलका छिमेकी पूर्वशिक्षक एवम् हाल जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेले बताउनुभयो ।

२७ वर्ष मिहिनेत गरेर कमाएको करोडौँ मूल्यबराबरको घरजग्गा गत भदौ १० गतेको बाढीले एक निमेषमै आँखाअगाडि सिध्याइदिएको डङ्गोल बताउनुहुन्छ । घर त बाहिरबाट हेर्दा ठडिएको देखिन्छ, तर घरभित्र केही बाँकी नरहेको उहाँले बताउनुभयो । घरदेखि त्रिशूली नदी पाँच सय मिटरको दूरीमा रहेको भए पनि महाप्रलयकारी बाढी पसेर साढे तीन तल्ला घरको माथिसम्म बाढीले क्षति पु¥याएको छ । एक सेकेन्डले बचेका उहाँ बाढी हेर्दै दौडँदा घाइतेसमेत हुनुभएको थियो । उहाँले आफ्नो सौखको ‘शशि आर्ट एन्ड वेत्रावती ग्यालरी’ नयाँ घरमा सञ्चालनमा ल्याउनुभएको थियो । नयाँ घर बनाएर उहाँले ग्यालरी सञ्चालनमा ल्याएको तीन वर्ष मात्रै भएको थियो ।

करोडौँको घर र बहुमूल्य सङ्ग्रहित पेन्टिङ चकनाचुर बनाउन तीन सेकेन्ड लागेन । उहाँले भन्नुभयो, ‘घरका वालमा आकर्षक वाल आर्ट बनाएको थिएँ, भ¥याङका भित्तामा अनगिन्ती पेन्टिङ सजिएका थिए, आफ्नो मात्रै होइन, अन्य दिग्गज कलाकारका झन्डै ६०÷६२ थान अमूल्य पेन्टिङ सङ्ग्रहित थिए, झन्डै रु. पाँच करोड मूल्यबराबरको आफ्नो मात्रै दुई सय ७०/७५ पेन्टिङ स्टकमा रहेका थिए, अन्य आर्ट सामग्री, ब्रस, क्यानभास, स्टेचर कलर अनगिन्ती थिए ती सबै बाढीको हिलोमा कामै नलाग्ने गरी बिग्रेका छन् ।’

पूर्वशिक्षक एवम् स्थानीयवासी वासु लामिछानेले भन्नुभयो, ‘वेत्रावतीमा आर्ट ग्यालरी राख्ने अवधारणाअनुरूप उहाँले घर बनाउनुभएको, घरमा जोकोही पस्दा दुई-तीन घण्टा शशिको कलाकारिता देखेर त्यसमै अलमलिन्थे ।’ काठमाडौँका आफ्ना कलाकार मित्रसँग मिलेर वेलाबखत रसुवा–नुवाकोटका विभिन्न क्षेत्रमा आर्टस्को काम, आर्ट वर्कसपका गतिविधिका कार्य गरिरहनुभएका शशिको आर्ट ग्यालरीको सपना पनि वेत्रावती बजारसहित त्रिशूलीको बाढीसँगै बगेर गएको छ । उहाँ अहिले वेत्रावतीस्थित स्वाँराडाँडा जङ्गलको होल्डिङ सेन्टरमा अरू गाउँलेसँगै अस्थायी आश्रयस्थलमा बस्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले स्थानीय वेत्रावतीवासीको मनस्थितिलाई बुझेर वेत्रावतीस्थलमै त्रिशूली नदी बग्ने र पैmलिने सिमानाभन्दा माथि वेत्रावती बजार बसाउने चाँजोपाँजो मिलाउनेछ र आफ्नो ‘वेत्रावती आर्ट ग्यालरी’ पुनः सञ्चालन गर्न सकिने छ ।’





प्रतिक्रिया