+
Search

ताजा अपडेट +

पपुलर +

विद्युत् भोल्टेज कम हुँदा…

विद्युत् भोल्टेज कम हुँदा…
सरस्वती न्यौपाने
१ घण्टा अगाडी

धुन्चे । रसुवामा आफ्नै घरमा धान भए पनि त्यसलाई कुटेर चामल बनाउन नसक्दा दक्षिणी रसुवाका ग्रामीण बासिन्दालाई भात खान समस्या परेको छ । परम्परागत ढिकी, जाँतो, घट्ट लोप हुँदै गएको र गत भदौ १० गतेको विध्वंसकारी बाढीपछि नियमित विद्युत् सेवा पूर्ण रूपले सञ्चालनमा आउन नसक्दा धान, मकै, कोदो, गहुँलगायत अन्य अन्नबाली किटानीपिसानीमा समस्या भएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा केवल बत्ती बाल्नका लागि लाइन सञ्चालनमा आए पनि थ्री फेज लाइन सञ्चालनमा पावर नआउँदा मिल तथा कुटानीपिसानीका उपकरण चलाउन नसकिएको उत्तरगया–५ का पूर्ववडाध्यक्ष ईश्वर थापाले बताउनुभयो । उत्तरगया–५ नीलकण्ठ माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा राहत वितरणका लागि खटिनुभएका थापाले थ्री फेज विद्युत् सञ्चालनमा आए स्थानीयवासीलाई ठुलो राहत पुग्ने बताउनुभयो । ‘घरमा धान छ, तर कुटेर चामल बनाउन सकिएको छैन । ढिकी–जाँतो पनि हराइसके । थ्री फेज लाइन सञ्चालनमा आए मिल चलाउन सहज हुन्छ र कुटानीपिसानीका लागि बाहिर निर्भर हुनुपर्ने अवस्था घट्छ,’ उहाँले भन्नुभयो । किन्नलाई जान पनि सडक तथा पुल छैन, बाढीले बगाइसक्यो । थापाका अनुसार होल्डिङ सेन्टरमा दैनिक जीविकोपार्जनका लागि आवश्यक रासन भण्डारण भए पनि घरवार तथा आफन्तजनका सदस्य गुमाएका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न वितरण गरिरहेकाले गाउँ–समाजमा खाद्यान्नको चाप बढ्दै गएको छ । उहाँले राहतका रूपमा कपडा तथा सामान्य प्रकृतिका खानेकुरा लिएर आउने सहयोगी धेरै भए पनि गुणस्तरीय खाद्यान्न लिएर आउने सहयोगी कम रहेको बताउनुभयो । राहत केन्द्रमा आवश्यक सामग्रीभन्दा फोटो खिच्न आउने प्रवृत्ति बढेको भन्दै उहाँले गलत नियतले होल्डिङ सेन्टरभित्र प्रवेश गरी फोटो नखिच्नसमेत र कपडाको नाउँमा थोत्रो च्यातिएको नल्याउनसमेत आग्रह गर्नुभयो ।

भदौ १० गतेको बाढीले रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा क्षति पु¥याएपछि विद्युत् प्राधिकरणले तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत जिल्लामा विद्युत् आपूर्ति गरेको थियो । बाढीपछि तत्काल उज्यालो र मोबाइल चार्ज गर्नेसम्मको सेवा सञ्चालन गर्न काठमाडौँको बालाजुदेखि छहरे, चोगदे, कुवापानी हुँदै रसुवासम्म विद्युत् आपूर्ति गरिएको थियो । प्राधिकरणले उक्त आपत्कालीन व्यवस्थालाई क्रमशः सुधार गर्दै नियमित विद्युत् सेवा सञ्चालन गर्ने जनाएको छ । प्राधिकरणको बागमती प्रदेश कार्यालयले रसुवासहित बागमती प्रदेशका १० जिल्लामा विद्युत् वितरण, सञ्चालन, मर्मत तथा पुनस्र्थापनाको जिम्मेवारी सम्हाल्दै आएको छ । विद्युत् प्राधिकरण धुन्चेले भने थ्री फेज भए पनि विद्युत्को आपूर्तिमा पावर कमी भएको र साङ्जेनतर्फको लाइन तानेर पावर बढाउने प्रयास भइरहेको प्राधिकरण रसुवा प्रमुख गुन्जमान लामाले जानकारी दिनुभयो । उहाँले बिहान, बेलुका लोड बढी हुने र दिउँसो कुट्ने, पिस्ने गर्दा विद्युत् पावर बढ्न सक्ने सुझाव दिनुभयो । तर, रसुवामा थ्री फेज लाइन कहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने ठोस मिति भने प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छैन । त्यसैले थ्री फेज लाइन सञ्चालनको समयसीमा यथाशीघ्र सार्वजनिक गर्न नागरिक समाजले माग गरेको छ । ‘कहिलेसम्म थ्री फेज लाइन आउँछ भनेर प्राधिकरणले समय तोकिदिए हामीलाई पनि आशा र योजना बनाउन सजिलो हुन्थ्यो । घरमा भएको धान कुटेर खान पाउने अवस्था कहिले आउँछ भन्ने पर्खाइमा छौँ,’ स्थानीयवासीको भनाइ छ ।

यसैबिच बाढी प्रभावित क्षेत्रमा खाद्यान्न ढुवानीका लागि आएको विश्व खाद्य कार्यक्रमको हेलिकोप्टरले एकपटक मात्र खाद्यान्न ल्याएको र त्यसपछि पुनः खाद्यान्न नआएको स्थानीयवासीले बताएका छन् । बाढीका कारण घरबारविहीन भई नीलकण्ठ माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका कैदलटार तथा पहिरेबेँसी क्षेत्रका एक सय ७४ जनालाई सन्तराम पाल र ‘सानु पाइला’ नामक संस्थाले खाना पकाएर राम्रो भोजन खुवाउने व्यवस्था गरिरहेको स्थानीय बाढीपीडितले बताएका छन् । स्थानीयवासीका अनुसार राहत सामग्रीसँगै विद्युत् सेवा नियमित र पर्याप्त बनाउन सके प्रभावित परिवारको दैनिक जीवन सहज हुनेछ । विशेषगरी थ्री फेज विद्युत् सञ्चालनमा आए धान कुट्ने, पिठो पिस्ने तथा अन्य कुटानीपिसानीका काम स्थानीयस्तरमै गर्न सकिने भएकाले घरबार गुमाएकाबाहेकका परिवारको परनिर्भरता क्रमशः घट्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने